सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गरिँदै

काठमाडौँ — सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले सरकारले कानुन निर्माणको तयारी थालेको छ । यसका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस क्षेत्रका विज्ञ, सरोकारवाला र कानुन व्यवसायीसँग एक छलफल कार्यक्रम आयोजना गरेर सुझाव संकलन गर्‍यो । साउन २५ मा सामाजिक सञ्जाल कम्पनी मेटाका दक्षिण एसिया हेर्ने सिंगापुरस्थित प्रतिनिधिले यसै विषयमा सञ्चार मन्त्रालयको टोलीसँग भेट्ने तय भएको छ । मन्त्रालयले अरू सामाजिक सञ्जाल कम्पनीहरूसँग पनि अन्तर्क्रियाको प्रयास तीव्र पारेको छ ।

छलफलमा विज्ञका रूपमा सन्तोष सिग्देल, किरण चापागाई, कृति भुजु, बाबुराम दवाडी, सुधांशु झालगायतले आफ्ना सुझाव र अनुभव पेस गरे । आफूहरूले यस प्रकृतिको कानुन आवश्यक रहे/नरहेकामै पहिले स्पष्ट हुनुपर्ने सुझाव दिएको डिजिटल मिडिया शोधकर्ता कृति भुजुले बताइन् । ‘हामीले सामाजिक सञ्जालभन्दा पनि प्लेटफर्महरूलाई नियमन गर्नेतर्फ सोच्नुपर्छ भन्ने सुझाव दियौं,’ उनले भनिन्, ‘सामाजिक सञ्जाललाई कसरी मर्यादित बनाउने भन्नेबारे छलफल भयो । तर, त्यो भनेको कानुनीभन्दा पनि नैतिक प्रश्न हो । मर्यादित बनाउने काम सरकारको होइन, त्यो गर्न पनि सकिँदैन ।’ नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्नेतर्फ सोच्नुपर्ने राय आफूले दिएको भुजुको भनाइ छ ।

मन्त्रालयका अनुसार फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाका प्रतिनिधि नेपाल आई सञ्चारमन्त्रीसँग यसलगायत विषयमा छलफल गर्दै छन् । अन्य सोसल मिडिया प्लेटफर्म कम्पनीका प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गरिने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘आजसम्मको छलफल राम्रो भएको छ,’ उनले भने, ‘हामी सबैका सल्लाह, सुझाव संकलन गर्दैछौं । सबै मनन गरेर मात्रै कानुन बन्नेछ ।’

मन्त्रालयको पहलमा मुख्यतया तीनवटा पाटा समेट्ने प्रयास रहने प्रवक्ता सुवेदी बताउँछन् । ‘हाम्रो पहिलो प्रयास सञ्चालकहरू जिम्मेवार हुने र प्रयोगकर्ता सजग रहने गरी नियमन गर्नु हो,’ उनले भने, ‘यस्तै, सिंगापुरलगायत देशको अनुभव हेरेर अनसोलिसिटेड सामग्री हटाउनेलगायत अवाञ्छित कन्टेन्ट फिल्टर गर्न सकिने पहल गर्ने योजना पनि छ ।’ यससँगै सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, फेक आईडी बनाउने जस्ता समस्यालाई पनि कानुनी सजायको दायरामा ल्याउने प्रयास आफूहरूले गर्न लागेको उनको दाबी छ ।

प्रवक्ता सुवेदीको यस तर्कमा सामाजिक सञ्चाल विज्ञहरूको भने फरक मत छ । शुक्रबारको छलफलमा सहभागी कतिपय विज्ञले अहिले उपलब्ध कानुनको प्रयोगबाट नै यी समस्याको निराकरण सम्भव भएकाले थप कानुन निर्माण गरिरहन आवश्यक नरहेको सुझाए । त्यसमा सहमत हुँदै अर्का सामाजिक सञ्जाल विज्ञ उज्ज्वल आचार्य भन्छन्, ‘गाली बेइज्जती, गोपनीयता, विद्युतीय कारोबार, राजस्वमा दर्तालगायत सम्बोधन गर्न अहिले नै पर्याप्त कानुन छन् । नेपालको मुलुकी अपराध संहिताको समेत नियम/कानुनका आधारमा पनि सामाजिक सञ्जाललाई नियमन गर्न कुनै समस्या छैन ।’

उपलब्ध कानुनलाई नै बलियो बनाएर कार्यान्वयन गर्न सके अहिलेका चुनौती रोक्न सकिने आचार्यको सुझाव छ । सामाजिक सञ्जालमा हुने अभिव्यक्तिकै लागि भनेर छुट्टै कानुन आवश्यक नपर्ने बरु प्लेटफर्महरूलाई नै अहिलेका कानुनअनुसार जिम्मेवार बनाउन सक्नुपर्ने उनले बताए ।

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टको अनुभवमा सामाजिक सञ्जाललाई नियमन गरिएन भने यसमार्फत फैलिने मिथ्या र भ्रामक सूचनाले ठूलो असर गर्छ । ‘सामाजिक सञ्जाल अहिलेको अवस्थामा कसैको पहुँच र औपचारिक सञ्चार सञ्जालमा छैनन्,’ उनी भन्छन्, ‘कुनै पनि अत्यन्तै गम्भीर मिथ्या, भ्रामक सूचना वा हल्लाखल्लालाई नियमन गर्नुपर्‍यो भने नेपालमा सम्पर्क गर्ने ठाउँ नै भएन । अहिले जसको विषयमा जे लेखिदिए पनि हुने खालको अवस्था छ ।’ तथ्यजाँच नगरी तुरुन्तै विश्वास गर्ने परिपाटीले गर्दा पनि सामाजिक सञ्जालहरूको नियमन अत्यन्तै जरुरी भइसकेकाले यससम्बन्धी कानुनको मस्यौदासमेत तयार भइसकेको उनले बताए ।

प्रकाशित : श्रावण २०, २०८० ०७:३७

मिडिया सम्बन्धी संघीय कानुन किन बनेन ?

२०७४ सालमा स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि नेपालमा संघीयताको कार्यान्वयन सुरु भएपनि आजसम्म संघीयतामा मिडिया सम्बन्धी स्पष्ट दृष्टिकोण, कानुन र संरचना बन्न सकेको छैन । मिडिया सम्बन्धी कानुन निर्माणमा संघले अग्रसरता लिएर प्रदेश र स्थानीय तहलाई समेत दिशानिर्देश गर्न सक्नुपर्ने थियो ।

बिडम्बना, संघ प्रदेश र स्थानीय तहभन्दा धेरै पछि पर्‍यो । संघमा मिडिया सम्बन्धी नयाँ कानुन निर्माण नहुँदा सिर्जित समस्या र चुनौतीहरुलाई सम्बोधन गर्न सहज देखिँदैन ।

पुरानै कानुनको भर, नयाँ विधेयक अलपत्र

संघमा २०७४ सालपछि विज्ञापन ऐन २०७६ बनेर कार्यान्वयनका क्रममा छ । त्यसभन्दा बाहेक नयाँ कानुन बन्न नसक्दा नेपाली मिडिया र पत्रकार पुरानै कानुनमा भर परेको स्थिति छ । यतिबेला ‘छापाखाना र प्रकाशन सम्बन्धी ऐन २०४८’, ‘प्रेस काउन्सिल ऐन २०४८’, ‘राष्ट्रिय प्रसारण ऐन २०४९’, ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१’ अभ्यासमा छन् । सरकारको माहतमा रहेका मिडियासँग सम्बन्धित ‘राष्ट्रिय समाचार समिति ऐन २०१९’, ‘गोरखापत्र संस्थान ऐन २०१९’, ‘रेडियो ऐन २०१४’ र ‘सञ्चार संस्थान ऐन २०२८’ पनि अस्तित्वमा छन् । र, ती ऐन र ऐन अन्तर्गतका नियमावली तथा विनियमावलीहरुमा संशोधन गर्दै काम चलाउँदै आएको अवस्था छ । बेला बेलामा पत्रकारलाई समेत झमेलामा पार्ने विवादास्पद रहेको ‘विद्युतीय कारोबार ऐन २०६३’ पनि कार्यान्वयनमा छ ।

संघीयतामा गएपछि संघमा मिडिया सम्बन्धी कानुन बनाउन प्रयास नभएका होइनन् । २०७५ सालमा आमसञ्चार विधेयकको मस्यौदा तयार पारियो । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता र श्रमजीवी पत्रकारलाई सम्बोधन गर्ने भन्दै सरकारको सक्रियतामा तयार पारिएपनि त्यो विधेयकलाई औपचारिक रुपमा सार्वजनिक गरिएन । अनौपचारिक रुपमा प्राप्त मस्यौदामा पत्रकारलाई कसुरको मात्रा हेरी ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म जरिवाना वा १० वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने, इजाजतपत्र रद्द गर्न सक्ने, आमसञ्चार प्राधिकरणमा प्रतिनिधित्व लगायतका विवादास्पद प्रावधान थिए । सरोकारवालाहरुले अपनत्व नलिँदा र मिडियालाई नियन्त्रण गर्ने प्रावधानहरु रहेको भन्दै आलोचना भएपछि आमसञ्चार सम्बन्धी मुख्य कानुनको मस्यौदा त्यत्तिकै अलपत्र पर्‍यो ।

नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ साल वैशाखमा संघीय संसदको राष्ट्रिय सभामा पेश भयो । विशेष गरी काउन्सिलको अध्यक्ष सिफारिसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति बनाउने, आचारसंहिता उल्लंघन हुँदा काउन्सिलले नै २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्थाको विरोध भयो । राष्ट्रियसभाबाट केही परिमार्जित भएर प्रतिनिधिसभामा पुगेको विधेयक विकास तथा प्रविधि समितिमा अड्कियो । र, प्रतिनिधिसभाको कार्यालय समाप्त हुँदा विधेयक निष्क्रिय हुन पुग्यो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभी सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा विकास गर्न भन्दै २०७७ साल असारमा संसद सचिवालयमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरियो । विधेयकले सार्वजनिक सेवा प्रसारणको मूल मर्मलाई आत्मसाथ नगरेको, स्वायत्त र स्वतन्त्रताको प्रत्याभूत नभएको, निष्पक्षताको सुनिश्चित नभएको, परिषद् र कार्यकारी समितिमा पदाधिकारी नियुक्तिमा सरकारी भूमिकाको प्रभुत्व रहेको भन्दै आलोचना भयो । त्यसैगरी सरोकारवालाहरुले वित्तीय व्यवस्थापनमा जनताको स्रोतलाई भन्दा सरकारी अनुदानलाई प्राथमिकता दिइएको, जनता र संसदप्रति नभइ सरकारप्रति उत्तरदायी बनाइएको, सरकारले निर्देशन दिन सक्ने लगायतका प्रावधान रहेको भन्दै नाम मात्रैको सार्वजनिक सेवा प्रसारण हुन सक्ने आशंका गरे । यो विधेयक राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधिसभा पुगेको छ ।सार्वजनिक सेवा प्रसारणमा संघीय संसदको भुमिका रहने, सार्वजनिक सेवा प्रसारण स्वायत्त हुने, अनलाइन प्रविधिलाई पनि सम्बोधन गर्नुपर्ने लगायतका प्रावधानहरु राख्नुपर्नै भन्दे संशोधनहरु परेका छन् । विधेयक यतिबेला शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ साल फागुनमा संघीय संसदको प्रतिनिधिसभामा पेश भयो । विधेयकमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि रोक लगाउन सक्ने, सामाजिक सञ्जालमा राखिएका विषयहरु हटाउन निर्देशन दिने, सामाजिक सञ्जालमा प्रेषित कसुरजन्य सामग्री भएमा ५ वर्ष कैद र १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने लगायतका प्रावधान थिए । नागरिकको बोल्ने अधिकार कुण्ठित हुने भन्दै त्यसको पनि आलोचना भयो । संघीय संसदको विकास तथा प्रविधि समितिमा छलफल भइ त्यतिबेला प्रतिपक्षमा रहेका कांग्रेसका सांसदहरुको ‘नोट अफ डिसेन्ट’सहित २०७६ साल पुसमा पारित भएपनि त्यो विधेयक पनि प्रतिनिधिसभाको पूर्ण बैठकबाट पारित हुन सकेन ।

प्रदेशहरू एकीकृत कानुनतिर

संघमा मिडिया सम्बन्धी नयाँ कानुन धेरै बन्न नसकेपनि प्रदेश र स्थानीय तहमा मिडिया सम्बन्धी उल्लेख्य कानुन बनेका छन् । कोशी प्रदेशमा प्रदेश रेडियो, एफएम र टेलिभिजन सम्बन्धी ऐन २०७५, मधेश प्रदेशमा प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७, बागमती प्रदेशमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ कार्यान्वयनमा छन् ।

लुम्बिनी प्रदेशमा सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ र कर्णाली प्रदेशमा कर्णाली प्रदेश प्रसारण ऐन २०७५ छ । कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक समितिमा छ । यस्तै सुदूरपश्चिम प्रदेशमा रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको ऐन २०७६ छ ।

गण्डकी प्रदेशले २०७५ सालमा प्रदेश सञ्चार नीति तयार पारेको थियो भने आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ साल चैत्रमा संसद सचिवालयमा दर्ता भएको थियो । प्रदेशसभामा सैद्धान्तिक छलफल भई विधायन समितिमा पुगेपनि सहमति नजुट्दा त्यहाँबाट अघि बढेको छैन ।

प्रदेशहरुले अभ्यासका आधारमा मिडिया सम्बन्धी कानुनहरुलाई संशोधन समेत गरिसकेका छन् । पहिले प्रदेशले रेडियो र टेलिभिजनलाई प्राथमिकता दिएर ऐन ल्याएपनि पछिल्लो समयमा मिडिया र पत्रकारसँग जोडिएका सबै पक्षलाई समावेश गरी एउटा छाता कानुन ल्याउन सुरु गरेका छन् । लुम्बिनी प्रदेशले एकीकृत कानुन बनाइसकेको छ भने कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश पनि सोही बाटोमा अग्रसर छन् ।

मुलुकमा ७५३ स्थानीय तह भएकोमा दुईसय भन्दा बढीले एफएम रेडियो सञ्चालन सम्बन्धी ऐन बनाएका छन् । काठमाडौं महानगरपालिकाले पत्रपत्रिका, एफएम रेडियो, अनलाइन, केबल टेलिभिजन, विज्ञापन, सोसल मिडिया लगायतलाई समेटेर सञ्चार तथा सूचना ऐन पारित गरेको छ ।

नियन्त्रणमा जोड

२०७२ सालमा जारी नेपालको संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख छ । संविधानको धारा १७ मा विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ । र, सोही धारामा कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनता, संघीय इकाइबीचको सुसम्बन्ध, शान्ति सुरक्षा वा व्यवस्थामा खलल पर्ने कार्यमा प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन, भन्ने व्यवस्था छ ।

यसैगरी संविधानको धारा १९ मा सञ्चारको हकको व्यवस्था छ । जसमा सामग्री प्रकाशन तथा प्रसारण पूर्व प्रतिबन्ध नलगाउने, सामग्री प्रकाशन तथा प्रसारण गरेबापत माध्यमलाई बन्द, जफत वा दर्ता खारेज नगरिने र कानुन बमोजिम बाहेक सञ्चार साधनलाई अवरुद्ध नगरिने उल्लेख छ । सोही धारामा सार्वभौमसत्ता, राष्ट्रियता, राजद्रोह, गाली बेइज्यती, लैंगिक भेदभाव लगायतमा दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन सक्ने र सञ्चार साधनको नियमन गर्न कानुन बनाउन सक्ने गरी बाटो खुल्ला राखिएको छ ।

हुनत कानुन बनाउन सक्ने संवैधानिक प्रावधानलाई टेकेर सरकारले जुनसुकै बेला नेपाली मिडिया र पत्रकारलाई अप्ठयारोमा पार्न सक्छ । तरपनि छलफलमा आएका, विधेयकका रुपमा तयार भएका र कानुन बनिसक्दा पनि प्रेस स्वतन्त्रतालाई कुनै न कुनै रुपमा खुम्चाउने प्रयास भएको पाइन्छ । इजाजत पत्र रद्द गर्ने, पत्रकारलाई फौजदारी अभियोग लगाउने, मिडिया सामग्रीमाथि कुनै न कुनै रुपमा बन्देज कायम राख्ने, प्रसारणमा रोक लगाउन सक्ने, जचाँएर मात्र प्रकाशन गर्न पाइने, सुविधामा रोक लगाउन सक्ने चाहना राखेको पाइन्छ । त्यसैगरी मिडिया सम्बन्धी सरकारी संरचनालाई स्वतन्त्र र स्वायत्तभन्दा हस्तक्षेप कायम राख्ने, तजबिजमा नियुक्ती गर्ने र हटाउने, निर्देशन दिने लगायतका मनसाय पाइन्छ ।

संघमा मिडिया कानुन बन्न ढिला हुँदाका चुनौती

संविधानको अनूसूची-५ मा मिडिया सम्बन्धी संघको अधिकार क्षेत्र, अनुसूची-६ मा प्रदेशको अधिकार, अनुसूची-७ मा संघ र प्रदेशको साझा अधिकार, अनुसूची-८ मा स्थानीय तहको अधिकार र अनुसूची-९ मा संघ र प्रदेश र स्थानीय तहको साझा अघिकार उल्लेख छ । एकल अधिकारबारे कानुन बनाउन समस्या नभएपनि साझा अधिकारका बारेमा संघले कानुन बनाउने र संघीय कानुन अनुसार प्रदेश र स्थानीय तहले कानुन बनाउनुपर्ने हुन्छ ।

संविधानमा उल्लेख गरिएको संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई संघ, प्रदेश र स्थानीय तहको कार्यको कार्य विस्तृतीकरण प्रतिवेदनमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ । तरपनि मिडियाको क्षेत्राधिकारबारे संघ, प्रदेश र स्थानीय तहमा साझा बुझाइ र स्पष्टताको अभाव छ । जसलेगर्दा कतिपय ठाउँमा क्षेत्राधिकार भन्दा बाहिर र कतिपय ठाउँमा क्षेत्राधिकारको अभ्यास भएको छैन । संविधानमा संघ, प्रदेश र स्थानीय तहको साझा अघिकारमा पत्रपत्रिकालाई पनि समावेश गरिएको छ । बागमती प्रदेशको सञ्चार रजिष्टार कार्यालयले पत्रपत्रिका सम्बन्धी व्यवस्था पनि गरेको छ । तर, संघले हस्तान्तरण नगरेको भन्दै अभ्यासमा आउन सकेको छैन । त्यसैगरी फ्रिक्वेन्सीको बाँडफाँट, स्याटलाइट र टेरेस्टिरियल)को अधिकार, इजाजत दर्ता, नवीकरण लगायतमा पनि अन्योल छ ।

अधिकारहरु जति सक्यो, उति बढी प्रदेश र स्थानीय तहमा प्रत्यायोजन गर्न सक्यो, संघीयता त्यति बढी प्रभावकारी हुने हो । त्यसका लागि सबैभन्दा पहिले संघ, प्रदेश र स्थानीय तह प्रष्ट हुनुपर्छ । र, त्यसका लागि संघले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । तर, मिडियाबारे संघमा समयमा कानुन नबन्दा क्षेत्राधिकार, संरचना, कार्यशैली, समन्वय तथा सहजीकरणमा प्रष्टता हुन सकेको छैन । संघले जुन काम गर्छ, त्यो प्रदेशले गर्ने होइन र प्रदेशले गर्ने काम स्थानीय तहले गर्ने होइन मान्यता स्थापित हुन सकेको छैन । संघले गर्ने अभ्यास प्रदेश र स्थानीयले गर्दा आर्थिक रुपले बोझ हुने मात्र होइन कि कार्यक्रमको प्रभावकारितामा समेत प्रश्न उठ्ने अवस्था छ ।

केन्द्रमा प्रेस काउन्सिल नेपालको अभ्यास हुँदाहुँदै मधेश प्रदेशमा मिडिया काउन्सिलको गठन भइसकेको छ । त्यसैगरी केन्द्रमा बनाउने भनेर चर्चा हुँदै आएकोे तर बन्न नसकेको आमसञ्चार प्राधिकरण अभ्यासमा छ । कोशी प्रदेशमा स्थापना भइ सञ्चार प्रतिष्ठान स्थापना भएपनि कानुनी प्रक्रिया नमिलेको भनेर खारेज भइसकेको छ । बागमती प्रदेशमा सूचना तथा प्रसारण विभाग क्रियाशिल छ । बागमती प्रदेशको सञ्चार रजिष्टार कार्यालय पनि क्रियाशिल छ । राजधानी समेत रहेको बागमती प्रदेशमा संघीय संरचनाले गर्ने र प्रदेश संरचनाले गर्ने कार्यहरुबारे पनि थप स्पष्ट हुुनपर्ने आवश्यकता छ ।

बागमती प्रदेशको सञ्चार रजिष्टार कार्यालयले केबल टेलिभिजनलाई इजाजत पत्र दिँदै आएको छ । सोही कार्य काठमाडौं महानगरपालिकाले पनि गर्ने तयारीमा छ । संघीयतामा स्थानीय तहमा पत्रपत्रिका दर्ता हुनुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालयमा पत्रपत्रिका दर्ता हुँदै आएको छ । केन्द्रमा आमसञ्चार प्राधिकरण गठन गर्नुपर्छ भनेर चर्चा चलिहरेका बेला प्रदेशमा आमसञ्चार प्राधिकरण सम्बन्धी विधेयक नै तयार भइसकेको छ । कतिपय स्थानीय तहमा स्थानीय तहको अधिकारमा आफैले नै एफएम रेडियो सञ्चालन गर्ने भन्ने बुझाइ छ ।

प्रवृतिगत समस्या

६ वर्षसम्म संघमा मिडिया कानुनहरु बन्न नसक्नुमा एउटा मात्र नभएर,बहुपक्षीय कारण छन् । सबै उस्तै छन् भन्ने होइन । व्यवहारिक कसीबाट हेर्दा सरकार र राजनीतिक दलहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताको जति वकालत गरेपनि उनीहरुको नियत प्रेस स्वतन्त्रतालाई फस्टाउन दिने भन्दा कुनै न कुनै रुपमा प्रभाव पार्ने वा नियन्त्रण गर्ने देखिन्छ । यसले उनीहरु प्रेस स्वतन्त्रता होइन कि आफ्नो अनुकुलको प्रेस मात्र चाहन्छ भन्ने देखाउँछ । विधेयकको तयारीदेखि संसदमा हुने छलफलले समेत त्यो कुरा बुझ्न थप सहयोग पुर्‍याउँछ ।

कतिपय नेताहरुले सूचना र समाचारलाई एउटै ठान्ने, सोसल मिडिया र मिडिया छुट्टाउन नसक्दा पनि समस्या हुने गरेको छ । सोसल मिडियामा समस्या देख्ने अनि मिडियालाई ठेगान लगाउनुपर्छ भन्ने प्रवृतिले पनि मिडिया कानुन बन्न नसक्नुमा कहीँ नै कहीँ भूमिका खेलेको छ ।

अर्काे कारण हो, अति बढी राजनीतिकरण । पत्रकारका संगठनहरु र बौद्धिक समाज पनि राजनीतिक रुपमा व्यापक ध्रुवीकृत छन् । खास खास बेलामा सही र बेठीक भन्दा उनीहरुका लागि सत्ता र पार्टीको ‘निर्देशन/सुझाव/लाइन’ महत्वपूर्ण हुने गर्छ । त्यस अतिरिक्त मिडिया सञ्चालकको अर्थराजनीति पनि बेला बेलामा जोडिने गर्छ । त्यसको प्रभाव मिडिया कानुनमा पर्दै आएको छ । विधेयकको तयारी, विधेयकमा उल्लेख भएका विषयहरु, मस्यौदा विधेयकबारे सरकार र संसदले सरोकारवाला निकाय र व्यक्तिहरुसँग पर्याप्त बहुपक्षीय छलफल नगर्ने प्रवृतिले गर्दा अपनत्व नलिने र खोचे थाप्ने प्रवृति पनि छ ।

त्यसअतिरिक्त प्रेस स्वतन्त्रताबारे पत्रकार र सरोकारवाला निकायहरुबीच न्यूनतम साझा धारणा छैन । सरकार र पार्टीलाई हेरी एउटा कुरालाई कुनै बेला ठीक र कुनै बेला बेठीक भन्ने छेपारे प्रवृति पनि छ । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई पार्टीको सत्तापक्ष र प्रतिपक्षी स्थान अनुसार आफ्नो अनुकुल व्याख्या गर्ने जमात पनि छ । सबै मिडिया र पत्रकार बेठीक छन् भन्ने होइन, तर प्रेस स्वतन्त्रता सम्बन्धी सरकार र संसदलाई पत्रकार र मिडिया क्षेत्रले विश्वास दिलाउन नसक्नु अर्काे कारण देखिन्छ । मिडिया सम्बन्धी संघीय कानुनहरु समयमा बन्न नसक्दा सरकार, संसद, मिडिया क्षेत्र, पत्रकारका संघसंस्थाहरु, पत्रकारको भूमिका मात्र होइन, संघीयतामा कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनबारे पनि प्रश्न उठेको छ ।

सामाजिक सञ्जालको नियमन

फेसबुक प्रयोग गरी विचार वा मत सर्भेक्षण जस्ता कार्य सम्भव हुन्छन् । भाइबर, ह्वाट्सएप, फेसबुकमा समूह बनाएर अन्तर्क्रिया सम्भव हुन्छ । जुम बैठक, गुगलमिट जस्ता भर्चुअल मिटिङका प्लेटफर्म वा ट्रेड टक जस्ता युट्युब सामग्री उपयोगी हुन्छन् । छोटो छोटो प्रवचनसहितका भिडियो वा नाचगानदेखि भजन वा शारीरिक अभ्यास एवं जीवनदर्शनका विषय पनि टिकटकबाट सुन्न र देख्न पाइन्छ ।

लिङ्क्डइन नामक सामाजिक सञ्जालले खास गरी पेसागत हिसाबले मिल्दोजुल्दो रुचि भएकालाई एकापसमा जोड्ने मात्र नभई यसमा प्रविष्ट हुने विवरणलाई व्यक्तिको मूल्याङ्कन गर्ने प्रचलन बढ्दै गएको छ । धेरै वर्षदेखि भेट नभएका कुनै समय निकै मिल्ने गरेका साथीलाई समेत फेसबुक जस्ता माध्यमबाट भेट गराएको छ । सामाजिक सञ्जालले व्यक्ति–व्यक्तिबिचको सामाजिक अन्तर्क्रियालाई सघन बनाएको छ । सामाजिक सञ्जाल एवं प्लेटफर्म उपयोगी छन्, मात्र उपयोग कसरी गर्ने र के का लागि गर्ने भन्ने हेक्का प्रयोगकर्तामा हुनु पर्छ । प्लेटफर्म सञ्चालकले पनि व्यक्ति र समाजको हितको समेत हेक्का राख्दै सम्बन्धित देशको सरकारले जारी गरेका कानुन पालना गर्नु पर्छ ।

समयको दुरुपयोग नै हो त ?

समय व्यवस्थापन सिद्धान्तको चर्चा हुने क्रममा प्रयोगमा आउने आइजनआवर डिभिजन म्याट्रिक्सले जरुरी, कम जरुरी, महत्वपूर्ण, कम महत्वपूर्ण गरी दुई गुणा दुई अर्थात् चार वटा विकल्प हुने उल्लेख गर्दछ । जुन कुरा महìवपूर्ण छ र जरुरी छ भने त्यसलाई प्राथमिकता दिएर काम गर्नुपर्ने तर्क गरिन्छ भने जुन कुरा न महìवपूर्ण छ न जरुरी नै छ भने त्यस्तो काममा हात हालेर समय बर्बाद गर्नु हुँदैन । चर्चित लेखक एवं व्यवस्थापनविद्ले फेसबुकलगायतका सामाजिक सञ्जालमा समय दिनु भनेको न महत्वपूर्ण न जरुरी खालको काममा समय लगाएर बर्बादीको बाटो लिने विचार राखेको पाइन्छ । सामाजिक सञ्जालले व्यक्तिगत रुचि अनुसार सामग्री उपलब्ध गराउने हुँदा लत बस्ने र सृजनशील र मेहनती हुने सम्भावना घटेर जाने तर्क पनि सुन्न पाइन्छ । यद्यपि यी विषयमा कार्यक्षेत्र अनुसार फरक व्यक्तिका फरक मत रहने गरेको छ ।

नियमनको अधिकार राज्यमा

राज्यले नागरिक हितका लागि निश्चित विधि र प्रक्रिया अवलम्बन गरी शासन सञ्चालन गर्छ । यसरी प्रयोगमा आउने विधि र प्रक्रिया कानुनसम्मत हुनु पर्छ । समयानुकूल एवं तर्कसङ्गत हुनु आवश्यक छ । आधुनिक राज्यव्यवस्थामा प्रयोगमा आउने नीति तथा विधिहरू जसका लागि प्रयोग गरिने हो, उसको स्वीकृतिसहित नागरिक हितको ध्येयका लागि हुनुपर्ने मान्यता विकसित भएको छ । साथै विज्ञान प्रविधिका मोडेलमा भएको तीव्र विकास र इनोभेसनले गर्दा भविष्यपरक भएर नियमन गर्ने काम उडिरहेको पन्छीलाई पिछा गरे जस्तै चुनौतीपूर्ण हुन गएको छ । नयाँ नयाँ सुविधा सिर्जना गर्नमा निजी क्षेत्र वा बजार संलग्न हुने तर कम्पनीका साथै समग्र नागरिकका लागि लागु हुने गरी नियमनको अधिकार सरकारसँग हुने हुँदा यो विषय स्वभावैले पेचिलो र तनावपूर्ण बन्न पुगेको अनुमान गरिन्छ । सामाजिक सञ्जाल नियमनको विषय पनि एउटा यस्तै विषयमध्ये एक हो ।

सञ्चार क्षेत्रका ज्वलन्त समस्या

आमसञ्चार जगत्मा गलत सूचना प्रवाह सम्बन्धमा चार वटा शब्द प्रचलनमा आएका छन् । पहिलो, मिस्इन्फर्मेसन; जसको अर्थ हुन्छ मिथ्या सूचना अर्थात् गलत सूचना प्रवाह गर्ने । खासमा यस्तो सूचना गलत सन्देश प्रवाह गर्ने आशयबिना नै प्रवाह भएको हुन्छ । दोस्रो, डिस्इन्फर्मेसन; जसको अर्थ हुन्छ दुष्प्रचार अर्थात् सुनियोजित रूपमै गलत सूचना प्रवाह गर्नु । नागरिक सम्बन्ध, समाजलाई र खास गरी सीमान्तकृत समूहलाई मिस्इन्फर्मेसन वा डिस्इन्फर्मेसनले बढी असर गर्दछ । कुनै राजनीतिक दलसँग झुकाव राख्ने मिडिया डिस्इन्फर्मेसनका कारक हुन सक्ने बताइएको छ । त्यस्तै रुचि समूहले पनि मिडियाको दुरुपयोग गरेको पाइएको छ । तेस्रो शब्द हो– म्यालइन्फर्मेसन अर्थात् सूचना तोडमरोड । चौथो, द्वैषपूर्ण अभिव्यक्ति अर्थात् हेट स्पिच । सामाजिक सञ्जालका कारण यी चार किसिमका सूचना प्रवाह हुने क्रम बढेको बुझिएको छ । यस्ता सूचनाका कारण उत्पादनलाई बढाउने, जनस्वास्थ्यमा सुधार गर्ने, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने तथा स्थायित्वसहितको लोकतन्त्र स्थापित गर्नेलगायतका ज्वलन्त पक्षको प्रवर्धन गर्ने क्षमतामा असर पुगेको छ । त्यसैले मिस्इन्फर्मेसन र डिस्इन्फर्मेसनको सही पहिचान समयमै गरी यसलाई न्यूनीकरण गर्ने नीति, कार्यक्रम तथा अभ्यास अगाडि बढाउनु आवश्यक छ । सूचना प्रवाह र सूचना प्रयोगमा संलग्न सबै पक्षले यो विषयलाई संवेदनशील रूपमा लिनु आवश्यक छ ।

सर्वोच्च अदालतको फैसलामा भएको व्याख्या

सर्वोच्च अदालतले नेपाल सरकारविरुद्ध हरि पन्तसमेतको विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा २०७३ असार २६ गते भएको फैसलामा उल्लेख भएको व्याख्या प्रासङ्गिक छ । व्याख्यामा समेटिएका विषय यस प्रकार छन् : “कम्प्युटरको प्रयोग बहुआयामिक हुन्छ । इन्टरनेटको माध्यमबाट खबर हेर्न सकिन्छ । यसमा प्रकाशित खबर गरिएका प्रदर्शन सार्वजनिक किसिमका हुन्छन् । त्यस्तै गरी कम्प्युटरको प्रयोग सोसल मिडियाबाट धेरै व्यक्तिबिचको संवादको प्रयोजनलाई पनि गरिन्छ । सोसल मिडियामा अरूले देख्न सकिने गरी तस्बिर प्रदर्शन वा अभिव्यक्ति प्रकाशन गर्न सकिन्छ ।

यसरी अरूले पनि देख्न सक्ने गरी भएको प्रदर्शन र प्रकाशन पनि सार्वजनिक प्रकृतिको नै हुन्छ तर दुई व्यक्तिबिच गरिएको इमेल भने सार्वजनिक नगरेसम्म त्यसमा भएको सामग्री ती दुई व्यक्तिबिच नै सीमित रहन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यसमा सार्वजनिक जानकारीमा गयो भन्न मिल्दैन । “… एक व्यक्तिले अर्को व्यक्तिलाई पठाएको पत्र इलेक्ट्रोनिक माध्यम भएको कारणले मात्र त्यो कार्यलाई प्रकाशन वा प्रदर्शन गरेको भन्न मिल्दैन ।” छोटकरीमा फैसलाको सार हेर्दा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुन प्रकाशन र प्रदर्शन हुन जरुरी हुने । इमेलबाट अश्लील भनिएको म्यासेज पठाएको विषयलाई सार्वजनिक प्रकाशन र प्रदर्शन नमानिने हुँदा सरकार वादी मुद्दासम्बन्धी नियमावली, २०४९ को दफा २७ बमोजिम गाली बेइज्जतिमा परिणत हुने देखिन्छ ।

नयाँ कानुनी व्यवस्था गर्दा नीतिगत आधारका साथमा अन्तर्राष्ट्रिय तहमा विकसित जुरिस्प्रुडेन्सलाई समेत सँगसँगै ख्याल गर्नुपर्ने हुन्छ । हाल कार्यान्वयनमा रहेको नेपालको संविधानले लोकतान्त्रिक गणतन्त्र नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता हनन हुन नहुने गरी प्रत्याभूति गरेको छ । हाल कार्यान्वयनमा रहेका विद्युतीय कारोबार ऐन, २०६३, पत्रकार आचारसंहिता, राष्ट्रिय प्रसारणसम्बन्धी कानुन, विज्ञापनसम्बन्धी कानुन सुधारको पर्खाइमा छन्, केहीमा संशोधन भइसकेको र केही पेस हुने क्रममा रहेका छन् । हालसालै राष्ट्रिय साइबर सुरक्षा नीति नेपाल सरकारले पारित गरी राष्ट्रिय सुरक्षाका लागिसमेत महत्वपूर्ण साइबर सुरक्षाको विषयलाई प्राथमिकता दिएको पुष्टिसमेत गरेको छ ।

विश्वस्तरमा अहिले प्रयोगमा आएका न्यु मिडियाको भूमिका सत्ता विघटनदेखि समाज विघटनसम्म देखिएको छ । धेरैतिरबाट चित्र र कन्टेन्ट लिएर कसैको चरित्रहत्या वा अफवाह फैलाउने विषय कदापि पनि समाजको हितका लागि बनाइने कानुनसम्मत हुन सक्दैन । फौजदारी अपराध संहिताको दफा ६५ ले अफवाह फैलाउन नहुने भनेको छ, जुन गलत खालका सूचनाका हकमा पनि लागु हुन्छ नै । मिडियाले सामाजिक सद्भाव र भ्रातृत्व प्रवर्धनलाई ध्यान दिनु पर्छ । एउटा कुरा के सत्य हो भने सार्वजनिक वा निजी संस्थाबाट सही सूचना प्रवाह समयमा भएन भने गलत सूचनाले स्थान पाउने सम्भावना बढेर जान्छ । परिवर्तित सञ्चार परिदृश्यलाई हेर्दा इन्टरनेटकै कारण ग्लोबल न्युज लोकल र लोकल न्युज ग्लोबल हुन सक्छ ।

भनिएको छ कि सोसल नेटवर्क त सदुपयोग गर्ने विषय हो । सार्वजनिक सेवा प्रवाहमा, विपत्का समयमा दोहोरो सञ्चार र पृष्ठपोषणका लागि समेत यो प्रयोग हुन थालेको छ । भूकम्पपश्चात्को अवस्था होस् वा कोभिड–१९ को महामारीको बखत समेत सोसल मिडियाबाट हुने सञ्चारले सकरात्मक भूमिका निर्वाह गरेका छन् । तसर्थ अब एउटा बहस गर्ने र निकास निकाल्ने बेला आएको छ । सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई कसरी जवाफदेही बनाउन तथा प्रयोगकर्तालाई कसरी सुसूचित र सजग गराउन सकिएला ? यसमा सार्थक बहसको खाँचो छ ।

सूचना प्रवाहलाई पत्रकारिताको मान्य सिद्धान्त अनुसार सञ्चालन गर्नु अहिलेको डिजिटल युगमा थप जटिल बन्दै गएको छ । आर्टिफिसियल इन्टेलिजेन्सका नयाँ नयाँ टुल थपिँदै जाँदा लोकतान्त्रिक अधिकारको अभ्यास गर्ने र अभिव्यक्ति स्वतन्त्रताको बढीभन्दा बढी प्रयोग भए पनि नागरिकले रचनात्मक रूपमा समाजमा आफ्नो उपस्थिति राख्ने विषयमा भने प्रश्न उठ्न थालेको छ । अहिले इन्टरनेटको प्रयोग व्यापक भएको तथा ई–कमर्स तथा सोसल मिडियाको प्रयोग बढ्दै गएको सन्दर्भमा यी सबैको नियमनको विषयले पनि बहसको स्थान पाएको छ । ज्ञानात्मक, मानसिक र भौतिक स्वास्थ्यमा सोसल मिडिया तथा आर्टिफिसियल इन्टेलिजेन्सका साथै भिडियो गेम जस्ता भर्चुअल रियलिटीको असर सम्बन्धमा अनुसन्धान र विश्लेषण गरी त्यसबाट प्राप्त निष्कर्षको आधारमा मात्र धारणा बनाउनु उपयुक्त हुने देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३७३ मा सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने छ भनेर उल्लेख गरिएको छ । घटनाक्रम हेर्दा उच्चपदस्थ व्यक्तित्वलाई समेत उट्पट्याङ स्वरूपमा देखाइनु, फेक आइडीबाट अश्लील र असान्दर्भिक व्यवहार गरिनु, निर्वाचित प्रतिनिधिदेखि लिएर सिनेकलाकार पनि साइबर आक्रमणमा पर्ने घटना दोहोरिइरहेका छन् । बालबालिकालाई खेल र छनोटका अन्य सामग्री पठाएर लत बिगार्नु वा एकोहोरो बनाउनु, सामाजिक सञ्जालकै कारण पारिवारिक सम्बन्धमा दरार आएका उजुरी र मुद्दा बढ्दै जानु जस्ता समस्याका कारण सामाजिक सञ्जाललाई कुनै न कुनै हिसाबले निमयन गर्नुपर्ने माग बढ्दै गएको छ । छिमेकी मुलुक भारत र चीनमै पनि सामाजिक सञ्जालको प्रयोगमा आआफ्नै ढङ्गको नियन्त्रण छ ।

समयको माग अनुसार कानुनी सम्बोधन आवश्यक पर्छ चाहे नयाँ बनाएर वा संशोधनको माध्यमबाट । अनलाइन माध्यमको प्रयोग वढ्दो क्रममा रहेको हुँदा आमसञ्चार माध्यमको नियमनका सम्बन्धमा समेत सोसल मिडियाबाट हुने प्रसारणलाई समेटिनुपर्ने विषय उठेको छ । ओटिटीका माध्यमबाट हुने प्रसारणलाई पनि अनुमति तथा इजाजतको दायरामा ल्याउने पहल भइरहेको छ । डिजिटल माध्यमबाट र सोसल मिडियामा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउने गरी विज्ञापनसम्बन्धी कानुनमा संशोधन भएको छ । अन्तर्राष्ट्रिय आयामबाट हेर्दा अमेरिकाले प्लेटफर्म सञ्चालकको पक्षमा बढी वकालत गर्दै आएकोमा अहिले आएर यसको दुरुपयोग रोक्ने कानुन निर्माणको चरणमा पुगेको छ । युरोपेली युनियनले सन् २०२२ मा जारी गरेको कानुन सन् २०२३ अगस्ट २५ बाट पूर्ण कार्यान्वयनमा लैजाँदै छ; जसमा स्वनियमनका विषयका साथै कानुन उल्लङ्घनका बखत वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिबाना गर्ने विषय समेटेको छ । उता सिङ्गापुरमा सन् २०२२ मा भएको कानुनी व्यवस्थाले सोसल मिडिया साइट सञ्चालकले नै हानिकारक सामग्री केही घण्टाभित्र नै हटाउनुपर्ने र अटेरी गरेमा इन्टरनेट सुविधाबाट वञ्चित गरिने जस्ता विषय पनि परेका छन् । भारतमा लागु भएको निर्देशिकाले प्लेटफर्म सञ्चालकको वर्गीकरण गरी ठुला सेवा प्रदायकले गुनासो सुन्ने अधिकारी, कानुन पालना भए/नभएको निगरानी गर्ने अधिकारी अनिवार्य तोक्नुपर्ने संस्थागत व्यवस्थाका सम्बन्धमा प्रस्ट उल्लेख गरेको छ ।

रोयल सोसाइटी फर पब्लिक हेल्थ, बेलायतले गरेको एक अध्ययनको निष्कर्षले सामाजिक सञ्जालको प्रयोगको परिणामस्वरूप चिन्ता, डिप्रेसन र अनिद्रामा वृद्धि भएको देखाएको छ । त्यस्तै जर्नल अफ अफेक्टिभ डिसअडर्समा प्रकाशित अर्को एक अध्ययनको निष्कर्षले भन्छ कि सामाजिक सञ्जालमा बढी समय बिताउने व्यक्तिले नकारात्मक मानसिक स्वास्थ्य अनुभव गर्छ । सामाजिक सञ्जालको लत बस्दै जाँदा पारिवारिक आत्मीयतामा ह्रास आएको छ भने भर्चुअल ठगी एवं चरित्रहत्याका घटना बढ्दै गएका छन् । गलत सूचना प्रवाहबाट हुन सक्ने क्षति असीमित हुन सक्छ ।

सिक्ने क्रमका बालबालिका र किशोर–किशोरीलाई एकलकाँटे बनाउँदै गएको मात्र हैन कि खास गरी उत्पादक मानिने उमेर समूहको अमूल्य मानिने समयको बर्बादीका लागि पनि सामाजिक सञ्जालको लत जिम्मेवार छ भन्ने गरिएको छ । माथि भने झैँ गलत वा मिथ्या जानकारी प्रवाहको जोखिमका अलावा सानो उमेरमै स्मार्ट स्क्रिनको लत बस्ने र शैक्षिक संस्थाभित्र वा भर्चुअल रूपमा पनि साइबरबुलिङको लैजाने जोखिम बढेको छ ।

सरकारले लागु गर्ने निर्देशिका वा कार्यविधिले मूलभूत रूपमा सामाजिक सञ्जालमार्फत फैलने वा फैलाइने हानिकारक सामग्री यथाशक्य हटाउने प्रविधिको प्रयोग गर्न, प्रयोगकर्ताको जीवनमा कुनै हानि नपुग्ने खालका र सृजनात्मकतालाई निस्तेज पार्ने खालका वा लत बसाल्ने खालका सामग्रीभन्दा पनि रचनात्मक चिन्तन र संवादमा जोड दिनु पर्छ । प्रवाह हुने सामग्रीको सुरक्षित र जिम्मेवार प्रयोग गर्ने सम्बन्धमा शिक्षा र सचेतनाको उचित प्रबन्ध गर्न आवश्यक छ । स्वनियमनको व्यवस्था भनेबमोजिम नगर्ने तथा गरिहाले पनि सो को प्रत्याभूति नगर्ने तथा हानिकारक सामग्री प्रवाह भएको अवस्थामा सञ्जाल वा प्लेटफर्म सञ्चालकले भोग्नुपर्ने सजाय वा जरिबाना वा क्षतिपूर्ति सम्बन्धमा पनि यसरी बन्ने निर्देशिकाले व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ ।

अन्त्यमा प्रविधिको सृजनशील प्रयोग र इनोभेसनलाई हुर्कने र फस्टाउने अवसर दिँदै सामाजिक मूल्य, मान्यता र मर्यादाको समेत उचित संवर्धन र प्रवर्धन गर्न मिथ्या सूचना प्रवाह नहुने वातावरण निर्माण गर्न पर्याप्त संवाद र तयारी गरी कानुनबाट सामाजिक सञ्जाल प्रयोगमा सकारात्मक नियमन हुने आशा गर्न सकिन्छ ।

लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ ।  

मन्त्रिपरिषद्‌बाट पास भएको साइबर सुरक्षा नीति लुकाइयो

काठमाडौँ — पटक–पटक मन्त्रिपरिषद्सम्म पुगेर अस्वीकृत भई फर्किएको साइबर सुरक्षासम्बन्धी नीति अन्ततः सरकारले गत मंगलबार स्वीकृत गरेको छ । यद्यपि, त्यसमा के–कस्ता विषय र प्रावधान समेटिएका छन् भन्नेबारे दस्तावेज सार्वजनिक नगरिएकाले अनेक प्रश्न उठेका छन् । साइबर सुरक्षा नीति बनाउन गठित उच्चस्तरीय समितिका विज्ञ सदस्यहरूलाई समेत स्वीकृत नीति उपलब्ध गराइएको छैन । आफूहरूले दिएका सुझाव त्यसमा अटाइएको छ/छैन भन्नेबारे विज्ञ नै अनविज्ञ छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ स्वीकृत गरेको थियो । बुधबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यसबारे औपचारिक जानकारी गराएकी थिइन् । सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपालको साइबर स्पेसलाई सुरक्षित र उत्थानशील बनाउने सोचसहित नीति तर्जुमा गरिएको अवगत गराए । ‘यस्तो नीति पहिलोपटक जारी हुने क्रममा छ,’ उनले भने, ‘प्रमाणित भएर आउनासाथ एक/दुई दिनमै वेबसाइटमा राख्छौं ।’ मन्त्रिपरिषद्को हरेक निर्णयमा मुख्यसचिवले सही गरेपछि प्रमाणीकरण भएको मानिन्छ ।

साइबर सुरक्षासम्बन्धी नीति बनाउन फागुनमा गठित उच्चस्तरीय कार्यदलका एक विज्ञ सदस्यले आफूहरूलाई समेत स्वीकृत नीति उपलब्ध नगराइएको बताए । ‘हामीले दिएको सुझाव त्यसमा छ कि छैन भन्ने नै जानकारी भएन,’ उनले भने, ‘स्वीकृत भयो भनेर आज (बुधबार) बिहान मन्त्रालयबाट म्यासेज आएको थियो । हेरौं न त भनेर माग्दा केही दिन कुर्नुस् भने । प्रमाणित भएर राजपत्रमा छापिएपछि मन्त्रालयको वेबसाइटमा आउँछ रे । त्यसपछि सबैले त्यहीँबाट जति हेरे पनि हुन्छ भन्ने कुरा आयो ।’ नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामाथि सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङ संयोजक रहेको कार्यदलमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी, विजय गौतमसहितको विज्ञ टोलीले सुझाव दिएको थियो ।

समग्र सूचना प्रविधि क्षेत्रलाई दिशानिर्देश गर्ने, डिजिटल डेटालाई सुरक्षित बनाउने र साइबर सुरक्षासम्बन्धी ऐन, कानुन बनाउन बाटो खोल्ने भएकाले साइबर सुरक्षा नीतिलाई लिएर सूचना प्रविधि क्षेत्रका प्रतिनिधिले खुसी व्यक्त गरेका छन् । यो नीति आवश्यक रहेको र आफूहरूले धेरै अघिदेखि नीति बनाउन माग गर्दै आएको भए पनि हाल पारित नै भइसक्दासमेत सार्वजनिक गर्न वा सेयर गर्न हिचकिचाएकोमा भने सरोकारवालाहरूले प्रश्न उठाएका हुन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताका ग्राहक कुल जनसंख्याभन्दा धेरै १२३ प्रतिशत छ । त्यस्तै ब्रोडब्यान्ड सेवा लिनेहरू २ करोड ७३ लाख ५७ हजार छन् । मोबाइलबाट फोर जी इन्टरनेट चलाउने मात्रै १ करोड ९४ लाख पुगिसकेका छन् । यत्रो ठूलो जनस्तरलाई प्रभाव पार्ने साइबर सुरक्षासम्बन्धी नीति सरकारले चुपचाप पारित गरेर हप्तौंपछि सार्वजनिक गर्न खोज्नु जायज नभएको सरोकारवालाहरूको भनाइ छ ।

डिजिटल राइट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले साइबर सुरक्षा नीति पारित भइसकेको हो भने त्यसलाई सरकारी वेबसाइटमा राख्नुपर्ने उल्लेख गर्दै ट्वीट गरेका छन् । ‘राष्ट्रिय साइबर सुरक्षा नीति नै पारित गरेको हो कि निर्णय मात्रै गरेको हो ?’ उनले लेखेका छन्, ‘पारित नै गरिसकेपछि त सरकारी वेबसाइटहरूमा राख्नुपर्‍यो । हामी जनताले कहिले हेर्न पाउने हो ? कि पूरै नीति नै गोप्य कागजातअन्तर्गत पर्‍यो ?’ उनका अनुसार सरकारले स्वीकृत गरेको भनेर सार्वजनिक घोषणा नै गरिसकेपछि नीति उपलब्ध हुनुपर्छ । मन्त्रालय स्रोतले भने प्रमाणीकरण नगरी अनधिकृत रूपमा वेबसाइटमा राख्न नमिल्ने भएकाले केही दिन समय लाग्ने जनाएको छ ।

सञ्चार मन्त्रालयले राय/सुझाव उपलब्ध गराउन भन्दै वेबसाइटमा राखेको नीतिको मस्यौदामाथि आफूहरूले विभिन्न छलफलसमेत आयोजना गरी सुझाव पेस गरेको सिग्देलले बताए । ‘सरकारी, निजी सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा नीति अत्यावश्यक भइसकेको छ,’ उनले भने, ‘तर नीति कस्तो ल्याइएको छ भन्ने थाहा दिइएको छैन । यसले गोपनीयता, अनलाइनमा वाक्स्वतन्त्रताजस्ता डिजिटल राइट र सेफ्टीका विषयलाई कसरी हेर्छ भन्नेमा हाम्रो चासो छ ।’ मस्यौदामा मिथ्या सूचना नियमन गर्नेजस्ता विषयसमेत उल्लेख भएको र त्यसमा आफूहरूले सुधारको सुझाव दिएको उनले बताए ।

साइबर सुरक्षाविज्ञ विजय लिम्बूले यसपालि नीति बनाउने क्रममा राम्रो छलफल र परामर्श गरिएकाले यसमा साइबर डिप्लोमेसी, नेसनल साइबर डिफेन्स र डिजिटल साक्षरताका विषय पनि समेटिनेमा आफू आशावादी रहेको बताए ।

‘मस्यौदा त हेरेको थिएँ तर स्वीकृत नीति हेर्न पाएको छैन,’ उनले भने, ‘साइबर सुरक्षासम्बन्धी कानुनका लागि यो रणनीतिक दस्तावेज वा रोडम्याप हो । साइबर सुरक्षाको क्षेत्रमा के–के गर्ने, के नगर्ने भन्नेबारे यसले बाटो देखाउनेछ । भविष्यमा साइबर सुरक्षा कार्यान्वयन गर्दा यसले ठूलो भूमिका खेल्ने भएकाले यो नीति आउनु राम्रो र स्वागतयोग्य कुरा हो ।’ साइबर चुनौतीहरू कुनै देशको सीमाभित्र सीमित नरहरने क्रस बोर्डर समस्या रहेकाले यीसँग जुध्न अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण सम्बन्धित निकायसँगको समवन्य साइबर डिप्लोमेसी अवधारणाभित्र पर्छ ।

प्रवक्ता सुवेदीका अनुसार नीतिमा ९ रणनीति र ७१ वटा कार्यनीति समेटिएका छन् । यसमा आधारित रहेर कानुनी र संस्थागत संरचना निर्माण गरिनेछ । क्षमता विकास र जनचेता अभिवृद्धिका विषय पनि समेटिएको छ । ‘विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी ५ वर्षभित्र ६०, १० वर्षभित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नीति ल्याइएको हो,’ सुवेदीले भने, ‘सूचना प्रविधि क्षेत्रलाई समेट्ने विद्यमान कानुनहरूसँग पनि यसलाई जोडिएको छ ।’ उनले साइबर सुरक्षा नीति अनुसार चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताए ।

प्रकाशित : श्रावण २५, २०८० ०८:०७

सामाजिक सन्जाल नियमनको गृहकार्य, अभिव्यक्ति स्वतन्त्रता खुम्चिने चिन्ता

सरकारको तर्क छ, सामाजिक सञ्जालमार्फत हुने गालीबेइज्जती र भ्रमपूर्ण सूचना रोक्न कानुन चाहिएको छ । अहिले नै पर्याप्त कानुन हुँदाहुँदै सरकारले अतिरिक्त व्यवस्था गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता खुम्चिने हो कि भन्ने चिन्ता व्यक्त भएका छन् ।

२५ साउन, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति, सामग्री र त्यसमार्फत हुने गतिविधिहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माणको गृहकार्य थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो कानुन निर्माणका लागि एक कार्यदल नै बनाएर तयारी सुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नेत्रप्रसाद सुवेदी संयोजकत्वको कार्यदलले सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गर्न गठित समितिले अध्ययन, छलफल र मस्यौदा तयारी लगायतका काम गर्नेछ ।

मन्त्रालयका प्रवक्ता तथा सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण लागि गठित समितिका संयोजक सुवेदी कानुन ल्याउने गृहकार्य स्वरुप ठाउँ-ठाउँमा छलफल सुरु गरिसकेको बताउँछन् । ‘केही छलफल भएका छन्, धेरै सम्वाद गर्न बाँकी छन्, विज्ञहरु संलग्न गराएर राय सुझाव लिइनेछ, अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनेछ,’ उनले भने, ‘देशभित्रको संविधान र कानुनले दिएको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नहुने गरी गलत गलत सन्देशको प्रवाह र चरित्र हत्यालाई नियन्त्रण गर्न र मर्यादित, रचनात्मक, पाच्य बनाउन कानुन बन्छ ।’

विगतमा भएको प्रयास

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६मा संसदमा दर्ता ‘सूचना प्रविधिसम्बन्धी विधेयक’मा सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने व्यवस्था प्रस्ताव गरेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सो विधेयकको विपक्षमा सशक्त रुपमा उभिएको थियो ।

तत्कालीन नेकपा नेतृत्वको सरकारमा हालको सत्तारुढ माओवादी केन्द्र समेत थियो, जसका नेताहरुले सरकारबाट तयार गरिएको विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुल्चिने भन्दै अघि नबढ्न सुझाव दिएका थिए । सदन र सडकबाट व्यापक विरोध भएपछि सो विधेयक अघि बढ्न सकेको थिएन ।

सो विधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरेको थियो ।

एक पटक सम्प्रेषण गरिसकेको सूचना हेरफेर गरे वा मेटाए वा आर्थिक लाभ पुर्‍याउने नियतले यस्तो कार्य गरे विषयवस्तु हेरेर तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने प्रस्तावसम्म गरिएको थियो ।

संसदको विकास तथा प्रविधि समितिले अझ थप व्यवस्था गर्दै राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने कुनै विषय सम्प्रेषण गर्दा समेत ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुन गरी विधेयक पास गरेको थियो ।

सञ्चार मन्त्रालयका सहसचिव सुवेदी पछिल्ला समयमा विभिन्न स्तरबाट सामाजिक सञ्जालको दुरुपयोग हुन नदिने कानुनबारे चासो व्यक्त भएको र संसद बैठकमा समेत विषय उठेकाले सरकार कानुन निर्माणमा पुनः अग्रसर भएको बताउँछन् । ‘यो समय र अहिलेको अवस्थाले माग गरिसकेको कुरा हो,’ उनी भन्छन््, ‘हामी संविधानको मर्मअनुसार नै कानुन बनाउन गृहकार्यमा जुटेका हौं ।’

सेलाइसकेको सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन ल्याउन फेरि किन सरकार अग्रसर भयो भन्ने स्पष्ट छैन । अधिकारीहरुको भनाइ मान्ने हो भने यस्तो कानुन निर्माणमा वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरुसम्मको चासो छ ।

विरोध सामना गर्ने मुडमा सरकार

सामाजिक सञ्जालमार्फत बढी नै अतिरञ्जित गर्ने गरी वर्तमान प्रधानमन्त्री र सम्मानित कलाकारहरुहरुकै कार्टुन बनाउनेसम्मको कामले सीमा नाघेपछि कानुन निर्माणमा प्रधानमन्त्री कार्यालयबाट नै निर्देशन आएको अधिकारीहरुको दाबी छ ।

‘सामाजिक सञ्जाल अब प्रयोग मात्रै हैन, दुरुपयोगको उच्चतम विन्दुमा पुगिसक्यो,’ ती अधिकारी भन्छन्, ‘यसको नियमनमा नेपाल पछाडि परिसक्यो, अरु अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरेर कानुनको मस्यौदा बन्नुपर्छ भन्ने सरकारको निष्कर्ष हो ।’

भारतदेखि युरोपेली, अमेरिकी देशहरुसम्मले विभिन्न मोडालिटीमा सामाजिक सञ्जाललाई नियमन गरेको भन्दै ती अधिकारीले कमसेकम सामाजिक सञ्जालको प्लाटर्फम सञ्चालकलाई जिम्मेवार बनाउने र प्रयोगकर्तालाई पनि सदुपयोगमा उत्पे्ररित गर्ने गरी कानुन बनाउने योजना बनाएको बताए ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिगत मानहानि मात्रै हैन, आर्थिक अपराधसम्म हुने गरेका छन्, गम्भीर अपराधहरुलाई समेत अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्न मिल्ने अवस्था हुनुहुन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘अमेरिकाले पनि सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन तयारी गर्दा हामी पन्छिएर बस्ने कुरै हुँदैन ।’

सामाजिक सञ्जालबाट हुने गाली बेइज्जती, मानहानि, गलत सूचना तथा भ्रामक सन्देशको प्रवाहसहित दुष्प्रचारबाट जोगाउने गरी कानुन निर्माणको तयारी भएको उनको भनाइ छ ।

‘हतारमा विवादास्पद तवरले मस्यौदा बनाएर विगतको जस्तो कानुन नै नबन्ने अवस्था आउन दिँदैनौं,’ मन्त्रालयका अधिकारी भन्छन् । नियमनका प्रयासमा आउनसक्ने कतिपय विवाद हुनसक्ने विषयकाृे सामना गरेरै जाने मुडमा सरकार छ ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने चिन्ता

पर्वतका पत्रकार आरके अदीप्त गिरीमाथि सार्वजनिक सवाल गरेकै आधारमा साइबर क्राइममा मुद्दा चलाउने तयारी लगायतका घटनाक्रमका कारण सरकार प्रश्नहरुप्रति असहिष्णु बन्दै जान खोजेको भन्दै विरोध भइरहेको छ । विद्यमान कानुनहरु नै गलत क्रियाकलाप रोक्न सक्षम देखिँदादेखिँदै अतिरिक्त र असान्दर्भिक कानुनको खोजी किन भन्ने प्रश्नसमेत सरोकारवालाहरुले उठाएका छन् । सरकारको पछिल्लो तयारीले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने जोखिम रहेको भन्दै विज्ञहरुले सरकारलाई सचेत समेत गराएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल प्रविधि र त्यसको बिजनेसलाई सूचना प्रविधि विधेयकमार्फत नै नियमन गर्नुपर्ने बताउँछन् । ‘इन्टरनेट प्लाटर्फमका माध्यममा आउने अभिव्यक्ति, फोटो, भिडियो लगायतका सामग्रीहरुलाई अहिलेको विद्यमान फैजदारी र देवानी कानुनहरुले नै नियमन गर्ने गरी पर्याप्त व्यवस्था गरेका छन्,’ उनी भन्छन्, ‘विश्वस्तरमै सामाजिक सञ्जाल के हो भन्ने परिभाषित हुन नसकेका बेला त्यसमा आउने विषयवस्तुलाई नियमन गर्न कानुन ल्याउने कुरा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र मानवअधिकारको विरुद्धमा हुन्छ ।’

सामाजिक सञ्जालबाट हुने गाली बेइज्जती, मानहानि, अश्लीलता प्रदर्शन, धार्मिक तथा साम्प्रदायिक असहिष्णुतासहित राज्यलाई आघात पुग्ने गरी हुने गतिविधिलाई नियन्त्रण गर्न अदालतसहित राज्यको संस्थागत क्षमता बढाउनतर्फ बढी ध्यान दिनुपर्ने उनको मत छ । सामाजिक सञ्जालको विषयवस्तु नियमन गर्न छुट्टै र थप कानुनी व्यवस्था ल्याउन जरुरी नै छैन ।’

बजेट कटौतीले मारमा मिडिया

 

जनकपुरधाम, साउन १६ गते ।  मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनको सिधा मारमा स्वरोजगारमूलक सञ्चार माध्यम परेको छ। प्रदेश सरकार सञ्चारमैत्रीभन्दा विरोधी जसरी प्रस्तुत भएको सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूको आरोप छ।

नीतिगत रूपमै मधेश प्रदेश सरकारले सञ्चार माध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनसहित नियमित बजेटमा चार गुणा कटौती गरेका कारण सरकार सञ्चारमैत्री नभएको उनीहरूको आरोप छ। अघिल्लो प्रदेश सरकारले प्रदेशका विभिन्न सञ्चार माध्यमको संरक्षण, संवर्धन र क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्राधिकरण नै गठन गरेर लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्दै आएको थियो।

मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले लोककल्याणकारी विज्ञापनका लागि प्रत्येक वर्ष दुई करोड रुपियाँ विनियोजन गर्दै आएको थियो। लोककल्याणकारीसम्बन्धी कार्यविधि अभावमा सुरुका वर्षमा विनियोजित बजेट खर्च हुन नसकेको आमसञ्चार प्राधिकरणले जनाएको छ। लोककल्याणकारी विज्ञापन वितरण कार्य व्यवस्थित बनाउन कार्यविधि बनाइयो। कार्यविधि बनिसकेपछि प्राधिकरणले आव २०७८/७९ र २०७९/८० मा दुई दुई करोड रुपियाँ बराबरको लोककल्याणकारी विज्ञापन गरेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो। त्यस्तै आव २०७९/८० मा सरकारको नीति अनुसार बजेटमा २० प्रतिशत कट्टा गरिए अनुसार एक करोड ६० लाख बराबरको विज्ञापन वितरण गरेर खर्च भइसकेको उहाँले बताउनुभयो।

मधेश प्रदेश सरकारले चालु आव २०८०/८१ मा लोककल्याणकारी विज्ञापनका लागि ५० लाख रुपियाँ मात्र बजेट विनियोजन गरिएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने उल्लेख गरिएको थियो तर बजेटमा चार गुणाले कटौती गरिएको छ। यसरी सञ्चार माध्यमका लागि दिँदै आएको लोककल्याणकारी विज्ञापनको बजेट काट्ने सरकारलाई सञ्चारमैत्री भन्न नसकिने आजको वातावरण दैनिकका प्रकाशक/सम्पादक वैद्यनाथ झाले बताउनुभयो। “सरकारले महँगी अनुसार लोककल्याणकारी विज्ञापन बजेटमा वृद्धि गर्नु पथ्र्यो,” उहाँले भन्नुभयो, “उल्टै बजेट कटौती गरिएको छ।” चार दशकको अनुभव सुनाउँदै उहाँले सङ्घीय सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन रकम आजसम्म कहिल्यै पनि कटौती गरेको छैन। बरु एक दुई वर्षमा रकम वृद्धि गर्दै आएको छ।

यता प्रदेश सभाको बजेटमाथि छलफलमा प्रदेश सभा सदस्य रामआशिष यादव, सतीशकुमार सिंह, मालाकुमारी कर्ण, ललिता दासलगायतले प्रदेश सरकारले मिडिया क्षेत्रको बजेट कटौती गरी उपेक्षा गरेकोप्रति आक्रोश व्यक्त गर्दै अविलम्ब बजेट थप्न माग गर्नुभएको थियो। प्रजातन्त्र, लोकतन्त्र, माओवादी जनयुद्ध, मधेश आन्दोलनलगायतका अधिकार प्राप्तिका आन्दोलनमा महìवपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभएको थियो, “मिडिया लोकतन्त्रको अक्सिजन हो, आलोचनाबाट डराउनु हुँदैन। सचेत गराउनु पत्रकारिताको दायित्व हो।”

मधेश प्रदेशका मिडियाहरूको संरक्षणका लागि लोककल्याणकारी विज्ञापन, पत्रकारको स्वास्थ्य र दुर्घटना बिमा, वृत्तिविकासका लागि समुचित बजेट थप्न माग गर्दै उहाँहरूले अर्थ मन्त्रालयले मिडिया क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको थियो।

तत्कालीन मुख्यमन्त्री राउत नेतृत्वको सरकारले मिडिया क्षेत्रको विकास एवं प्रवर्धनका लागि आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन गरी समुचित बजेट व्यवस्थापन गरेको थियो। लोककल्याणकारी विज्ञापनका लागि वार्षिक दुई करोड रुपियाँ विनियोजन गर्दै आएकोमा आव २०८०/८१ का लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख कटौती गरी ५० लाख रुपियाँमा झारेको छ। यसै गरी आमसञ्चार प्राधिकरणको वार्षिक बजेट एक करोड ५० लाख रहेकोमा यो वर्ष कटौती गरी २५ लाख तथा मिडिया काउन्सिलको वार्षिक बजेट एक करोड रुपियाँ रहेकोमा यो वर्ष घटाएर २५ लाखमा झारिएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यबाहक अध्यक्ष कैलाश दासले यसअघि घरभाडा, पानी, बिजुली, पदाधिकारीको तलब सुविधा, सवारीचालक, कार्यालय सहयोगीको तलब, गाडी इन्धन खर्च, मिडियासम्बन्धी कार्यक्रमसहित एक करोड बजेट दिँदै आएकोमा यस वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गरेका कारण ती सबै कार्य गर्न समस्या हुने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले प्रदेश सरकाले मिडिया प्रवर्धनका लागि स्थापना गरिएका संयन्त्रलाई झन् बढी बजेट दिनुको साटो बजेट कटौती गर्नु सरकारले मिडियाप्रति आफ्नो वक्रदृष्टि उजागर गरेको बताउनुभयो।  मधेश प्रदेशमा छापा माध्यम १७२, एफएम १०७, टिभी ११, प्राधिकरणमा दर्ता अनलाइन २३ वटा रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये गत आवमा सूचीकृत दैनिक ३९, साप्ताहिक ८८, मासिक/द्वैमासिक/त्रैमासिक सात, एफएम ४९, टिभी सात वटाले लोककल्याणकारी विज्ञापन प्रकाशनबापत रकम प्राप्त गरेको प्राधिकरणले जनाएको छ। आर्थिक अभावका कारण करिब दुई दर्जन मिडिया बन्द भइसकेको छ।

के हो कान्तिपुरको आन्दोलन ?

काठमाडौं । निजी क्षेत्रबाट ३१ वर्षदेखि सञ्चालनमा रहेको कान्तिपुर पब्लिकेसन्समा कर्मचारी कटौतीको विषय चर्किँदा पत्रिका विवतरणमा अवरोध पुगेको छ । कर्मचारी कटौतीको निर्णयपछि उक्त संस्थामा विगत ५० दिनदेखि विरोधका कार्यक्रम छिटफुट हुँदै आए पनि आइतबार र सोमबार दुई दिन निकै कम ग्राहकका घरमा मात्रै पत्रिका पुग्यो ।

कारण थियो– वितरण विभागका कर्मचारीको अवरोध र आन्दोलन । उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट कान्तिपुर र द काठमाडौं पोस्ट पत्रिका उठाएर केन्द्रीय कार्यालय थापाथलीको प्रांगणमा ल्याएर थुपारिदिएकाछन् ।

362917965_319421183760024_5185150661284346021_n1690194412.jpg

आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

कसरी सुरु भयो आन्दोलन ?

करिब तीन महिनादेखि कान्तिपुरमा तलब नियमित छैन । जेठ महिनाको तलब असार मसान्तमामात्रै दिइएको थियो त्यो पनि केही कर्मचारीले मात्र पाए । केहीले अझै पनि जेठ महिनाको तलब नपाएको गुनासो गरेका छन् ।

“पछिल्ला महिना हामीले नियमित तलब पाएका छैनौँ, कार्यालयमा पनि लगातार आन्दोलन भइरहेको छ । अब हामी पनि आन्दोलनमा सहभागी हुनुको विकल्प छैन,” एक पत्रकारले बाह्रखरीसँगको कुराकानीमा भने ।

कान्तिपुर पब्लिकेसन्स पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी भइरहेका बेला २०७८–०७९ को आर्थिक विवरणअनुसार ३५ करोडभन्दा बढी घाटामा रहेको बताउँदै प्रकाशकले खर्च कटौती अभियान सुरु गरे ।

त्यसमा स्थायी बाहेकका सबै कर्मचारी कटौतीको तयारी गरियो । स्रोतका अनुसार वितरण विभागका धेरै र अरु ३३ प्रतिशत कर्मचारी कटौती पब्लिकेसन्सले थाल्यो । पब्लिकेसन्सले केही महिनाअघि निश्चित महिनाको तलब लिएर स्वेच्छिक अवकासको योजना ल्याएको थियो ।

त्यसबेला २५ जना कर्मचारीले बिदा लिएका थिए । त्यसपछि पनि आवश्यक संख्यामा कर्मचारीले छाड्न नमानेपछि प्रशासनले असार मसान्तमा ‘रिन्यू’ गर्नुपर्ने कर्मचारीको नवीकरण नगरेर बिदा गर्ने निर्णय लियो ।

साउन सुरु हुनासाथ कम्पनीले ४० कर्मचारीलाई करार अवधि सकिएको भन्दै पत्र थमाइदियो ।

362952096_319421217093354_7395103197126950347_n1690194412.jpg

“उपरोक्त सम्बन्धमा तपाईँलाई यस पब्लिकेसन्समा मिति २०७८/०५/०१ देखि मिति २०७९ श्रावण मसान्तसम्मका निमित्त वितरक वाहक पद(पार्ट टाइमर) मा समयगत रोजगारीमा नियुक्त गरिएकोमा तपाइँको करार मिति २०७९ श्रावण मसान्तमा समाप्त भई तपाइँको रोजगारीलाई २०८० अषाढ मसान्तसम्म निरन्तरता दिइएकोमा तपाईँको करार सेवा उप्रान्त थप नगरिने भएको हुँदा तपाइँको यस प्रतिष्ठानमा रोजगारी समाप्त भएको व्यहोरा जानकारी गराइन्छ,” मानव संशासन विभागका प्रमुख परमानन्द खनालले करार सेवा अन्त्य गरिएको बारेमा थमाइदिएको पत्रमा उल्लेख छ, “तपाइँसाथ भएको कम्पनीको सामग्री तथा उपकरण जिन्सी इत्यादीहरु यस पत्र प्राप्त भएको तीन (३) दिनभित्र कम्पनीमा हस्तान्तरण गरी आफ्नो हिसाब किताब फरफारक गरिदिनुहुन अनुरोध गरिन्छ ।”

patra1690194478.jpg

तस्बिर : जन्मदेव जैसीको फेसबुकबाट 


४० कर्मचारीले यस्तो पत्र प्राप्त गरेपछि आन्दोलन थप चर्किएको हो । त्यसपछि वितरण विभागका कर्मचारीले शनिबार पत्रिकाभित्र एक अपील राख्दै पर्चा पनि बाँडे । उनीहरुले कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको अवस्था दिनानुदिन नाजुक बन्दै जानु दुर्भाग्य भएको’ भन्दै दबाबमा सहयोगको अपील गरेका छन् ।

त्यसअघि पब्लिकेसन्समा सक्रिय विभिन्न चार संघ-संगठनले सात बुँदे माग अघि सारेका थिए । मागमा कामदारको न्युनतम पारिश्रमिक २४ हजार ३७५ कायम हुनुपर्नेसहितका सात बुँदा रहेका छन् ।

यस्ता छन् सातबुँदे माग 
348357203_6257608367652095_5323328341525733875_n1690194408.jpg

आन्दोलनमा उत्रिएका श्रमिकले शनिबार कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको निवास घेराउ गरेका छन् । यता कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आफ्ना प्रकाशनहरूको वितरणमा भएको अवरोधले नागरिकको सूचना पाउने अधिकार खोसिएको बताएको छ ।

पब्लिकेसन्सको प्रतिराेध

‘कान्तिपुर दैनिक’ र ‘द काठमाडौं पोस्ट दैनिक’ को वितरणमा कर्मचारीले अवरोध गरेपछि पब्लिकेसन्सले सूचना पाउने नागरिकको अधिकार खण्डित भएको बताएको छ ।

कान्तिपुर संघर्ष समितिले आइतबार दुवै दैनिकको वितरण रोकेपछि पब्लिकेशन्सले विज्ञप्ति जारी गरेको थियो । पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले विज्ञप्ति जारी गर्दै यस्तो कदम संविधानमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र उपभोक्ता अधिकारविरुद्ध भएको उल्लेख गरेका छन् ।

उनले पत्रिका वितरण गर्न तयार जनशक्तिलाई धम्की दिने, बीच बाटोमा अवरोध खडा गरी नियन्त्रणमा लिएर पत्रिका फालिदिनेजस्ता काम भएको बताएका छन् ।

“आफ्नो कर्तव्य पूरा गर्न खोज्ने श्रमिक तथा व्यवस्थापनका अधिकारीहरूमाथि गाली बेइज्जती गर्ने, हुलहुज्जत गर्ने र धम्क्याउने प्रवृत्तिविरुद्ध पनि कान्तिपुर पब्लिकेसन्स कठोर कानुनी कदमको प्रक्रियामा छ । त्यस्ता व्यक्ति संस्थाभित्र वा बाहिरका जोसुकै भए पनि कानुनी रूपमा उत्तरदायी बनाइनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि बहानामा सञ्चार प्रवाह अवरुद्ध गर्न नपाइने संवैधानिक प्रबन्धलाई चुनौती दिने काम कान्तिपुर पब्लिकेसन्सको मात्रै चिन्ताको विषय नभएर नेपाली प्रेस जगत, नागरिक समाज, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल र समग्रमा नेपाली जनताको पनि सरोकारको विषय भएको विज्ञप्तिमा जनाइएको छ ।

देशको नाजुक औद्योगिक तथा आर्थिक अवस्थाका कारण समग्र नेपाली सञ्चार जगतमा परेको प्रभाव आफूमा पनि परेको पब्लिकेसन्सले उल्लेख गरेको छ ।  केही वर्षयता पब्लिकेसन्स निरन्तर आर्थिक घाटामा रहेको उल्लेख गरिएको विज्ञप्तिमा बजारको मागअनुसार वितरण विभागका कर्मचारी घटबढ हुनु नियमित र स्वाभाविक प्रक्रिया भएको स्पष्ट पारिएको छ ।

कुनै स्थायी कर्मचारीले स्वेच्छा वा समझदारीले बिदा हुन चाहे कानुनअनुसार सम्पूर्ण सुविधा पाउने उल्लेख गरिएको पब्लिकेसन्सको विज्ञप्तिमा करारमा रहेका कर्मचारीका हकमा भने करारकै कानुन लागु हुने पनि जनाएको छ ।

kmg 11690194414.jpg

kmg21690194414.jpg

kmg31690194416.jpg

 

यता कान्तिपुर संघर्ष समितिले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ । आन्दोलनमा साथ दिइरहेका श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले आफूहरु अहिलेसम्म शान्तिपूर्ण आन्दोलनमा रहेको र श्रमजीवीलाई कानुनअनुसारको व्यवहार गर्नमात्रै आग्रह गरेको बताए ।

“हामीले जनताको सूचना पाउने अधिकारलाई कुण्ठित गरेका होइनौँ,” उनले भने, “भोको पेटमा पत्रिका वितरण गर्न नसेकेको मात्रै हो ।”

उनका अनुसार शान्तिपूर्ण आन्दोलनमा माग पूरा नगरिए कडा आन्दोलनमा जाने योजना छ । “अहिलेसम्म हामीले कुनै कुरामा अवरोध गरेका छैनौँ,” उनले भने , “आन्दोलनसँगै हामी वार्तामा पनि बस्न तयार छौँ भनेका छौँ तर सुनुवाई भएन भने यो भन्दा कडा आन्दोलनको विकल्प छैन ।”

कान्तिपुर स्रोतले दिएको जानकारीअनुसार अहिले वितरण विभागमा कर्मचारी कटौती गरिएको छ भने पत्रकारहरुको संख्या पनि घटाउने तयारी छ । “अहिले विभिन्न जिल्लामा रहेका केही पत्रकारलाई स्ट्रेन्जर गराइएको छ,” स्रोतले भन्यो, “१० जना जिल्ला संवाददाताको सरुवा गरिएको छ । उपत्यकाभित्र रहेका केही पत्रकारलाई अवकास दिने तयारी छ ।”

स्रोतका अनुसार ३८ जना पत्रकारलाई बिदा गर्ने तयारी कान्तिपुर पब्लिकेसन्सले गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:१०

Kantipur condemns disruption in distribution of its newspapers

Kantipur Publications Limited has clarified that the obstruction in the distribution of its newspapers Kantipur and The Kathmandu Post has violated citizens’ right to information and that such actions are thus legally punishable.

Chief Executive Officer (CEO) of Kantipur Publications Mahesh Swar, issuing a statement after the disruption in the distribution of the two dailies on Sunday, said that such acts violated the freedom of expression, the right to information and consumer rights enshrined in the constitution.

He said this challenge to free speech concerns not just Kantipur Publications but the Nepali press fraternity, the civil society, the political parties that believe in democracy and the Nepali people at large.

Swar stressed that the constitution of Nepal guarantees the right to expression and information as fundamental rights. Even the state cannot block the publication, transmission and distribution of electronic and print media under any pretext, he said.

“But unfortunately, Kantipur Publications has been forced to inform all concerned bodies and readers that the published copies of Kantipur and The Kathmandu Post have been seized and thrown away, torn, or dumped in one place, while the publication’s manpower that was ready to distribute the newspapers was physically threatened.”

The Publications said that confiscation of published copies of the two newspapers has caused irreparable damage to the physical property and reputation of the media house as well as the right to information of customers who have secured the information service by paying in advance.

The Publications also divulged the steps being taken to manage its human resource.

“Kantipur Publications respects all laws of the land. The country’s fragile economic situation has affected the whole Nepali media fraternity. In light of the continuous financial losses of the publishers in the past few years, staff reduction is a regular and natural process. But there is also no policy or plan to illegally dismiss any employee associated with the organisation,” the statement added.

According to the Publications, a permanent employee will get all the benefits according to the law, whether they leave voluntarily or by agreement, while the law of the contract will apply to the employees hired on contract basis.

“The issue of whether or not to sign another contract with the employees appointed for a certain period, after the expiry of that period, is a matter of legal freedom on the part of both the organisation and the individual,” the statement said.

If there is a disagreement on any matter, the publications will respect the right of the employees to have a formal disagreement. However, there can be no doubt that that process should also be in accordance with established labour laws. There is a provision in the law that any such concern should come through the official trade union and if there is no official trade union, a written demand can be made on behalf of 60 percent of the employees of the organisation.

As the organisation is unable to identify the mechanism called ‘Kantipur Joint Struggle Committee’, correspondence has been sent to the press registrar’s office for its resolution, the statement issued by CEO Swar said.

Kantipur Publications reminded its employees that they have a legal obligation to fulfil the defined duties. The hard work of management and hundreds of journalists had been undermined by taking possession of physical newspapers, tearing them up, and piling them in one place, the statement said. “Also, according to Article 44 of the constitution, it is against the fundamental rights of consumers. Therefore, the concerned persons will be held legally accountable.”

Kantipur Publications is in the process of taking strict legal action for insulting and threatening the workers and management officials who are trying to fulfil their duties. Such persons will be held liable for their actions whether they are inside or outside the organisation.

Arguing that media and newspapers are essential services for every person, the Publications cited the notification issued by the Ministry of Home Affairs six years ago to classify the communication sector as an essential service, banning service disruption. “I would also like to remind you that discouraging those who obstruct essential services is a responsibility of a civilised society,” the statement said.

Expressing regret at the obstacles to newspaper distribution, the Publications said: “Our system does not envisage a situation where the citizen’s right to information is hindered under any circumstances. Communication is the lifeline of democracy and Kantipur Publications will not be deterred by any attempts to stifle it. Aware of its duties and responsibilities, Kantipur Publications will not falter in its commitment,” the statement said.

‘सञ्चारको हक र उपभोक्ता अधिकार खण्डित’

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडले आफ्ना प्रकाशन कान्तिपुर र द काठमान्डु पोस्टको वितरणमा अवरोध भएको जनाउँदै यस्तो कदमले संविधानमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र उपभोक्ता अधिकारको उल्लंघन भएको बताएको छ । पत्रकारितासम्बद्ध संस्थाका अगुवाहरूले पनि मिडिया उद्योग धराशायी पार्ने यस्ता कदमले लोकतन्त्र र आम श्रमिकलाई नै बढी क्षति पुर्‍याउने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन् ।

‘कान्तिपुर संघर्ष समिति’ का नाममा आइतबार दुवै दैनिकको वितरणमा अवरोध भएपछि पब्लिकेशन्स्ले विज्ञप्ति जारी गर्दै संविधानले सुनिश्चित गरेको मौलिक हक खण्डित भएकोमा दुःख व्यक्त गरेको छ ।

‘संविधानले अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको सर्वविदितै छ । कुनै पनि बहानामा विद्युतीय तथा छापा माध्यमको प्रकाशन, प्रसारण र वितरणलाई स्वयम् राज्यले पनि अवरोध गर्न नसक्ने गरी धारा २७ ले सञ्चारको हक सुनिश्चित गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर दुःखका साथ कान्तिपुर पब्लिकेशन्स् सबै सरोकारवाला निकाय तथा पाठकलाई जानकारी गराउन बाध्य भएको छ– प्रकाशित प्रतिहरू बीचबाटोमै कब्जा गरेर फालिदिने, च्यातिदिने, घर लग्ने, एकै ठाउँ जम्मा गरेर थन्काइदिने र पत्रिका वितरण गर्न तयार जनशक्तिलाई धम्की दिने काम भएको छ, यसले पब्लिकेशन्स्का प्रकाशनको वितरण वाधित भएको छ ।’

कुनै पनि बहानामा सञ्चार प्रवाह अवरुद्ध गर्न नपाइने संवैधानिक प्रबन्धलाई चुनौती दिने काम भएको उल्लेख गर्दै विज्ञप्तिमा यो चिन्ता कान्तिपुरको मात्र नभएको उल्लेख छ । ‘यो नेपाली प्रेस जगत्, नागरिक समाज, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल र समग्रमा नेपाली जनताको पनि सरोकारको विषय हो,’ विज्ञप्तिमा छ, ‘कुनै पनि परिस्थितिमा सूचना पाउने नागरिक अधिकार खण्डित हुने अवस्था हाम्रो व्यवस्थाले परिकल्पना गरेको छैन ।’

कान्तिपुर पब्लिकेशन्स्ले कान्तिपुर दैनिक र द काठमान्डु पोस्टका प्रकाशित प्रतिहरू कब्जा गर्ने प्रवृत्तिले सञ्चारगृहको भौतिक सम्पत्ति र प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याएको जनाएको छ । ‘र, अग्रिम रकम तिरेर सूचनाको सेवा सुनिश्चित गरेका ग्राहकको सञ्चारको हक पनि हरण गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पब्लिकेशन्स्ले जनशक्ति व्यवस्थापनका विषयमा लिएका कदमहरू कानुनभन्दा बाहिर गएर नगरेको जनाएको छ । कान्तिपुर पब्लिकेशन्स् देशका सबै कानुनलाई आदर र पालना गर्दै सञ्चालन हुँदै आएको र देशको नाजुक औद्योगिक तथा आर्थिक अवस्थाका कारण समग्र नेपाली सञ्चार जगत्मा परेको प्रभाव आफूमा पनि परेको पब्लिकेशन्स्ले उल्लेख गरेको छ । केही वर्षयता निरन्तर आर्थिक घाटा बेहोर्दै आएकाले बजारको मागअनुसार वितरण विभागका कर्मचारी घटबढ हुनु नियमित र स्वाभाविक प्रक्रिया भएको भनाइ छ । ‘यद्यपि संस्थामा आबद्ध कुनै पनि कर्मचारीलाई गैरकानुनी रूपमा बिदा गर्ने नीति र योजना नभएको स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

कुनै स्थायी कर्मचारीले स्वेच्छा वा समझदारीले बिदा हुन चाहे कानुनअनुसार सम्पूर्ण सुविधा पाउने उल्लेख गर्दै पब्लिकेशन्स्ले करारमा रहेका कर्मचारीका हकमा भने करारकै कानुन लागू हुने दाबी गरेको छ । ‘निश्चित अवधि नै तोकेर नियुक्त गरिएका कर्मचारीलाई उक्त अवधि सकिएपछि अर्को करार गर्ने वा नगर्ने विषय संस्था र व्यक्ति दुवैतर्फको कानुनी स्वतन्त्रताको विषय हो,’ विज्ञप्तिमा छ, ‘यस्तो अवस्थामा दुवैतर्फबाट लिनु/दिनुपर्ने दायित्व पूरा गरेपछि एकअर्काबाट स्वतन्त्र हुने मात्र होइन, कानुनअनुसार सेवासुविधा तथा अतिरिक्त क्षतिपूर्तिको व्यवस्थासमेत पब्लिकेशन्स्ले गर्दै आएको छ, यो प्रक्रिया जारी रहनेछ ।’

कुनै पनि विषयमा असमझदारी भए विधिवत् असहमति राख्ने कर्मचारीको अधिकारलाई सम्मान गर्ने पब्लिकेशन्स्ले जनाएको छ । ‘तर, त्यो प्रक्रिया पनि स्थापित श्रम कानुनअनुसार हुनुपर्छ भन्नेमा दुईमत हुन सक्दैन । कुनै सरोकार राख्दा आधिकारिक ट्रेड युनियनमार्फत आउनुपर्ने र कुनै कारणले आधिकारिक ट्रेड युनियन नभएको अवस्थामा संस्थाका ६० प्रतिशत कर्मचारीका तर्फबाट लिखित माग राख्न सकिने व्यवस्था कानुनमा छ । ‘तर, कान्तिपुर संयुक्त संघर्ष समिति भनेर कतै पनि दर्ता नभएको संयन्त्रलाई पहिचान गर्न संस्था असमर्थ भएकाले यसको निराकरणका लागि प्रेस रजिस्ट्रारको कार्यालयमा पत्राचार गरिएको छ,’ सीईओ स्वाँरद्वारा जारी विज्ञप्तिमा छ ।

असमझदारी भएका बेला प्रेस रजिस्ट्रार कार्यालयले आफ्नो भूमिका पूरा गर्ने स्पष्ट व्यवस्था भएकाले कानुनबमोजिम हुने पहल र प्रक्रियामा कान्तिपुर पब्लिकेशन्स् प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ । आफ्ना सरोकारका विषयमा विधिवत् विषय राख्ने मात्र होइन, परिभाषित कर्तव्य पूरा गर्नु पनि हरेक कर्मचारीको कानुनी दायित्व रहेको पब्लिकेशन्स्ले स्मरण गराएको छ

‘तर व्यवस्थापन, सयौं श्रमजीवी सञ्चारकर्मी तथा श्रमिकले रातदिनको मिहिनेतपछि तयार पारेको पत्रिका घरघरमा पुर्‍याउने जिम्मेवारी पूरा नगरी बीचबाटोमा खोस्ने, कब्जामा लिने, च्यातेर फाल्ने, घर लग्ने तथा एकै ठाउँ थुप्रो लगाउने प्रवृत्ति श्रमको अवमूल्यन हो, गैरव्यावसायिक र गैरकानुनी हो,’ विज्ञप्तिमा छ, ‘तोकिएको ठाउँमा पत्रिका नपुर्‍याई पब्लिकेशन्स् र ग्राहकको सम्पत्तिमा हानि पुर्‍याउनु कानुनी रूपमा दण्डनीय हो । साथै, संविधानको धारा ४४ अनुसार उपभोक्ताको मौलिक अधिकारविरुद्ध पनि हो । त्यसैले सम्बन्धित व्यक्तिहरूलाई कानुनी रूपमा जवाफदेही बनाइनेछ ।’

आफ्नो कर्तव्य पूरा गर्न खोज्ने श्रमिक तथा व्यवस्थापनका अधिकारीहरूमाथि गाली बेइज्जती गर्ने, हुलहुज्जत गर्ने र धम्क्याउने प्रवृत्तिविरुद्ध पनि कान्तिपुर पब्लिकेशन्स् कठोर कानुनी कदमको प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता व्यक्ति संस्थाभित्र वा बाहिरका जोसुकै भए पनि कानुनी रूपमा उत्तरदायी बनाउने कुनै सम्झौता नगर्ने पब्लिकेशन्स्को धारणा छ । सञ्चारमाध्यम तथा पत्रपत्रिका प्रत्येक व्यक्तिका लागि अत्यावश्यक सेवाअन्तर्गत पर्ने उल्लेख गर्दै पब्लिकेशन्स्ले नेपाल सरकार गृह मन्त्रालयले २०७४ मा जारी गरेको सूचनाले समेत सञ्चार क्षेत्रलाई अत्यावश्यक सेवामा वर्गीकरण गरी सेवा अवरोधमा प्रतिबन्ध लगाएकोबारे स्मरण गराएको छ । ‘अत्यावश्यक सेवा अवरोध गर्नेहरूलाई निरुत्साहित गर्नॅ सभ्य समाजको स्वाभाविक दायित्वभित्र पर्ने पनि स्मरणीय छ,’ विज्ञप्तिमा छ ।

प्रकाशनहरूको वितरण वाधित भएकामा दुःख व्यक्त गर्दै पब्लिकेशन्स्ले भनेको छ, ‘कुनै पनि परिस्थितिमा सूचना पाउने नागरिक अधिकार खण्डित हुने अवस्था हाम्रो व्यवस्थाले परिकल्पना गरेको छैन । सञ्चार लोकतन्त्रको जीवनरेखा हो, त्यसलाई कुण्ठित गर्ने कुनै पनि प्रवृत्तिबाट कान्तिपुर पब्लिकेशन्स् हतोत्साही हुनेछैन । आफ्नो कर्तव्य र दायित्वप्रति सचेत कान्तिपुर पब्लिकेशन्स् आफ्नो प्रतिबद्धतामा निरन्तर अघि बढिरहनेछ ।’

यस विषयमा पत्रकार महासंघका वर्तमान तथा पूर्वअधिकारीहरूले पनि विरोध जनाएका छन् । महासंघ अध्यक्ष विपुल पोखरेलले कुनै पनि क्षेत्रले सूचना पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने बताएका छन् । ‘मिडिया हाउसले सञ्चारकर्मी वा कुनै पनि क्षेत्रका श्रमिकको श्रम शोषण गर्न नहुनेमा म प्रस्ट छु । तर सूचना प्रवाहमा पनि कुनै हिसाबले रोक लगाउन हुँदैन,’ उनले भने, ‘सूचना प्राप्त गर्ने नागरिक अधिकार सुरक्षित हुनुपर्छ ।’

महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले मिडिया उद्योग धराशायी भएमा त्यसले पार्ने क्षति लोकतन्त्र र आम श्रमिकलाई नै बढी हुने भन्दै पत्रिका वितरणमा भएको अवरोधको घटनाप्रति विरोध जनाएका छन् । ‘मिडिया उद्योगभित्रको श्रम विवादमा आम जनताको सुसूचित हुन पाउने अधिकारलाई आघात नपुग्ने गरी मात्रै विरोध कार्यक्रम गर्नॅपर्छ,’ उनले भने, ‘पत्रिका वितरणलाई अवरोध गरेर होइन, आफ्नो श्रम अधिकारका लागि कानुनी संघर्षको बाटो अवलम्बन गर्नेतर्फ ट्रेड युनियनले ध्यान दिनुपर्छ । श्रमिक संगठनहरूले सौदाबाजीको क्षमताद्वारा आफ्ना माग पूरा गराउन ध्यान दिनुपर्छ ।’

सरकारले सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन् । उनले आमसन्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि पहल गरिरहेको बताइन् ।

बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका सवालहरुको जवाफमा मन्त्री शर्माले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको छ । विश्वमा विकसित नवीनतम प्रविधिको प्रयोग गर्दै समृद्धिको लक्ष्य प्राप्ति गर्नुपर्ने अवस्था छ । आगामी आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरू गुणस्तरको सुनिश्चिततासहित समयमै सम्पन्न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम बढेको भन्दै डिजिटल साक्षरता प्रवद्धन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्ने कार्यमा सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।

उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्‌मा लैजाने तयारी अन्तिम चरणमा पुगेको बताइन् । त्यस्तै, मुलुकका सबै वडामा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

मिडिया खुम्चिँदा फुल्दैन लोकतन्त्र

जनजिब्रोमा झुन्डिएको ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ’ उखानले धेरै हदसम्म वर्तमान नेपाली मिडियाको नियति झल्काउँछ । ‘१२ भाइ पत्रकार’ को गलत भाष्यको सिकार बनेको नेपाली मिडिया उही ओरालो लागेको मृगकै मनोदशामा छ । सम्भवतः अहिलेजत्तिको चरम संकटको चरण नेपाली मिडियाले यसअघि कहिल्यै खेपेको थिएन । यतिखेर मिडियालाई मूलतः दुई थरी संकटले घेरेका छन् । एउटा, विश्वासको संकटÙ अर्को, वित्तीय संकट ।

राज्यको चौथो अंग भनिने मिडिया क्षेत्र संकटग्रस्त बन्दै जाँदा यो मुद्दा खासै कसैको सरोकारको विषय बनिरहेको छैन । न सरकारलाई चासो छ, न राजनीतिक दल, न नेता अनि न त स्वयं मिडिया क्षेत्रका नेताहरूलाई नै । एकपछि अर्को मिडिया ‘आउटलेट’ हरू बन्द भएका छन् । विस्तारित भएर उचाइमा पुगेका मिडियाहरू खुम्चिँदै गएका छन् । सयौं श्रमजीवी पेसाबाट पलायन भएका छन् र अझै कैयौंले त्यही नियति भोग्नुपर्ने अवस्था यथावत् छ । तैपनि, यो मुद्दा सम्बन्धित पत्रकार अथवा सम्बन्धित संस्थाबाहेक अरू कसैको चासोमा परेको देखिँदैन । बरु, मिडिया समुदायको अधोगतिको रमिता हेर्दै कतिपय किनारामा बसेर ‘काखी बजाउन’ उद्यत छन् ।

अझ उदेकलाग्दो त के भने, सामाजिक सञ्जालहरू मिडिया ‘कन्टेन्ट’ र मिडियाकर्मीलक्षित गालीगलौज, सतही र आग्रहप्रेरित टिप्पणीहरूले भरिएका हुन्छन् । ‘१२ भाइ पत्रकारले यसो गरे, उसो गरे’ भन्दै मिडियाकर्मीको हुर्मत नै लिने प्रवृत्ति मौलाएको छ । आलोचनात्मक चेत गुमाएको यो पंक्तिले आवेग र आग्रहमा यसरी दुर्भाव पोख्छ, मानौं मिडियाका कारण नै सब थोक बिग्रिएको हो ।

नेपाली मिडिया क्षेत्र लोकतान्त्रिक प्रणाली फस्टाउनुको महत्त्वपूर्ण मानक हो/मानिन्थ्यो । आज त्यही मिडिया क्षेत्र एक थरी भीडको आँखाको कसिङ्गर बनेको छ । के नेपाली मिडियालक्षित आक्रोश र आवेगहरू न्यायसंगत छन् ? यो क्षेत्रले भोगिरहेको संकट कति यसका आफ्नै कमीकमजोरीले सृजित भएका हुन् ? कति प्रविधिमा आएको विकासका कारण प्रभावित भएका हुन् ? र, कति आवेग–आग्रहपूर्ण र सतही सोचबाट प्रेरित भएर गरिएका प्रतिक्रियाहरूका उपज हुन् ? यी केही प्रश्नमाथिको विमर्शमा यो विश्लेषण केन्द्रित रहनेछ ।

सुरु, मिडियाको वित्तीय संकटको सन्दर्भबाट ।

अहिले मिडिया क्षेत्रले भोगिरहेको आर्थिक संकट विश्वव्यापी प्रवृत्तिसँग सन्दर्भित छ । कोरोना महामारीसँगै विश्वभर मिडियाहरू आर्थिक रूपमा प्रभावित हुन थाले । महामारीका कारण समग्र अर्थतन्त्र शिथिल हुँदा विज्ञापन बजार स्वाट्टै घटेपछि मिडिया क्षेत्र प्रभावित हुन थालेको हो । कोरोनाकालमा सुरु भएको मिडिया संकट दिनानुदिन बढ्दै छ । हालै पनि युरोपेली मुलुक अस्ट्रियाको भियनामा ३२० वर्षदेखि निस्कँदै आएको एउटा पुरानो दैनिक अखबार ‘विनर जाइतुङ’ ले प्रिन्ट संस्करण बन्द गरेको छ ।

‘न्यु मिडिया’ को आगमनले उसै पनि प्रिन्ट पत्रकारिता प्रभावित हुँदै थियो/छ, त्यसमाथि कोरोना महामारीले संकट थपिदियो । नेपाली मिडिया जगत् पनि यी सबै घटनाक्रमबाट अछुतो रहन सकेन । श्रमजीवी पत्रकारहरूको रोजगारी गुम्नेदेखि विभिन्न मिडिया ‘आउटलेट’ हरू बन्द हुनेसम्मका घटना महामारीकै क्रममा भए । महामारीको केही समयपश्चात् तंग्रिन थालेको मिडिया क्षेत्र फेरि आर्थिक मन्दीको चपेटामा परेको छ । यो संकटपूर्ण अवस्थाले एकातिर श्रमजीवी पत्रकारहरूलाई असुरक्षित र भयभीत बनाएको छ भने अर्कातर्फ मिडिया उद्यमीहरूलाई वर्षौं लगाएर कमाएको साख र संस्था जोगाउने चुनौती थपिदिएको छ ।

आर्थिक संकटले नेपाली मिडिया जति त्राहिमाम् भएको छ, त्योभन्दा चिन्ताको विषय हो— यसप्रतिको विश्वसनीयताको प्रश्न । चिन्ता किन पनि भने, मिडिया कम विश्वसनीय हुनु भनेको थप कमजोर हुनु हो र त्यस्तो अवस्थामा नागरिकका हक–अधिकार कुण्ठित हुने मात्रै होइन, विस्तारित ‘पब्लिक स्फेयर’ संकुचित हुने जोखिम पनि बढ्छ । २०४६ सालपछिको खुला राजनीतिक परिवेशसँगै नेपाली मिडिया क्षेत्रको विकास र विस्तारले ‘पब्लिक स्फेयर’ को दायरा फराकिलो बनाउँदै लगेको छ । मिडियाप्रतिको विश्वासको संकट बढ्दा त्यो ‘पब्लिक स्पेयर’ साँघुरिँदै लोकतान्त्रिक मूल्य पद्धतिमै आँच आउन सक्छ ।

तर, के नेपाली मिडिया सामाजिक सञ्जालहरूमा गरिने टिप्पणीहरूजस्तै अविश्वसनीय भइसकेको हो ? के जनमत निर्माणमा महत्त्वपूर्ण मानिएको मिडियाको भूमिका अब कमजोर भएकै हो ? सम्पूर्ण मिडिया/मिडियाकर्मीलाई एउटै डालोमा हालेर मानमर्दन गर्नु कति न्यायोचित हो ?

यो कत्ति पनि न्यायोचित छैन । संकटको यो समयमा पनि मूलधारको नेपाली मिडियाले लोकतान्त्रिक चरित्र छोडेको छैन । लोकतान्त्रिक मूल्य पद्धतिको संरक्षण र सुशासनको मुद्दामा मिडिया खरो उत्रिएको छ । विधि मिचेर सर्वसत्तावादतर्फ उन्मुख नेतृत्वको अहम्मा नत्थी लगाउनेदेखि भ्रष्टाचार र अनियमितताका मुद्दाहरू खोतलेर अभियुक्तहरूलाई कानुनी कठघरामा ल्याउन बाध्य पार्ने काम मिडियाले गर्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा अरू जति पनि भ्रष्टाचारका मुद्दाहरू सामुन्नेमा आएका छन्, तिनमा लुकेको तथ्य उजागर गर्दै गृह प्रशासनमाथि जबर्जस्त दबाब सृजना गर्ने काम मिडियाले गरेको छ ।

यसो भनिरहँदा मिडिया क्षेत्रका अँध्यारा पाटाहरू (डार्क साइड) नभएका होइनन् । पत्रकारिता वृत्तबाटै मिडियाका काला पक्षहरूमाथि अनेक प्रश्न उठ्ने गरेका छन् । नेपाली मिडिया गुणस्तर बढाउनेभन्दा जसरी संख्या थप्ने दौडमा छ, त्यसले गर्दा यसको विश्वसनीयतामा आँच आएको छ । ‘न्यु मिडिया’ को आगमनसँगै जसरी न्युज पोर्टलको बाढी आएको छ, त्यसबाट सत्यतथ्य उजागर गर्नेभन्दा आम जनतालाई ‘मिस इन्फर्म’ गर्ने जोखिम र चुनौती बढेको छ । च्याउझैं उम्रिएका मिडियामा भएका लगानीको पारदर्शिता अर्को गम्भीर प्रश्न हो । त्यस्तै, मिडियाको आडमा अर्थोपार्जनमा सक्रिय ‘बिचौलिया’ हरू यस क्षेत्रका काला धब्बा नै हुन् । अपारदर्शी लगानीको आडमा यो पेसालाई बार्गेनिङ औजार बनाउने, मिडियाको आडमा अनेक स्वार्थको खेती गर्नेहरूका कारण मिडिया क्षेत्र बदनाम छ । अझ राजनीतिक दल र नेताविशेष वा व्यक्ति/व्यापारीविशेषप्रति जवाफदेह कतिपय मिडियाकर्मीका कारण यसको व्यावसायिकताको मानमर्दन भएको यथार्थ नै हो ।

यसका बावजुद अलि फराकिलो चस्माबाट नेपाली मिडियाको भूमिका र यसको विश्वसनीयता हेर्दा, उज्याला पक्षहरू पनि देखिन्छन् । नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतन्त्रको उदय र सुदृढीकरणमा मिडियाको अहम् भूमिका कसैले नकार्न नसक्ने स्थापित तथ्य हो । नेपालमा मिडिया अभ्यास मूलतः राजनीतिक आन्दोलनहरूमा सहायक भूमिका निर्वाह गर्ने उद्देश्यबाट प्रेरित भएर सुरु भएको थियो । निरंकुशतन्त्र र अधिनायकवादविरुद्ध पैरवी गर्दै जनमत बनाउन ‘मिसन पत्रकारिता’ ले जोखिम मोलेरै अघि बढ्यो, जनतालाई सुसूचित गर्ने काम गर्‍यो, आन्दोलनका पक्षमा जनमत बनायो । निरंकुश पञ्चायति व्यवस्थामा एकातिर व्यवस्थाको पृष्ठपोषक मिडिया थियो भने अर्कातिर दलहरूसँगै प्रजातन्त्रप्राप्तिको आन्दोलनमा होमिएका मिसन पत्रकारहरू थिए, जसले पत्राकरिता गरेकै कसुरमा जेलनेल भोगे, कतिलाई निरंकुशतन्त्रले गोली नै ठोक्यो ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएर राजनीतिक परिवेश खुला भएसँगै मिडिया क्षेत्र फल्न–फुल्न सुरु भयो । मिडियामा निजी लगानी भएसँगै यो व्यावसायिक बाटामा अघि बढ्यो । रंगीन कलेवरका ब्रोडसिट, टेब्लोइड र म्यागजिनहरू निस्किन थाले । आम सञ्चारजगत्मा छापा पत्रकारिताको एकाधिकारलाई तोड्दै निजी क्षेत्रका टेलिभिजन, एफएम स्टेसनहरू, न्युज पोर्टलहरू आउन थाले अर्थात् ‘मिडिया क्रान्ति’ नै भयो । दबिएका, चेपिएका आवाजहरू मिडियाको विस्तारसँगै मुखरित हुन थाल्यो । अर्थात्, ‘पब्लिक स्फेयर’ विस्तारित हुँदै गयो ।

यो विस्तारले विभिन्न तह र तप्काका जनतालाई आफ्नो हक–अधिकारका लागि जागरुक बनायो । तर, २०४६ सालपछि सुरु भएको प्रजातान्त्रिक राजनीतिले बाटो बिराउन थाल्यो । मुलुकले राजनीतिक स्थिरता र स्थायित्व पाएन । कहिले हिंसात्मक राजनीति त कहिले नेताहरूको सत्ताप्राप्तिको खेलका कारण प्रजातन्त्र अस्थिर भइरह्यो । सत्तामुखी राजनीति, भ्रष्ट राजनीतिक नेतृत्वको कुशासनका कारण लोकतन्त्र नै गुम्ने अवस्था आयो । मुलुक फेरि राजशाहीको निरंकुशताको बन्दी बन्यो ।

यी सबै चरणमा नेपाली मिडियाले निर्भीक भएर लोकतान्त्रिक विधि, मूल्य र अभिव्यक्ति स्वतन्त्रताका लागि आफूलाई खरो रूपमा उतार्यो । पञ्चायतकालको मिसन पत्रकारिताको ठाउँमा मूलधारमा स्थापित निजी क्षेत्रको व्यावसायिक मिडियाले निरंकुशतन्त्रविरुद्ध लड्ने जोखिम उठायो । माओवादीको हिंसात्मक राजनीतिको विरोध गर्दा कैयौं पत्रकार मारिए, ज्ञानेन्द्रको राजशाहीविरुद्ध उत्रँदा अरू कतिले जेलनेल भोगे, तर पनि नेपाली मिडिया लोकतन्त्रको आन्दोलनमा डट्यो । लोकतन्त्र पुनर्प्राप्तिको जनआन्दोलनमा मात्रै होइन, सीमान्तीकृत समुदायका हक–अधिकार, आन्दोलपछि संविधानसभा, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणका ऐतिहासिक चरणहरूमा मिडियाले अग्रगामी जनमत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।

मिडियाको यो गौरवपूर्ण विगत स्मरण गर्नुको आशय यो पेसा प्रश्न र आलोचनामुक्त हुनुपर्छ भन्ने किमार्थ होइन । मिडिया सञ्चालकहरूका कतिपय कर्पोरेट स्वार्थहरू, यसका त्रुटिपूर्ण कर्महरूप्रति गम्भीर प्रश्नहरू उठ्नु जरुरी छ । राजनीति, प्रसासनयन्त्र वा अरू क्षेत्रजस्तै मिडिया क्षेत्रका कैयौं पक्षमाथि निर्मम समीक्षा र यसको शुद्धीकरण आवश्यक छ । यो सच्चिनुपर्छ । तर, जसरी अहिले मिडिया/मिडियाकर्मीलाई लक्षित गरेर सामाजिक सञ्जाल वृत्तमा आवेग, आक्रोश अनि घृणाभाव फैलाउने दुस्प्रयास भएको छ, त्यो आग्रही, सतही र विवेकहीन छ ।

मिडिया क्षेत्र, खास गरी छापा माध्यम विश्वव्यापी रूपमै खुम्चँदै गएको छ । उसै पनि साधनस्रोत र जनशक्तिको अभाव खेपिरहेको नेपाली मिडियासमेत यसबाट प्रभावित छ । यति बेला मिडियाका बहुस्रोतहरूको आगमनसँगै परम्परागत मिडियाहरू गम्भीर संकटको चरणमा छन् । सीमित साधनस्रोत, न्यु मिडियाको विज्ञताको सीमितता, बजारको सीमितता, लक्षित वर्गको रुचिमा आएको बदलाव आदि कारणले परम्परागत मिडियाले आफूलाई पुनर्परिभाषित गर्नु जरुरी देखिएको छ । समयक्रमसँगै आफूलाई परिष्कृत गर्दै लैजाने चुनौती नेपाली मिडियासामु छ । यद्यपि यसको महत्त्व र भूमिका कम भएको छैन । बरु, मिडियाको दायित्वचाहिँ बढेर गएको छ ।

सूचना र प्रविधिको विकाससँगै आम पाठक/श्रोता/दर्शकका लागि मिडियाका बहुस्रोतहरू उपलब्ध छन् । उपभोक्तालाई यसले विकल्प–छनोटको अवसर दिएको छ तर सँगै गलत र भ्रमपूर्ण सूचनाको बाढी आएको छ । गलत सूचनाको बाढी आइरहँदा के विश्वासिलो मिडिया समाजलाई चाहिँदैन ? कुन सूचना सही र कुन गलत भनी छुट्याउन कठिनाइ परेको मात्रै होइन, समाज नै ‘मिस इन्फर्मेसन’ ले पीडित हुँदै गएको छ । र, यो लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय हो ।

लोकतान्त्रिक समाज फल्न र फुल्न सबै खाले विचारको बहस हुने फराकिलो ‘पब्लिक स्फेयर’ को खाँचो पर्छ । त्यस्तो खाँचो पूर्ति निष्पक्ष र व्यावसायिक मिडियाले मात्रै गर्न सक्छ । निष्पक्ष र व्यावसायिक मिडियाले नै शासक वर्गको हरेक काम र कर्तुतको निगरानी गरिरहेको हुन्छ । अनि जनताको सूचना पाउने अधिकारको पैरवी पनि यसैले गर्ने हो । बेलायती पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले भनेजस्तो, ‘पत्रकारिताले चौबीसै घण्टा नसुती जनताको स्वतन्त्रता रक्षका लागि अभिभावकको भूमिका निर्वाह गरिरहेको हुन्छ ।’

तर, आज यो पेसाको व्यावसायिकता संकटमा छँदा कसैलाई चासो छैन । कतिसम्म भने, ‘खोलो तर्यो लौरो बिर्स्यो’ भनेझैं पत्रकारिताको आडमा छवि निर्माण गरेर पद र शक्ति आर्जन गर्नेहरूसमेत अहिले मिडियालक्षित आक्रोश ओकल्दै मिडियाविरोधी भाष्य बनाउन तल्लीन छन् । अरू राजनीतिकर्मीको के कुरा, पत्रकारिता हुँदै संसद् पुगेका ‘सांसद् पत्रकार’ को कार्यसूचीमा पनि नेपाली मिडियाको संकटमोचन, यसको सुधार र समृद्धिको मुद्दामा विमर्श कहीँकतै प्राथमिकतामा पर्दैन । लोकतन्त्रको पहरेदार मिडिया संकटले घेरिँदा राष्ट्रिय विमर्शको विषय नबन्नु विडम्बना हो ।

भारतका एक जना चर्चित टेलिभिजन पत्रकार रवीश कुमारको चर्चित भनाइ यहाँनेर स्मरणयोग्य छ, ‘एक डरा हुआ पत्रकार मरा हुआ नागरिक पैदा करता है ।’ तर, मिडिया नै कमजोर हुँदा र खुम्चिँदा के होला ? के मिडियाविहीन समाजमा नागरिक अधिकार र लोकतन्त्र जीवन्त होला ? मिडियालाई सिँढी बनाएर सत्तासीन भएका र लोकरिझ्याइँमा रमाइरहेकाहरू बेलैमा ब्युँझिऊन् ।

प्रकाशित : असार १८, २०८० ०७:२८

‘मिडिया साक्षरता’ आवश्यक

‘मिडिया साक्षरता’ साक्षरताको एक विस्तारित अवधारणा हो । यस अन्तर्गत मिडिया सन्देशहरू पहुँच र विश्लेषण गर्ने क्षमताका साथै सिर्जना, प्रतिविम्बित र कारबाही गर्ने क्षमता समावेश हुन्छ । यसमा सञ्चारकर्मी भन्दा पनि पाठक तथा जनतामा सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सम्पादकीय, लेख, आलेख आदिले विचार निर्माणको कस्तो भूमिका खेल्छ र एउटै सन्देशबाट मानिसमा कस्तो बुझाइको विकास हुन्छ र उनीहरूले के धारणा निर्माण गर्छन् भन्ने कुराको बोध हुन्छ ।

आमसञ्चारप्रति साक्षर हुनु भनेको समाचार कथा पनि वस्तुनिष्ठ नहुन सक्छ भन्ने तथ्यमा जागरुक हुनु हो । त्यस्तो समाचार पनि मत वा पूर्वाग्रह राखिएको धारणासहितको, अपुरो र सत्यबाट टाढिएको हुन सक्छन् । त्यसैले मिडिया साक्षरता मिडियाका विषयवस्तु वा सन्देशलाई बुझ्ने, विश्लेषण गर्ने क्षमता हो । मिडिया साक्षरता अभियान २० औँ शताब्दीको मध्यदेखि पश्चिमा देशबाट थालनी भएको हो । मिडियामा प्रकाशन तथा प्रसारण भएका सबै सन्देश आम पाठक, दर्शक तथा श्रोताले सहजै पत्याइहाल्दैनन्, विश्वास गरिहाल्दैनन् । उनीहरूले ती सामग्रीमाथि आफ्नै तरिकाले अर्थ लगाउँछन्, विश्लेषण गर्छन् अनि मात्र बुझ्छन् । सञ्चार माध्यमबाट आएका सन्देश ग्रहण गर्ने क्षमतामा मानिसको शैक्षिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक आदि अवस्थाले पनि प्रभाव पार्ने तथा निर्धारण गर्ने गर्छ ।

अहिले आमसञ्चार माध्यम जीवनको अभिन्न अङ्ग बनिसकेको छ । त्यसैले यसले सम्प्रेषण गरेका र उत्पादन गरेका सामग्री लेखाजोखा हुनु महत्वपूर्ण हुन्छ । मिडियाले मनोरञ्जनका नाममा सस्तो मनोरञ्जन, गलत प्रचार एवं प्रोपागन्डा पनि फैलाउन सक्ने कुरालाई विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । मिडियालाई दुरुपयोग गर्न सक्ने तथ्यलाई मनन गरेर नै मिडिया साक्षरताको सन्दर्भ र यसको महत्वबारे आवाज उठ्ने गरेको हो ।

मिडिया साक्षरत श्रोताको शैक्षिक स्तर र बुझाइमा पनि भर पर्छ । मिडियाप्रति बढ्दै गएको भरोसा मिडियाले पस्कने सूचना सामग्रीमाथिको विश्लेषणलाई प्रभावित तुल्याउँछ । मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन सम्भावित अडियन्समा पार्ने प्रभावबारे पनि त्यत्तिकै मनन गर्नु जरुरी छ । अहिले मिडियाले दिएको भन्दा पनि कुन मिडियाले र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक र श्रोतागणबाट प्रतिक्रिया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको छ । जति मात्रमा मिडिया साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशलाई मूल्याङ्कन गर्ने क्रम पनि बढ्छ । मिडियाको परनिर्भरता सिद्धान्तले मिडिया अडियन्समा मिडियाले जे सन्देश प्रस्तुत गर्छ त्यसमा पूर्णतया भर पर्छ भन्ने मान्यता राखे पनि मिडिया दुरुपयोग हुने सक्ने खतराबाटै मिडिया साक्षरताको सन्दर्भ उठेको हो ।

जर्मनीका विश्व प्रसिद्ध दार्शनिक कार्ल माक्र्सले भनेका छन् मिडियामा लगानी गर्नेहरू धनी वर्गका हुन्छन् र उनीहरूले आफ्नो विचार, धारणा, दृष्टिकोण र आफ्नो उत्पादनको प्रचारप्रसार गरेर अरूका दिमागमा भरिदिने काम गर्छन् । मिडिया आवाज विहीनहरूको आवाज बनेर समाजसेवी कार्य गर्नुपर्नेमा हिजो आजका मिडिया सन्देश नाफा कमाउने मनसायले वा शक्ति आर्जनका खातिर प्रयोग हुने गरेका छन् ।

मिडियामा पछिल्लो समय विभिन्न निहित स्वार्थ बोकेका व्यापारी समूह, तथा राजनीतिक दलका नेता तथा गुटले मिडियामा लगानी गरेकाले उनीहरूका मिडियाले प्रदान गर्ने सन्देश हामीले गम्भीर भएर बुझ्नु जरुरी हुन्छ । त्यसका लागि पनि आम जनता, पाठक, तथा दर्शकमा मिडिया साक्षरता जरुरत पर्छ ।

मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक, सामाजिक, पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर हुन्छ । व्यक्तिको सचेतना, संज्ञान, धारणा, व्यवहार पनि यसमा कारक तत्व हुन्छ । मिडियाका विषयवस्तु पस्कने शैलीले पनि प्रभाव स्तर मापनलाई प्रभावित तुल्याउँछ । त्यसैले सबै खाले मिडिया, चाहे छापा वा अनलाइन नै किन नहोस् उत्पादित विषयवस्तु कुन स्वार्थ समूहको रुचि र लक्ष्य खातिर प्रयोग हुन सक्छ त्यो मिडिया साक्षरता प्राप्त गर्ने जो कोहीले नजर अन्दाज गर्न सक्छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा मिडिया शिक्षा र मिडिया साक्षरतालाई उच्च शिक्षाको पाठ्यक्रममै राखेर अध्ययन–अध्यापन गर्ने परिपाटीको विकास गर्नेतर्फ पाठ्यक्रम निर्माताहरूले पनि ध्यान दिन थालेकाले यसबाट भविष्यमा मिडिया साक्षरता बढ्ने उद्घोष गर्न सकिन्छ । मिडिया साक्षरताले समालोचनात्मक विचारलाई प्रोत्साहित गर्ने भएकाले कसरी सूचनालाई पुनः जाँच गर्ने र विभिन्न विचारलाई चिन्ने भन्ने सिकाउँछ । त्यसै गरी यसले मिडियालाई जिम्मेवार बन्न सहयोग पु¥याउँछ । मिडिया साक्षरताले सार्वजनिक वा जनसरोकारका विषय र सन्दर्भमा सहभागी बन्न अभिप्रेरित गर्दै कसरी मौलिक वा आफ्नोपनको सामग्री बनाउने भन्ने सिकाउँछ । त्यसै गरी मिडिया साक्षरताले पाठकलाई मिडियाले कसरी हाम्रो संस्कृतिमा आघात पु¥याउँछ भन्नेबारे सुसूचित गर्नुका साथै मिडिया सन्देश कत्तिको समाजमैत्री छ भन्ने बताउँछ । यसले मिडियाको व्यक्तिगत र सामाजिक प्रभावका बारेमा सचेत तुल्याउँदै मिडिया सन्देशको विश्लेषण गर्न र छलफल गर्न सक्ने बनाउँछ ।

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुङ्गा साबित हुने गरी विकास भइसकेको छैन । मिडियाले जे जस्तो सामग्री वा सन्देश उत्पादन गरे पनि त्यसलाई अन्धाधुन्द पालना गर्ने क्रमभन्दा पनि सोच्ने, विश्लेषण गर्ने र विमर्श गर्ने क्रम भने बढेको छ । यस अर्थमा मिडिया साक्षरता बढेको अभास हुन्छ । मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकास खातिर वस्तुगत ढङ्गबाट प्रस्फुटन हुन आवश्यक छ । डिजिटल इन्टरनेट माध्यमका विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तनलाई आत्मसात् गर्नु जरुरत भइसकेको छ । मिडिया संकेन्द्रितपन र डिजिटल साक्षरता नयाँ माध्यमलाई बुझ्ने आधार हुन् ।

लेखक पत्रकारिता एवं प्राध्यापनमा संलग्न हुनुहुन्छ । 

सूचना सदाचार र सूचनाको हक

परिचय

सूचना प्रविधिको विस्तार र प्रयोग सर्वव्यापी हुँदै जाँदा सूचनाको आयतन र कारोवारमा व्यापक बृद्धि भएको छ । सूचनाको स्वामित्व शक्तिको स्रोतका रुपमा लिइन्छ, र लोकतान्त्रिक प्रणालीमा त्यो शक्ति बाँडफाँड गर्ने क्षमता हुन्छ । सूचना स्वतन्त्रताको अनुभूति तब हन्छ जब नागरिकहरूले खुला रूपमा त्यसको आदान प्रदान गर्न सक्छन् । लोकतन्त्र, नागरिकको सक्रिय सहभागितामा निर्भर रहन्छ र सहभागित त्यस प्रणालीप्रति विश्वास र सार्वजनिक हितसँग जोडिएको हुन्छ । यसले नागरिक र राज्यबीचको सामाजिक सम्झौता सम्बन्धलाई दर्शाउँछ भने यसको कसी सही जानकारी र सूचनाको प्रवाहमा निर्भर हुन्छ ।[1]

त्यसैले सूचना सदाचार (Information Integrity)[2] स्वस्थ लोकतन्त्रको महत्वपूर्ण कसीको रुपमा लिइन्छ । पछिल्लो अवस्थामा वस्तुनिष्ठ, तथ्यपरक एवं विश्वसनीय सूचना भन्दा मिथ्या सूचनाको प्रवाह बढ्दै गएकोसन्दर्भमा सरकार र सार्वजनिक महत्वका सूचनाबारे जानकारी दिन सरकारी निकायको जिम्मेवारी र जवाफदेही पक्ष महत्वपूर्ण छ ।

त्यसैले सूचना माथि भरपर्नसक्ने अवस्था वा विश्वसनीयताको अवस्था जसमा सूचनाको विषयवस्तु, प्रक्रिया  र प्रणालीको शुद्धता, स्थिरता  र विश्वसनीयता पक्ष महत्वपूर्ण बन्दै गएका छन् । नेपालको सविधानले सूचनाको हकको प्रत्याभूत र कार्यान्वयन र यसको प्रचलन फराकिलो हुँदै गएको सन्दर्भमा सूचना सदाचारको विषय उत्तिकै महत्वपूर्ण बनेको छ । एकातर्फ नागरिकले सूचना मागे वा नमागे पनि  सार्वजनिक निकायले आफ्ना गतिविधि अध्यावधिक रुपमा स्वत: प्रकाशन गर्नुपर्ने सूचनाको हक सम्बन्धी कानुनले निर्दिष्ट गरेको प्रावधान सन्तोषजनक रुपमा कार्यान्वय भएको पाइदैन । अर्कोतर्फ नागरिकले आफ्नो चासोको विषयमा माग गरेका सूचना कतिपय अवस्थामा सहज ढंगले प्राप्त गर्न सकेका छैनन् । प्राप्त गरेकै सूचनामा भर पर्न नसकिने अवस्था पनि उत्तिकै छ । यसबाट सूचनाको प्रदुषण बढ्नसक्ने, मिथ्या सूचनाको प्रभाव बढ्नेसक्ने जोखिम छ । प्रस्तुत आलेखमा सूचना सदाचारका विभिन्न आयामको चर्चा गर्दै सूचनाको हकको अभ्यास सूचना सदाचारका लागि उपयोगी साधन बन्नसक्ने कुरा मामिला अध्ययन (case study) विधि अपनाएर विश्लेषण गरिएको छ ।

किन सूचना सदाचार ?

सूचना सदाचार भनेको सूचनामा भरपर्नसक्ने अवस्था वा विश्वसनीयता हो । यसले सूचनाको विषयवस्तु, प्रक्रिया  र प्रणालीको शुद्धता, स्थिरता र विश्वसनीयता जनाउँछ । यो त्यस्तो विषय हो जससँग व्यवसाय, सरकार र समाजका हरेक संस्थाको सरोकार रहन्छ । यसले तथ्याङ्क, सूचना प्रणाली, र ग्राहकहरू र तिनीहरूद्वारा प्रभावित संस्थाहरूको आयाम र विशेषताहरू समावेश गर्दछ । सूचना प्रविधिको प्रभाव व्यक्ति र संस्थाहरुको जीवनको लगभग हरेक पक्षमा रहेको हुनाले नयाँ प्रविधि र तिनले प्रशोधन गर्ने तथ्याङ्क र सूचनाहरुको नियन्त्रणको लागि उच्च चिन्ता छन् ।

 

त्यसैले सूचनाको स्वस्थ पारिस्थितिक प्रणाली (healthy information ecosystem) कायम राख्न सूचना सामग्री, प्रक्रिया र प्रणालीको शुद्धता, स्थिरता र विश्वसनीयताद्वारा सूचना सदाचार निर्धारण गरिन्छ । सूचना सदाचारका लागि समसामयिक विषयवस्तु, सरकारी कार्यहरु, राजनीतिक खेलाडी र उनीहरुका धारणा एवं निर्णय प्रक्रियामा भरपर्दो, सन्तुलित र पूर्ण सूचनामा सार्वजनिक पहुँच आवश्यक पर्दछ ।[3] पहुँच र प्रवाहको विषयलाई सूचनाको हक सम्बन्धी अवधारणाले पनि उत्तिकै वकालत गर्दछ ।

तर, संगठनात्मक सूचना प्रणालीमार्फत प्रवाह हुने सूचना र तथ्याङ्क (Data)को विशाल आकारका कारण अनेकखाले जटिलतामा निरन्तर वृद्धि भएको छ । यो बढ्दो क्रमसँगैमिथ्या, विसंगती र समग्र रुपमा विश्वसनीयताको अभावबाट भएका त्रुटिबाट यस्ता सूचना र तथ्याङ्क  प्रभावित छन् । विसंगत वा मिथ्या सूचनाले कुनै पनि व्यवसायलाई भयानक अवस्थामा पुर्याइदिनसक्छ । व्यवसाय, बजार र समाजलाई असर त गर्छ नै, सँगसँगै धनजनको पनि क्षति पुर्याउनसक्छ । । सूचनाको विफलतालाई अहिलेसम्म एक व्यापक, विश्वव्यापी समस्याको रूपमा मानिएको छ, यद्यपि यसले अर्थतन्त्रमा अर्बौ मूल्यको भार पार्दछ ।[4]

स्वास्थ्यसेवा प्रवाह गर्ने संस्था, राज्यको सुरक्षा प्रणाली, यातायत/पारवाहन उद्योग र वित्तीय क्षेत्रमा सूचना सदाचारको निकै महत्व रहन्छ । त्रुटिपूर्ण सूचनाले यी क्षेत्रमा ठूलो संकट आउनसक्छ । वित्तीय संस्थाहरु (बैंक, बिमा, स्टक मार्केट लगायतका लगानी फर्महरु) को कारोवार सफल हुने वा नहुने कुरा सूचना प्रवाह, ठूलो आकारको तथ्याङ्क र उच्च सूचना सदाचारमा निर्भर रहेको हुन्छ । यस्ता संस्थाहरुको तथ्याङ्क संकलन, भण्डारण, तथ्याङ्को प्रयोगमा हेरफेर (manipulation) वा रिपोर्टिङमा त्रुटि भएमा ग्राहक वा सरोकारवालालाई ठूलो क्षती पुर्याउन सक्छ वा अविश्वास पैदा गराउँछ । उदाहरणका लागि नेपालमा कोभिड महामारीको समयमा सरकारी स्वास्थ्य केन्द्रहरुको कमजोर व्यवस्थापन, पूर्वाधार विकास र कोरोना बिमा योजनामा अर्बौ रुपैयाँ गुमाउनु परेको थियो । अस्पतालमा स्वास्थ्यकर्मी कै लागि सुरक्षा पोशाक (पीपीइ), शय्या र अक्सिजनको जोहो गर्न नै धौ धौ परेको थियो भने हचुवा बिमा नीतिका कारण भुक्तानी नपाएर धेरै व्यक्तिले दु:ख पाए । कोभिड सङ्क्रमणको प्रारम्भिक समय (बि.सं. २०७७ को सुरु)मा कोरोना बिमा सुरु गरियो । छ सय रुपियाँको प्रिमियममा कोरोना सङ्क्रमित भएको पुष्टि भएमा एक लाख रुपैयाँ पाउने शर्त भएकोले झन्डै १५ लाख व्यक्तिले बिमा गराएका थिए । सुरु सुरुका कोभिड सङ्क्रमितले बिमा भुक्तानी पाएपनि सङ्क्रमितको संख्या बढ्दै जाँदा बिमा कम्पनीहरुले बिमा भुक्तानी गर्न आनाकानी गरे । कोभिड संक्रमितको उपचार राज्यले गराउने योजना अन्तर्गत धमाधम बिमा गराइएको थियो, तर कोभिड सङ्क्रमितको चाप बढ्दैजाँदा बिमा कम्पनी पन्छिए भने बिमाका शर्तहरु कडा बनाइए । सरकारले दिने भनेको रकम नदिएको भन्दै भुक्तानी दिएनन् भने नयाँ बिमा गरेनन् । बिमा समितिका अनुसार बिमा रकम भुक्तानीका लागि झन्डै रु. ११ अर्बको माग भएको थियो । एकातर्फ कोभिड महामारीको जोखिम आँकलनमा सरकारले हेलचक्र्याँइ गर्यो र सतहमा देखिएका सूचना विश्लेषण नगरी ल्याइएको बिमा योजनामा सरकार र बिमा कम्पनीहरु सफल रहन र विश्वसनीयता आर्जन गर्न चुके ।

पछिल्लो परिस्थितिमा मिथ्या सूचनाले गलत, भ्रामक र हेरफेर गरिएको अनलाइन र अफलाइन माध्यमबाट जानाजानी वा नजानेर सिर्जना, उत्पादन र प्रसारित सामग्रीले सामाजिक वा शारीरिक हानि पुऱ्याउने सम्भावना बढ्दै गएको पाइन्छ । इकोसिस्टम भित्र जानकारीको अत्यधिक मात्रा र कम गुणस्तरको जानकारीको उच्च घटनाले जानकारी खोज्ने र विश्वास गर्ने हाम्रो क्षमतालाई कम गर्छ । सूचना प्रदूषणलाई विकृत सूचना (Mal-information), गलत सूचना (Misinformation) वा खराब सूचना (Disinformation)को रूपमा वर्गीकृत गर्न सकिन्छ ।[5] तर यसलाई (Information Disorder) भनेर छाता शब्द प्रयोग गरेको पाइन्छ ।[6]

यूएनडिपी ओस्लो गर्भनेन्स् सेन्टर ले सन् २०२० मा आठवटा देशहरु क्याबोडिया, चिली, लेबनन, पानामा, सावमा, सिरिया लियोन, यूक्रेन र भेनेजुएला गरिएको एक अध्ययन अनुसार विभिन्न सन्दर्भमा सूचना प्रदूषण गर्ने तीनवटा सशक्तिकरण गर्ने पक्ष (enabler) रहेको देखाएका छन् । अध्ययनका अनुसार राजनीतिरुपमा ध्रुवीकरण, प्रभावशाली डायस्पोरा र सूचना आपूर्तिमा अन्तर रहेको ठम्याइ छ । यस्ता सशक्तिकरण गर्ने पक्षले विद्यमान सर्तहरुको प्रतिनिधित्व गर्दै सूचना प्रदूषणकर्ताहरुले भ्रामक वा मिथ्या सामग्री फैलाउने कार्य गर्ने गरेको पाएको छ ।[7]

यो अवस्थामा सूचना सदाचारको कायम गर्न कठिन भएपनि सूचना प्राप्त गर्न र प्रदुषित सूचनाबाट उत्पन्न हुने नकारात्मक प्रभावबाट बच्नका लागि सूचनाको हक सहयोगी साधन बन्न सक्दछ ।

पूर्ण विवरणका लागि लिंक प्रयोग गर्नुहोस् :  https://bit.ly/3qTdbZF

 

 

[1] NDI, 2018

[2] Information Integrity को एउटै शाब्दिक रुपान्तरण नभएपनि नेपालीमा ‘सूचना सदाचार’ को रुपमा लिइएको छ । यसलाई सूचनाको प्रामाणिकता, सत्यनिष्ठता वा अविभाज्यता भन्ने अर्थमा बुझ्न सकिन्छ ।

[3] UNDP, 2022, p.5

[4] Geisler, Prabhaker & Nayar, 2003

[5] UNDP, 2022, p. 4

[6] W. Claire & Hossein Derakhshan. 2017

[7] UNDP, 2020

आमसञ्चार विधेयक छिटो संसदमा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, असार १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ। विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐन पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकार लागिपरेको बताउनुभयो।

उहाँले दूरसञ्चार सम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रको पूर्वाधार विकास गरेर मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भइरहेको दाबीसमेत गर्नुभयो।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ। यो परीक्षण सफल भइसकेपछि र सँगसँगै हाम्रो फोरजीको पनि देशव्यापी रुपमा विस्तार हुनुपर्ने हो। त्यो ढंगले विस्तार भइरहेको छैन। त्यसको समिक्षा गरेर फाईभजीलाई लन्च गर्छाै। यो हाम्रो आवश्यक्ता हो। आमसञ्चार सम्बन्धी विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर सुझाव प्राप्त गरेका छौं। मन्त्रालय ‘वर्कआउट’ गर्दैछ। हामी छिटो भन्दा छिटो संसदमा ल्याउने प्रक्रियामा छौं। मन्त्रालयको रुटिनमा यी सबै विधेयकलाई राखेर ल्याउँछौं।’’

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियम बनाउने काममा सरकारले विशेष ध्यान दिनेसमेत बताउनुभएको छ।

लुम्बिनीमा संसद कोषको दुरुपयोग : मुख्यमन्त्री, अर्थमन्त्री तथा सांसदका निजी मिडियालाई बजेट

रुपन्देही । संसद विकास कोषमा शक्तिको दुरुपयोग गर्दै निजी कम्पनीहरुलाई बजेट छुट्याएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीको सत्तारुढ दल निकटहरुबाटै चर्को विरोध भएको छ ।

उनीहरुका स्वकीय सचिव तथा प्रेस सल्लाहकारहरुले चलाएका निजी मिडिया हाउसमा तोकेरै बजेट बिनियोजन गरिएपछि सत्तारुढ दल निकटकाले यस्तो प्रवित्रिको विरोध गरेका हुन् ।

बजेटमा मुख्यमन्त्री, मन्त्री र केही सांसदहरुका निजी संचारमाध्यम तथा उनीहरुको सचिवालयमा रहेका केही निश्चित सञ्चार माध्यमलाई पहुंचका आधारमा बजेट विनियोजन गरेपछि चर्को विरोध शुरु भएको हो ।

आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही निजी सञ्चारमाध्यमका लागि पहुँचका आधारमा डेढ करोडभन्दा बढी रकम दिन लागिएको छ । यसरी दिन लागिएको रकम सञ्चार उपकरण खरिद, क्षमता अभिबृद्धि र कार्यालय व्यवस्थापनका नाममा दिन लागिएको हो ।

दाङ तुल्सीपुर ५ मा रहेको अग्रिम साप्ताहिकलाई सञ्चार सामाग्री खरिदका लागि १० लाख र उपकरणका लागि १० लाख गरी २० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी लाइभ दाङ डटकमका लागि सञ्चार सामाग्री खरिदका लागि ५ लाख छुट्याइएको छ ।

प्रदेश टुडे दैनिक दाङ तुल्सीपुरलाई क्षमता अभिवृद्धि र सामग्री खरिदका लागि १० लाख बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्री चौधरीका निजी सचिव तथा सल्लाहकार गोपाल शर्मा भट्टराईको पत्रिका हो प्रदेश टुडे । उनी त्यसको सम्पादक हुन् ।

त्यसैगरी आर्थिक मामिला मन्त्री मास्कीको प्रेस सल्लाहकार हुन् दीपक बोहोरा । दाङ लाइभ अनलाइन र अग्रिम साप्ताहिक उनैको हो । बजेटमा विभिन्न शिर्षकमा यी दुई मिडियाको लागि ३५ लाख बिनियोजन गरिएको छ ।

यसैगरी रेडियो मिसनको स्तरउन्नतीका लागि ४ लाख, सिंग्नल मिडिया नेटवर्क बुटवल ९ का लागि ५ लाख रुपैयां बजेट विनियोजन भएको छ । रेडियो जलजलाको सञ्चार सामग्री र कार्यालय व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन भएको छ ।

रेडियो सुर्यमुखी रुन्टीगढीका लागि १० लाख बजेट विनियोजन भएको छ । यसैगरी रेडियो बुद्ध आवाज, मायादेवी, बुद्ध आवाज रेडियोका लागि उपकरण खरिदका लागि १० लाख, नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट विनियोजन भएको छ ।

यसैगरी मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख सामुदायिक सञ्चार माध्यम उपकरण खरिदका लागि ५० लाख रुपैयां बजेट विनियोजन भएको छ । यसरी व्यक्तिका निजी मिडिमामा बजेट तोकेर विनियोजन गरिएपछि सत्तारुढ कांग्रेस र माओवादीभित्र आलोचना शुरु भएको छ ।

प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले निजी मिडियालाई तोकेरै बजेट विनियोजन गर्नु नीतिगत भ्रष्टाचार भएको भन्दै विरोध गरिएको बताए ।

‘अघिल्लो पटक पनि मैले विरोध गरेको हुँ, अहिले पनि यसरी बजेट आयो, यो विषय गम्भीर हो, केही पहुँचमा रहेका निजी व्यक्तिका माध्यमलाई बजेट दिइनु गलत हो, यसले नीतिगत भ्रष्टाचारलाई सघाउँछ, यसको सशक्त विरोध गर्नेर्छौं’, उनले भने ।

स्थानीय लोकराज अधिकारीले हिजोदेखि नै भएको गलत प्रवृत्ति सुरु भएको बताए । ‘बजेट दिएर विपक्षीलाई आफ्नै बिरुद्द कस्ले लेख्न लगाउछ ? न हिजो एमालेले गर्यो न माओवादीले गर्यो अहिले काङ्ग्रेसको मुख्यमन्त्रीले किन गर्ने ? प्रणालीमा सुधारको लागि आन्दोलन गरौं’, उनले भनेका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव तथा प्रेस युनियनका नेता विक्रम खड्काले सरकारले निश्चित व्यक्तिका मिडिया तोकेर बजेट दिनु सरासर गलत भएको बताए ।

‘सरकारका केही व्यक्तिका मिडिया तोकेर बजेट दिइनु गम्भीर त्रुटि हो, यसलाई मुखयमन्त्री तथा अर्थमन्त्रीको नैतिकतामा प्रश्न उठाउँछ, अन्य मन्त्री तथा सांसदहरुले पनि केही गरेका विषय आएका छन्, सबैको भण्डाफोर गर्नुपर्छ, यो सिंगो प्रदेशका पत्रकारहरुमाथिको विभेद हो, पहुँच नहुनेमाथिको अन्याय हो’, उनले भने ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा दाङका पत्रकार शरद अधिकारीले सत्ताको चरम दुरुपयोग र बजेटको भद्दा विनियोजन यो प्रवृत्तिले देखाएको बताए ।

‘हुनत प्रदेश सरकारको कार्यलाई वाहवाही गर्ने गुलामीहरु पनि छन् यो दुनियाँमा । सरकारले दिने रकम मन्त्रीको व्यक्तिगत सम्पत्ति हो ? मुख्यमन्त्री र मन्त्रीका निकटहरुले चलाएकाका केही मिडियालाई रकम दिने भनेर बजेटमा लेखिएको छ । यो कुनै पनि हिसावले मान्य हुँदैन । प्रदेशमा रहेका १२ वटा पत्रकार महासंघलाई संस्थागत विकासका लागि भनेर भनेर रकम विनियोजन गर्नुपर्ने थियो त्यो गरिएको छैन । यस्तै यहाँका रेडियोलाई बर्षदिनभरी लोककल्याणकारी विज्ञापन बजाउनका लागि रकम दिनुपर्ने थियो । पत्रिकाको हकमा पनि यही गर्न सकिन्थ्यो । अनलाइनको हकमा पनि नियम बनाएर गर्न सकिन्थ्यो । तर प्रदेश सरकारले अधिकारको दुरुपयोग गरेर रकम विनियोजन गरेको छ’, अधिकारीले भनेका छन् ।

अधिकारीले भने, ‘प्रदेश सरकारले जे गर्न खोजिरहेको छ यो सत्ताको चरम दुरुपयोग हो । आफ्ना आसेपासेलाई रकम दिने कुराले लाज पनि लजाएको । सवै मिडियालाई एउटै व्यवहार गर्नुपर्छ । लोककल्याणकारी विज्ञापनका लागि लिलाम बढावढ गरेको जस्तो गरेको थियो त्यसमा मेरो सहमति छैन । अघिल्लो सरकारले पनि केही रेडियो र पत्रिकालाई यसैगरी रकम दिने काम गरेको थियो । जनताको करबाट उठेको रकमको दुरुपयोग गर्न पाइदैन, संचार क्षेत्रमा विनियोजित बजेट संस्थागत विकास र पत्रकारको क्षमता विकासका लागि हुनुपर्छ न कि पहुँचका आधारमा निकट र आसेपासेलाई वितरण गर्ने हो ।’

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले भने मन्त्रालयले यसपटक कुनैपनि मिडियालाई नाम उल्लेख गरेर बजट विनियोजन नगरिएको बताए ।

‘मन्त्रालयबाट मिडियाको लागि एकमुष्ट रुपमा ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, त्यसबाट प्रदेशमा संचालन गरिएका सबै मिडियाहरुलाई बजेट छुट्याईन्छ, अहिले नाम उल्लेख गरेको भनिएको बजेट प्रदेशसभा सदस्यहरुले सांसद विकास कोष मार्फत छुट्याएको हुनुपर्छ’, उनले भने ।

पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीले संसद विकास कोषबाट आएको योजनाबाट सरकारले यसरी विनियोजन गरेको बताएका छन् ।

उनले आगामी आब २०८०/८१ को लागि पत्रकारिता पढ्न चाहने पत्रकारहरुका लागि छात्रवृत्ति कार्यक्रम, सामुदायिक संचार माध्यमलाई उपकरण खरिद अनुदान, पत्रकार कल्याणकारी कोष तथा आगामी आबमा पनि निरन्तरता दिएका पत्रकारिता विकास कार्यक्रम, समावेशी पत्रकारिता विकास कार्यक्रम, पत्रकारिता क्षमता अभिवृद्धि कार्यक्रम, पत्रकारिता दुर्घटना बीमा, प्रदेश समितिको अधुरो भवन् निर्माणजस्ता महत्वपूर्ण कार्यक्रमका लागि बजेट बिनियोजन भएको बताए ।

द्वेषपूर्ण अभिव्यक्ति रोक्न जरुरी

काठमाडौँ, असार ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजमा गलत सूचना, विभेदजन्य र द्वेषपूर्ण अभिव्यक्ति निराकरणका लागि शिक्षा शक्तिशाली हतियार भएको बताउनुभएको छ।

द्वेषपूर्ण (हेट स्पिच) अभिव्यक्तिविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार आयोजित दक्षिण एसियाली उपक्षेत्रीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले शिक्षाका माध्यमबाट द्वेषपूर्ण अभिव्यक्ति र यसबाट उत्पन्न अवस्थाको सुझबुझपूर्ण व्यवस्थापन र उच्च समावेशी, सहनशील तथा सभ्य समाज निर्माण गर्न सकिने बताउनुभयो। सञ्चार साक्षरतालाई औपचारिक र अनौपचारिक शिक्षा पाठ्यक्रममा समावेश गरेर समग्र शिक्षा जगत्लाई द्वेषपूर्ण अभिव्यक्तिमुक्त गर्न सकिने पनि उहाँले बताउनुभयो।

सरकारले औपचारिक शिक्षाका पाठ्यक्रममा डिजिटल साक्षरता र सूचना प्रविधिलाई समावेश गरेको बताउँदै शिक्षामन्त्री राईले भन्नुभयो, “विद्यार्थीलाई डिजिटल ज्ञान र सीपका साथै आधारभूत सञ्चार साक्षरतालगायत २१ औँ शताब्दीका लागि चाहिने विशिष्ट जीवनोपयोगी सीपलाई अझै सशक्त बनाउनु जरुरी छ।” सामाजिक जीवनको विभिन्न परिस्थिति र कालखण्डमा देखिने द्वेषपूर्ण अभिव्यक्तिका कारण समाजमा नकारात्मक प्रभाव पारिरहेको  बताउँदै उहाँले भन्नुभयो, “यस्ता अभिव्यक्तिले हाम्रो सिर्जनशीलतामा ह्रास ल्याउँछ भने व्यक्तिगत तथा सामाजिक प्रगतिलाई अवरोध पु-याउँछ।”

यस्ता अभिव्यक्तिले सभ्य समाजमा समानता, आत्मसम्मान, मर्यादाजस्ता मौलिक मूल्यमा बाधा पु-याउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पछिल्लो समय आमसञ्चारमाध्यम द्वेषपूर्ण अभिव्यक्तिका लागि उर्वर मैदान बन्न पुगेको छ। त्यसैले यी सञ्चारमाध्यमको उत्पादन, प्रसारण तथा प्रयोगमा प्रशस्त नीतिगत र कार्यक्रमिक सुधार तथा चेतना विस्तार गर्दै डिजिटल सभ्यता विकास गरी द्वेषपूर्ण अभिव्यक्तिको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्नु जरुरी छ।” कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले द्वेषपूर्ण अभिव्यक्ति निराकरणका लागि शैक्षिक संस्थाको विद्यमान पाठ्यक्रम तथा अन्य पाठ्यसामग्रीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो। सम्मेलनमा श्रीलङ्का, माल्दिभ्सलगायत एसियाली मुलुकका प्रतिनिधिको सहभागिता छ।

एआई र सामाजिक सञ्जाल नियमन गर्न सांसदको माग

काठमाडौँ — यसअघि सामाजिक सञ्जालको प्रयोग बढ्दा त्यसको नियमन र व्यवस्थापनमा चुकेको स्विकार्दै सांसदहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत नयाँ प्रविधिलाई भने समय छँदै नीतिगत र व्यावहारिक नियमनको दायरामा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार आर्थिक वर्ष ०८०/८१ को विनियोजन विधेयक अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बद्ध विषयको छलफलमा सांसदले नयाँ प्रविधि, दूरसञ्चार, मिडियालगायत सञ्चार क्षेत्रसँग सम्बन्धित कार्यक्रममा आफ्ना सुझाव दिए ।

डेटा सुरक्षा, मोबाइल सेवाको गुणस्तर, सूचना प्रविधिसम्बन्धी जनशक्तिको व्यवस्थापन, इन्टरनेटको सर्वसुलभतालगायत विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका थिए ।

७३ प्रतिशत जनसंख्याले स्मार्टफोन चलाउने हुनाले नयाँ आउँदै गरेका प्रविधिलाई नियमन गर्न जरुरी रहेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताए । ‘विकसित प्रविधिअनुसार आफूलाई विकास गर्ने कुरा हाम्रा लागि चुनौती छ,’ उनले भने, ‘युट्युब र सामाजिक सञ्जालहरूको नियमन र व्यवस्थापन गरिसक्न नपाउँदै च्याट जीपीटी र गुगल जस्ता नयाँ प्रविधि र एआई आएका छन् । तिनले उत्पादन गर्ने विषय हे‍र्‍यो भने मान्छेलाई दिग्भ्रमित बनाउँछन् । त्यसैले सामाजिक सञ्जाल नियमन गर्नैपर्छ ।’

इन्टरनेट र सामाजिक सञ्जालको व्यवस्थापन मात्र नभई डेटा र साइबर सुरक्षामा पनि सरकारको ध्यान जानुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहको जोड छ । लोककल्याणकारी विज्ञापनका नाममा भइरहेको जथाभावी खर्चबारे पनि उनले प्रश्न उठाए । ‘च्याटजीपीटी, बार्ड जस्ता एआई निर्देशित च्याटबटले आजको विश्वमा नयाँ तरंग ल्याइरहेका छन् । तर हाम्रो बजेट रेडियो, टेलिभिजन र हुलाकमा मात्रै सीमित देखिन्छ । यस्तो तालले हामी प्रविधिमा फड्को कहिले मार्छौं ?,’ उनले प्रश्न गरे, ‘लोकसेवा आयोगको झन्डै ४ लाख आवेदकको डाटा हरायो । डाटा पुन:प्राप्तिमा हामी असफल भयौं । हाम्रो अवस्था यस्तो छ । तर बजेट हेर्दा हाम्रो प्राथमिकतामा साइबर सुरक्षा, डेटा सुरक्षाभन्दा सञ्चार मन्त्रालय निर्मित भौतिक संरचना पर्छन् ।’

सरकारी निकायले जनताबाट संकलन गरेको व्यक्तिगत तथ्यांक सुरक्षित राख्न आवश्यक पहल गर्नुपर्ने नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमको माग छ । ‘अहिले सबैभन्दा ठूलो प्रश्न व्यक्तिगत सूचना बिक्रीसँग जोडिएको छ,’ उनले भनिन्, ‘राष्ट्रिय परिचय पत्र, बायोमेट्रिक रिपोर्ट, मोबाइल व्यवस्थापन प्रणाली आदिबाट सरकारले नै जनताको व्यक्तिगत विवरण अमुक कम्पनीलाई बेचिरहे जस्तो लाग्छ । यी सबै व्यक्तिगत सूचना प्रणालीलाई खारेज गरी सरकारले आफ्नै नियन्त्रणमा रहने गरी एकीकृत विवरण संरक्षणको व्यवस्था गर्नुपर्छ । तब मात्रै हाम्रा बायोमेट्रिक विवरण सुरक्षित रहन सक्छन् । यस विषयमा राज्य अनभिज्ञ रहे जस्तो देखिन्छ ।’ स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई प्रयोग गरिरहँदा व्यक्तिगत जीवनका घटनालाई समेत आम समाचारको विषय बनाउने परिपाटीको आलोचना गर्दै उनले कतिपय विषयमा राष्ट्रिय सुरक्षाका संवेदनशीलतालाई ख्याल गर्नुपर्ने सुझाइन् ।

नेपालले यथाशीघ्र आफ्नै भू–उपग्रहमार्फत सञ्चार सेवा सुरु गर्नुपर्ने माग गर्दै नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले मोबाइल फोन सेवाको गुणस्तरमाथि पनि प्रश्न उठाए । ‘बिजुली जानेबित्तिकै मोबाइलको नेटवर्क चल्दैन,’ उनले भने, ‘केही समयअघिदेखि नै देशभरका सामुदायिक विद्यालय र अस्पतालमा अप्टिकल फाइबर बिछ्याउने काम भएको थियो । तर त्यो काम अझै पूरा भएको छैन । कतिपय ठाउँमा बाटोभरि तार असरल्ल भेटिन्छन् ।’ व्यवस्थापनबिना अतिरिक्त हुलाक सेवा खारेज गरिएकामा उनले ध्यानाकर्षण गराए ।

बर्दियालगायत तराईका जिल्ला र विभिन्न पालिकामा अझै पनि सञ्चार सुविधाको पहुँच नभएको विषयमा कांग्रेस सांसद जावेदा खातुन जागाले गुनासो गरिन् । कांग्रेसकै सांसद देवप्रसाद तिमल्सेनाले पनि विभिन्न ठाउँमा मोबाइलका टावर बने पनि सरकारी स्वामित्वको सेवा प्रदायक नेपाल टेलिकमको सेवा सन्तोषजनक नभएकोमा आलोचना गरे । विभिन्न प्रदेश र पालिकाले आफ्नै किसिमले मोबाइल एप्स र सफ्टवेयर बनाएको र तिनमा समावेश नागरिकका डेटाको सुरक्षाको विषयमा एमाले सांसद सुनीता बरालले चासो देखाइन् ।

‘हामीले सार्वजनिक डेटा सुरक्षित र व्यवस्थित बनाउने कार्ययोजनाको आवश्यकता महसुस गरेका छौं,’ बरालले भनिन्, ‘सञ्चार मन्त्रालयअन्तर्गत एउटा विभाग नै बनाएर यससम्बन्धी प्रविधिका कामलाई कार्यान्वयनमा लिएर जान अनुरोध गर्छु ।’ डेटा सुरक्षाकै विषयमा जोड दिँदै कांग्रेस सांसद नागिना यावदले यो विषय प्रमुख चुनौती भएकाले सञ्चारमन्त्रीले यसमा ध्यान दिनुपर्ने माग गरिन् ।

सामाजिक सञ्जाल अव्यवस्थित भएको र यिनको दुरुपयोगले ठूलो चुनौती थपेको एमाले सांसद एकनाथ ढकालले बताए । साइबर अपराध डिजिटल ठगी न्यूनीकरण गर्नु अहिलेको मुख्य चुनौती भएको माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाको भनाइ छ । कर्णालीलगायत अति विकट क्षेत्रमा टेलिफोन र इन्टरनेटको सुविधा गतिलो नभएको उनले जनाइन् ।

प्रकाशित : असार ५, २०८० ०७:३५

चौथो अंग : व्यक्ति, पद र सम्बन्धकेन्द्रित छन् नेपाली मिडिया

विन्दा पाण्डे

राज्य समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले संसदमा सबैजसो समुदायको उपस्थिति हुन थालेको छ।

‘जसको सवाल, उसैको सहभागिता’ धेरै हदसम्म कार्यान्वयन भएको छ।

दलित, पिछडिएका समुदाय, सीमान्तकृत समुदायको आवाज पनि सुनिन थालेका छन्। तर बुलन्द भइसकेका छैनन्। कम्तीमा उनीहरूको सहभागिता नै उल्लेख्य उपलब्धि मान्न सकिन्छ। उनीहरूले आफ्ना कुराहरू राख्न सकेका छन्।

तर आज उनीहरूले बोल्न नजानेको अनपढ भएको भन्दै ‘यस्ताले कस्तो कानून बनाउलान्’ भन्ने सामाजिक सञ्जालमा ट्रोलको सिकार भएका छन्।

संसदमा बोल्दा उनीहरूले के भन्न खोज्दै छन् भन्दा पनि कसरी बोल्छन् भन्नेतिर धेरैले नजर लगाउँछन्।

उदाहरणका लागि मेचे समुदायबाट एक महिला सांसद २०७४ पछिको प्रतिनिधि सभामा हुनुहुन्थ्यो। यसै पनि पिछिडिएको सीमान्तकृतमा परेको समुदाय। राजनीतिक आन्दोलनमा उहाँको योगदान निकै महत्वपूर्ण थियो। उहाँले बोल्दा अन्यले बोलेको जस्तो बोल्नुभएन भनेर ट्रोल बनाए।

त्यस्तै कर्णालीकी एक जना दलित महिला सांसद, उहाँले राम्रो मुद्दा उठाउनुभएको थियो तर उहाँको लबजलाई लिएर सामाजिक सञ्जालभरि उडाइयो।

यी प्रतिनिधि घटना मात्र हुन्। समानुपातिक व्यवस्थाको खिल्ली उडाइएको छ। यसलाई नेपाली सञ्चारमाध्यमले चिर्न सक्थे, तर गरेनन्। बोल्न खोज्ने सांसदको राजनीतिक योगदान, उनीहरूको समुदायको शिक्षा, उत्पीडनमा परेका समुदाय भएको हुँदा केके कुरामा पछि पारिए भन्नेबारे विस्तृतमा कतै समाचार आएन।

यसले गर्दा पिछिडिएको समुदाय हतोत्साहित भएको छ। मिडियाले आवाजविहीनको आवाज बोल्छ भनिन्छ, पिँधमा रहेको समुदायका लागि खोइ त मिडियाले लेखेको ? जहिले पनि सत्ता, पद, एकै लिंग, एकै जात अझ भनौँ, पहुँचवालालाई मात्र ‘स्पेस’ दिने हो त मिडियाले ? अहिले पहुँचविहीनहरूको विचारलाई स्थान दिए पनि रिपोर्टिङ भएको भने देखिँदैन।

०००

पहुँचवालालाई प्राथमिकता दिन्छ मिडियाले

विद्यालय पढ्दै गर्दा रेडियो नेपाल सुनेर हुर्कियो। गोरखापत्रमा  लेखेको कुरालाई शिलापत्रजस्तो मानिन्थ्यो। गोरखापत्रमा आएपछि त्यो खबर विश्वसनीय मानिन्थ्यो। काठमाडौँ पढ्न आएपछि भने साप्ताहिक पत्रिकाहरू धेरै पढियो। बाल्यकालमा बनेको गोरखापत्रको धारणा बद्लिसकेको थियो।

भर्खरै स्नातक सकेकाले ०४६ सालको बहुदलपछि केही समय खाली थिएँ। नेपाल प्रेस इन्सिच्युटको १० महिने कोर्स लिएँ। त्यसैको प्रयोगात्मकका लागि छलफलमा विचारहरू पनि लेखेको थिएँ। रिपोर्टिङ भने गरिनँ।

जिफण्टमा काम गर्ने भएको हुँदा त्यहाँको म्यागेजिनमा भने निरन्तर लेखे। मिडियामा पुनः जोडिएको भने २०६४ सालपछि हो। संविधानसभा सदस्य हुँदा मौलिक अधिकार निर्देशक तथा सिद्धान्त समितिमा पनि थिएँ। सबै नागरिकलाई नागरिकतामा बराबर हक हुनुपर्छ भन्दा निकै रस्साकस्सी भए।

 

एकथरी कुनै हालतमा सबै नागरिकलाई समान हुनुपर्छ भन्ने, दोस्रो; महिलालाई अधिकार दिए सार्वभौमसत्ता खतरामा पर्छ भन्ने। त्यहीबीच मैले नागरिकताको सवालमा लेख लेखेँ। त्यो कान्तिपुरमा छापियो। त्यसपछि निरन्तर केही समय लेख छापियो। म आफूलाई खासै मिडियामैत्री  त मान्दिनँ तर नियमित समाचार पढ्ने र सदनमा दुई पटक रहिसकेको हुँदा मिडियालाई नजिकबाट चिन्ने अवसर भने पाएको छु।

बाहिरबाट हेर्दा नेपाली मिडिया पहुँचवालाको, व्यक्तिकेन्द्रित बढी मुद्दाकेन्द्रित कम,पदकेन्द्रित, सम्बन्धकेन्द्रित छन्।

त्यस्तै लैंगिकता, वर्गीयत र क्षेत्रीयतामा पनि मिडियामा विविधीकरण हुन सकेको देखिँदैन। निश्चित मान्छेले जे बोले पनि समाचार, पहुँचविहीनहरूले राम्रो बोले पनि समाचार बन्दैनन्।

यसको अर्थ मिडियामा समावेशी भएको छैन भनेको होइन। बाध्यात्मक अवस्थामा भएको देखिन्छ तर कमै मिडियाले आत्मानुभूति भएर समावेशी भएका छन्।

केही मिडियाले महिला दलित जनजातिका मुद्दालाई साच्चै नै आत्मानुभूति गरेर उठाएका छन्। तर अधिकांश मिडियाले बाध्यात्मक स्थितीमा पुगेर गरेको देखिन्छ। त्यही समुदायकाले विचार लेख्यो भने छापिन्छ, तर त्यही समुदायको आर्थिक स्थिति, सामाजिक राजनीतिक विभिन्न आयमबारे रिपोर्टिङ भएको देखिँदैन।

त्यसकारण मिडियाले बाध्य भएर स्पेस दिएका हुन् कि भन्ने मेरो बुझाइ हो। पहुँचवाला समुदाय जसरी रिपोर्टिङ आउँछन् परिवर्तनलाई फड्को नै मार्ने गरी रिपोर्टिङ आएका छैनन्। आवाज चर्को भएकाले स्पेस पाउने, तर अरूको आवाज नै नसुनिने भएको छ।

व्यक्तिगत सम्बन्ध र पदीय आधारमा राजनीतिक रिपोर्टिङ भएको देखिन्छ। पत्रकारको जोसँग सम्बन्ध छ, त्यसको मात्रै भनाइ आउको देखिन्छ। पत्रकारको सूचीमा भएको व्यक्तिले टक शोमा स्थान पाउने, नत्र नपाउने।

उदाहरण दिन्छुः केही दिनअघि काठमाडौँ महानगरले सडकपेटीमा व्यापार गर्न दिएन। यसबारे मिडियाले राम्रै कभरेज गरे। तर टक शोहरूमा अर्को समुदाय, जसले सडकपेटीमा व्यापार नै गर्दैन उसलाई विचार मन्थन गर्न लगाइयो। जुन समुदायको हो उही समुदायसँग टक शोहरू हुन सक्दैन हो ?

मिडियाले सधैं बोल्ने मान्छे नै छैनन् भन्छ। तर यस्ता मान्छे नभएका होइनन्। उहाँहरूले चाहेजस्तो बोल्नेचाहिँ छैनन्। भोगाइका कुराहरू बोल्न सक्ने दलित, महिला ,जनजाति, मधेसी जति पनि छन्। मिडियाले दृष्टिकोण अलि फराकिलो बनाउनुपर्ने देखिन्छ।

मिडियामा नआई नचिनिने, नचिनिए मिडियाले स्पेश नदिनेजस्तो भइरहेको छ। उदाहरणका लागि तराईंको दलित आन्दोलनको भोगाइबारे बोल्न संविधानसभा सदस्य वर्तमान एमाले केन्द्रीय सदस्य रामरति राम नेता हुनुहुन्छ। उहाँ ५४ सालमा स्थानीय तहको निर्वाचन हुँदा उहाँ वडासदस्य पनि हुनुभयो। एक त महिला त्यसमा दलित। उसलाई किन कुर्सीमा बस्न दिने समेत भनेर दुर्व्यवहार गरियो। उहाँले राजनीतिमा गर्नुभएको संघर्ष निरन्तरताबारे कहीँ कतै आएको छैन।

मिडियाले यस्तै पहुँचविहीन व्यक्तिबारे लेख्नुपर्ने होइन ? सधैं एकै कुरा बोलेर नेताहरूको रिसिवी  भरिएको भाषणलाई मात्र कति स्थान दिने ?

मिडिया जनताभन्दा माथि उठेर नागरिक बन्न सकेन

नेपाली समाज अलिकति नकारात्मकतिर गइरहेको हो कि जस्तो भान हुन्छ। मिडियाले यसलाई मलजल गर्ने होइन, घटाउने हो। भ्युज दिने कि न्युज दिने भन्नेमा आफूलाई प्रस्ट पार्न सक्नुपर्छ।

मूलधारका मिडियाले सकारात्मक हिसाबले रुपान्तरण गर्ने हो। यसको अर्थ गलत कुरालाई नलेख्ने भनेको होइन, लेख्ने तरिकामा आक्रमक कम हुनुपर्यो। समाज राजनीतिजस्तो छ नेपाल मिडिया पनि त्यस्तै छन्।

 

संविधानसभाबाट निस्कँदै गर्दा पत्रकारबीच एउटा कुरा भएको सुनेँ। उनीहरू भन्दैथिए, ‘ल्याप्चे सभासदले के गर्छन् र ? मैले उनीहरूलाई हेरेरे भनेँ, के भन्नुभयो रे ? ती पत्रकारले तपाईंलाई भनेको होइन भने। मैले भनेँ, ‘जसलाई भने पनि ल्याप्चे भन्नुभयो, नेपालको साक्षरता प्रतिशत कति छ ? कुन समुदायको व्यक्तिको शिक्षाको पहुँच कति छ ? अनि हरेक क्षेत्रमा ल्याप्चे पनि छन्। पत्रकारितामा क्षेत्रमा विषयवस्तुलाई पर्गेलेर लेख्ने पनि छन् उही ल्याप्चेपाराका पत्रकार पनि छन्। समाज जस्तो हो त्यस्तै प्रतिनिधित्व हुने होइन र ? त्यसकारण सबै क्षेत्रलाई एकै दृष्टिकोणबाट हेरिनु हुँदैन।’

मिडियाले पनि के बुझ्नुपर्छ भने देशको विविधता, उनीहरूको सीमितता र उनीहरूको किन आवश्यकता छ, कानून बनाउने ठाउँमा भनेर बुझ्न जरुरी छ। राजनीति बिटको रिपोर्टिङ गर्ने पत्रकारले यता पनि ध्यान दिनुपर्ने देखिन्छ।

हरेक कुरा राजनीतिले मात्रै बिगारको भन्ने भान भएको छ आम नागरिकमा। यसलाई मिडियाले चिर्न सक्नुपर्ने देखिन्छ। मूल चुरो राजनीति भए पनि सबैले आफ्नो काम असल नियतका साथ नगर्ने हो भने हाम्रो देश बन्दैन। बाटो बनाउने ठेकेदार र इन्जिनियरको बदमासीले गाली खान्छ नेताले। अस्पतालमा मेसिन किन्छ, राख्ने ठाउँ व्यवस्थापकले नबनाउँदा नेताले गाली खान्छ।

राजनीतिज्ञले त कामअनुसार व्यवस्थापक खटाएको त छ नि। तर दोषजति सबै नेताको भनेर अन्यको कर्तव्य नै नभएजस्तो गर्न हुँदैन।

सानो उदारहण दिऊँ, ट्राफिक नियमको उल्लंघन गर्ने आफू, अनि देश बनेन भनेर सराप्दै हिँडेको पनि देखिन्छ।पञ्चायतकालमा हामी प्रजा थियौँ पछि जनता भयौँ।

२०६४ पछि त हामी नागरिक भयौँ नि। नागरिक हुनु भनेको सरकारले अह्राएको खटनपटन गराएको मान्ने मात्रै होइन। सरकारले गलत गर्दा औँला उठाउने आफ्नो कर्तव्य पूरा गर्ने।

आम नागरिक नागरिक बन्न सकेका छैनौँ हामी। त्यसरी नै मिडियाले पनि आफूलाई नागरिक ठानेको छैन। कतिपय नेताहरूले महिलालाई यति प्रतिशत अधिकार दिएका छौँ, दलितलाई यति दिएका छौँ भन्छन्। यो दिने र लिने भन्ने नै हुँदैन लोकतन्त्रमा। कसैको व्यक्तिगत कुरा होइन नि अधिकार। यो त स्वतः नागरिक भएपछि प्राप्त गर्ने कुरा हो। कसैको निगाहले पाएको पनि होइन श्रृंखलाबद्ध आन्दोलनले ल्याएको कुरा न हो। दिएको र लिएको भन्ने भाष्यलाई मिडियाले बदल्न जरुरी छ।

‘बायस्ड’ छन् मिडिया

मिडियाका लगानीकर्ता को छन् ? विज्ञापनदाता को हुन् भन्ने कुरालाई मिडियाको लाइनले प्रस्ट पार्छ कि भन्ने मलाई लाग्छ।

नेपाली मिडिया केही बायस्ड देखिन्छन्। उदाहरण दिन्छुः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र केन्द्रीय समितिमध्ये १ मा ४० प्रतिशत पुर्याए पार्टी फुटाउन सक्ने अध्यादेश ल्याउँदा अपराधै हो भनेर लेखियो। जसै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सांसद संख्या र केन्द्रीय सदस्य मध्ये १ त्यो पनि २० प्रतिशत हुँदा पार्टी फुटाउन सकिने अध्यादेश ल्याइयो। एउटा दल फुट्यो, दर्ता भएपछि त्यो अध्यादेश निष्क्रिय पारियो। योचाहिं महाअपराध थिएन ? यसबारे मिडियामा अघिल्लो पटक जसरी न त रिपोर्टिङ भयो, न त विचारहरू नै आए। कोही व्यक्ति मन नपर्ला तर विधि र प्रक्रिया मिच्चिएको मिडियाले लुकाउने काम गर्नुहुन्छ ?

अर्को, मिडिया विधेयक अघिल्लो सरकारले जे ल्यायो अहिले पनि त्यही छ। त्यतिबेलाको होहल्ला र अहिलेको हल्ला फरक छैन र ? एउटै सवालमा मिडिया यतिविघ्न बायस्ड हुन मिल्छ ?

अर्को पनि उदारहणः अहिले नागरिकता विधेयक ल्याइयो। अघिल्लो राष्ट्रपतिको लेटरहेडमा अहिलेको राष्ट्रपतिले आफ्नो नाम थपेर ल्याए। त्यो विधेयक कस्तो छ, त्यता नजाऊँ तर विधेयक जारी गर्ने यही हो तरीका ? विधि र प्रक्रिया नमिलेपछि मिडियाले प्रश्न उठाउनुपर्दैन ? यो विधि र प्रक्रिया मिचिएको होइन ?

अर्को, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा पूजा गर्न जाँदा विधुवा महिला जाँदा अशुभ हुनेदेखि अनेक कुरा फैलियो। अघिल्लो पटक विदुर राष्ट्रपति जाँदा कुरा उठेन। यसलाई मिडियाले चिरेर लेख्नुपर्ने होइन ? लेखेन मिडियाले। किनभने मिडियामा कमै मात्र लैंगिक संवेदनशीलता बुझेका मान्छे छन्।

राजनीतिक एजेण्डालाई प्राथमिकता दिनुपर्छ

कतिपय नेता मिडियाले कस्तो कुरा कभरेज गर्छन् भनेर पनि बोल्छन्। मिडियाले पनि राजनीतिकभन्दा अराजनीतिक विषयलाई प्राथमिकता दिँदै छापिदिन्छन्। एजेण्डा बोलेकालाई मतलबै नदिने, बिकाउ कुरालाई प्राथमिकता दिएको देखिन्छ।

नागरिकलाई सुसूचित बनाउने जिम्मेवारी हो भनेर नसोची समाचार दिनु हुँदैन। समावेशी र समानुपातिक विविधताभित्रको एकता अहिलेको मूल मन्त्र हो। राजनीतिक दलहरू एजेण्डाविहीन भएका छन् भनेर आलोचना गर्ने, तर टक शो अथवा छलफल गराउँदा नेताहरूको सम्बन्ध एकदमै सस्तो कुरामा केन्द्रित भएको देखिन्छ मिडिया।

राजनीतिक दलको एजेण्डाको आलोचनात्मक रिपोर्टिङ भएको पनि देखिँदैन। मुद्दा केन्द्रित भएर छलफल बहस गराएको पनि देखिँदैन।

उदाहरणका लागि संविधान र कानूनमा कतिपय कुरा बाँझिएका छन्। संंविधानको धारा १८ ले पैतृक सम्पत्तिमा सन्तानको समान हक भनेको छ। सन्तान भन्ने शब्द लैंगिक तथा यौनिक अंल्पसंख्यक समुदायको लागि गरिएको हो। तर देवानी संहितामा अंशवण्डामा आमा बुबा र छोराछोरी भनेर उल्लेख गरियो। कानूनहरू धेरै पश्चगामी बनेका छन्।

मिहीन ढंगले यि विषयमा रिपोर्टिङ भएका छैनन्। पीडितका कुरा पीडितले मात्रै उठाउने होइन नि। पीडक पक्षले पनि त्यो कुरा उठायो भने मुद्दा बन्छ। यसलाई मिडियाले ध्यान दिनुपर्छ।

हिजो जसले नेतृत्व गरेको थियो अहिले पनि उनै समुदाय वर्ग र लिंग छन्। मिडियाले राजनीतिक दललाई जवाफदेही बनाउनुपर्नेमा केही निश्चित नेतृत्वले पो मिडियालाई गाइड गरेको हो किजस्तो देखिन्छ।

संविधानको आदर्शलाई केन्द्रविन्दुमा राखेर दलहरूलाई एजेण्डामुखी बनाउन मिडियाले ठूलो भूमिका निभाउनुपर्ने देखिन्छ।

(संविधान सभा सदस्य, पूर्वसांसद पाण्डे एमाले स्थायी समीति सदस्य हुन्। उनीसँग राजनीतिज्ञ दृष्टिकोणमा नेपाली मिडिया विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)   

मोफसलमा शीर्ष समाचारको असान्दर्भिकता

पोखरीहरूको जीर्णोद्धारले राजनीतिकर्मीको भोट नबढ्ला, तर त्यो नगरी नहुने काम हो भन्ने कुरा ‘राष्ट्रिय मिडियाहरू’ ले बारम्बार उठाइराख्नुपर्ने हुन्छ ।

जलेश्वरमा अहिले प्रचण्ड गर्मी छ । जुन ८ बिहीबारको दिन भुइँतलासँग जोडिएको बरन्डाको भित्तामा झुन्डिरहेको तापक्रममापक उपकरणले परिवेशी तापमान (ऐम्बिअन्ट टेम्प्रेचर) ४२ डिग्री सेन्टिग्रेड रहेको जनाउ दिइरहेको छ । हातेफोनको मौसममापकले चिह्नित गरेको संख्या त्यसभन्दा पनि अझ एक डिग्री बढी नै छ । जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराएको तथ्यांक अनुसार, यस वर्षको जुन महिना नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा तातो महिना बनेको समाचार रेडियोले भट्ट्याउँदै छ ।

तर, आस्थावान्लाई जस्तोसुकै मौसमले पनि आफ्नो ठौरठामतिर फर्किनबाट रोक्न नसक्ने रहेछ । आजभोलि हरेक पाँच वर्षमा एक पटक लाग्ने संसारीमाईको मेला र पूजा–अर्चनाका लागि एक जना ‘जलेसरिया’ इन्जिनियर र उद्यमी अमेरिकाको न्युजर्सीदेखि सपरिवार घर आइपुगेका छन् । काठमाडौंबाट तलतिर झर्नेहरूको त कुरै भएन । सहरको हरेकजसो घरमा सीमावारि र पारि गरी दुवैतिरका पाहुनाहरूको जमघट देख्न सकिन्छ ।

चार दशकअघिसम्म संसारीमाईको मेला हरेक १२ वर्षमा एकचोटि लाग्ने गर्थ्यो । त्यसपछि सिकारी र संकलक सभ्यतामा प्राकृतिक शक्ति वा पुर्खाका आत्मालाई शान्त पार्न बलि प्रदान गर्ने जडात्मवादी परम्पराको अवशेषका रूपमा रहेको जीव–जन्तु एवं चराचुरुंगीलाई तोकिएको शक्तिपीठमा अर्पण गर्ने अवधि १२ बाट घटाएर सात वर्षमा ल्याइयो । अहिले संसारीमाई हरेक पाँच वर्षमा भोग स्वीकार गर्न जलेश्वर पोखरीको डिलमा आउँछिन् । केही दशकअगाडिसम्म त्यो शक्तिस्थल चिह्नित गर्न ठड्याइएको एउटा पवित्रीकृत मुडोबाहेक केही हुन्थेन । त्यसपछि त्यस ठाउँलाई पर्खालले घेरेर सुरक्षित बनाइयो । ढोकामा ताल्चा लगाउने चलन सुरु भयो । पवित्रीकृत मुडोमा चाँदी मढिएपछि सुरक्षा झन् मजबुत बनाउनैपर्ने भयो । कालान्तरमा मन्दिर बनाइएला । नियमित पुजारी, पण्डा र महन्थको प्रादुर्भाव भए पनि अचम्म मान्नुपर्नेछैन । यसप्रकार जडात्मवादी प्रचलनहरू (ऐनमिस्ट ट्रडिसन्स), समाजशास्त्री एमएन श्रीनिवासले औंल्याएझैं, ‘ब्राह्मणीकरण’ भएर ‘हिन्दु धर्म’ भित्र समाहित हुन पुग्छन् ।

जुनसुकै बहानामा दाजुभाइ, नातागोता, छरछिमेकी र इष्टमित्र एक ठाउँमा भेला भएपछि बेसाहा आकासिएकोदेखि लिएर रोजगारी भुइँमा बजारिएको सम्मका सबैथरी विषयको उठान हुन्छ । एउटा प्रसंगको तार्किक बैठान हुन नपाउँदै बहसलाई अर्कै विषयतिर मोड्न कुनै कठिनाइ हुँदैन । हावापानीको तापक्रम जति नै बढे पनि स्थानीय राजनीति भने अपेक्षाकृत चिसिएको महसुस हुन्छ । नागरिकता ऐनबारे अधिकांश सम्भाषी (इन्टर्लाक्युटर) अलिकति बढी नै आश्वस्त देखिन्छन् । चिन्ता नोकरशाहीले ऐनलाई कार्यान्वयन हुन दिँदैन भने रहेछ । बिहान आठ बजेतिर आइपुग्ने ‘राष्ट्रिय’ भनिने अखबारका शीर्ष समाचार एवं मार्गदर्शक विचार केलाएपछि भने बातचितमा रूखोपन बढ्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजधानीको फुर्सदिलो समाजलाई तताएको छ । मोफसलमा भने त्यसलाई स्वाभाविक रूपमा लिइँदो रहेछ । केही वर्षअगाडि झापा र मोरङतिर काम गरेका नेपाल सरकारका एक अवकाशप्राप्त अधिकारीका अनुसार, एक दशकभित्र ७ हजारजति हुनेखाने ल्होत्सम्पालाई नगद लेनदेनका आधारमा ‘वंशज नागरिक’ बनाइएको थियो । लगभग त्यति नै संख्यामा साँच्चिकै वंशज नागरिक रहेकालाई ल्होत्सम्पा बनाउने गिरोहले गैरकानुनी काम गरेको पक्का हो, तर त्यसलाई देशै हल्लाउने अनैतिक घटना मान्नेहरूलाई नेपालबाट हुने मानव बेचबिखन, वन्यजन्तु र जनावरका अंगहरूको अवैध ओसारपसार, लागूऔषधको तस्करी एवं वैदेशिक मुद्रा निर्मलीकरणको शक्तिशाली सञ्जालबारे थाहा नभएको मान्नुपर्ने हुन्छ । आकारका हिसाबले कर छलीका विवादित मुद्दाहरू त्यसभन्दा कैयौं गुणा बढी छन् । लाखौं साना बचतकर्ता तथा सर्वसाधारणको अर्बौं निक्षेप सहकारी सञ्चालकहरूको बेइमानी एवं नियामक निकायहरूको मिलेमतोले गर्दा जोखिममा छ । मधेशबाट हेर्दा समग्र राज्य व्यवस्था शासन नभएर शोषण र दोहनको संयन्त्र रहेकामा कसैलाई कुनै शंका छैन । बिचौलियाहरूले भागबन्डा मिलाउन नसकेर सतहमा आएको विश्वास गरिने नक्कली भुटानी शरणार्थी प्रकरणले जलेसरियाहरूलाई पटक्कै उद्वेलित नगर्ने रहेछ ।

संसारीमाईको पूजापाठ चलिरहेकै बेला भारतमा उपचाररत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल शाहको निधनको खबर आइपुग्यो । उनको उमेर ७० वर्ष पनि पुगेको थिएन । डा. शाह अदम्य प्रकृतिका व्यक्ति थिए । हाडजोर्नी एवं नसाका क्षमतावान् चिकित्सक र प्राध्यापक त थिए नै, उनमा आफ्नो पेसालाई नाघेर बृहत्तर समाजका लागि केही गरूँ भन्ने उदात्त भाव पनि थियो । हरेक प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुने गर्थे । सन् २००२ यता सुस्तरी शाही–सैनिक शासन हावी हुँदै गएपछि उनमा उकुसमुकुस देख्न सकिन्थ्यो, यद्यपि नेपाली कांग्रेसको ‘देउवाली’ खेमासँग नजिक भएकाले खुलेर बोल्न हच्किन्थे । त्यही कालखण्डमा हुनुपर्छ, उनले हिन्दीका प्रख्यात कवि दुष्यन्त कुमारको गजलसंग्रह ‘साये में धूप’ अनुवाद एवं प्रकाशनका लागि औपचारिक अनुमति प्राप्त गरे । संस्कृतिविद् रामदयाल राकेशले गजलहरूको नेपालीमा उल्था गरे । पुस्तक विमोचन पनि भयो ।

तर गजलका शब्द र भाव समात्न सकिए पनि तिनको सांगीतिक झंकारलाई अनुवाद गर्न नसकिने रहेछ । पछिसम्म डा. शाह गजलकार दुष्यन्तका हिन्दी पंक्तिहरू नै दोहोर्‍याउने गर्थे— ‘पक गई हैं आदतें बातों से सर होंगी नहीं कोई हंगामा करो ऐसे गुजर होगी नहीं / इन ठिठुरती उँगलियों को इस लपट पर सेंक लो / धूप अब घर की किसी दीवार पर होगी नहीं ।’

अन्य धेरै मधेशी पेसाकर्मीजस्तै सन् २०१५ पछि भने उनलाई पनि अवसादले छोप्दै लगेको थियो । फेरि पनि गजलकार दुष्यन्तका शब्दहरू नै सम्झिन्थे— ‘हमको पता नहीं था हमें अब पता चला / इस मुल्क में हमारी हकूमत नहीं रही ।’ उनीसँग निकटता त थिएन, आत्मीयता भने थियो । सुने अनुसार अन्तकालतिर असह्य पीडामा थिए । भेट्न पाएको भए आफूलाई मन पर्ने कविका केही पंक्ति पुनः सुनाउँथे— ‘सुख नहीं यों खौलने में सुख नहीं कोई / पर अभी जागी नहीं वह चेतना सोयी / वह समय की प्रतीक्षा में है जगेगी आप / ज्यों कि लहराती हुई ढकनें उठाती भाप / अभी तो यह आग जलती रहे, जलती रहे / जिन्दगी यों ही कडाहों में उबलती रहे ।’ मधेश कराहीमा उम्लिरहेको छ, डा. शाह भने बिदा भए ।

बहकाउने विवाद

फ्रान्सेली भाषाबाट अंग्रेजीमा छिरेको एउटा शब्द छ— ‘डिभर्टिस्मन्ट’ । जीवनका कष्टप्रद एवं बोझिल समस्याबाट ध्यान अन्यत्र मोड्न बुद्धिमान् व्यक्तिहरूले देख्दा वा सुनिँदा आकर्षक लाग्ने तर निरर्थक मुद्दाहरू उचाल्छन् । मूढमति भएकाहरू त्यस्तै बहकाउका पछाडि बेतोडले कुद्न थाल्छन् । गहिरो हीनताबोधले ग्रस्त सहरिया समर्थक समूहका पूर्वाग्रहहरूको तुष्टिका लागि काठमाडौंका मेयरले आफ्नो कार्यकक्षमा एकताकाको गोर्खा सम्राज्यको अनुमानित नक्सालाई प्रामाणिक ‘विशाल नेपाल’ बनाएर झुन्ड्याएका छन् । त्यस भित्तेचित्रको उपयोगिता पुच्छ्रे नक्साभन्दा पनि अव्यावहारिक छ । गोर्खालीहरूले सुगौली सन्धिमार्फत इस्ट इन्डिया कम्पनीका अगाडि आत्मसमर्पण गरेपछि नेपालको क्षेत्रफल अहिलेभन्दा पनि साँघुरिन पुगेको थियो ।

मध्य र पूर्वी तराईको बिर्ताबेगर गोर्खाली सम्भ्रान्तको दानापानी नचल्ने भई मध्यवर्ती राज्यमा उथलपुथल हुने देखेर कम्पनी सरकारले चुरेमुनिको भाग फिर्ता गरेको थियो । बिर्ता गोर्खालीहरूले फिर्ता पाए, मधेशीहरूका लागि दुःखका दिन सुरु भए । नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका भूभाग त जंगबहादुर कुँवरले सिपाही विद्रोह दबाउन सन् १८५७ मा कम्पनी सरकारलाई सेवा पुर्‍याएबापत सन् १८६० ताका मात्रै बकसमा पाएका थिए ।

जंगले बकसको जमिन आफन्तहरूमा बाँडे, थारू र माझीहरूको दासताको बीजारोपण भयो । नेपालको अहिलेको साँध–सिमाना स्वतन्त्र भारतसँग सन् १९५० मा सम्पन्न सन्धिले सुनिश्चित गरेको हो । त्यसभन्दा बाहिर गएर गफ हाँक्नेहरू कि त साह्रै सोझा हुन् वा असाध्यै बिभिन्ड्याहा ! परिकल्पित भित्तेचित्रको उपयोगिता प्रदर्शनीमा हुन सक्थ्यो, तर त्यस कलाकृतिको बोझ बोक्न काठमाडौंका मेयरको काँधले सक्दैन । अहिलेलाई उनले ‘विशाल काठमाडौं’ समावेशी र सबै खाले सामान्यजन लायक बनाउन सके पुग्छ । मेयरको पदीय दायित्व मूलतः सहरको प्रमुख कुचीकार भएकाले सम्मानित मानिएको हो ।

नेकपा (एमाले) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मका सांस्कृतिक राष्ट्रवादका समर्थकहरूले प्रत्यक्ष निर्वाचित ‘राजा’ रूपी कार्यकारी प्रमुखको खोजी गर्नु प्रकारान्तरले बालेन शाह वा हर्क साम्पाङजस्ता प्रतीकात्मक अल्पसंख्यकको सहवरण गरेर नृजातीय सत्तालाई निरन्तरता दिन चाहनु मात्रै हो । सार्थक राजनीतिक बहसका मुद्दाहरू अनेक छन् । विद्यमान संविधानलाई परित्याग नगरी के पहिचानका आधारमा प्रदेशहरूको यथार्थपरक पुनःसीमांकन सम्भव छ ? त्यसो गर्न सकिन्न भने अञ्चल वा विकास क्षेत्रका नाम ग्रहण गरेका प्रदेशहरू सारभूत रूपमा त्यसभन्दा बाहिर निस्कन सक्नेछैनन् ।

कोशी नामकरणविरुद्धको आन्दोलन केही जनजाति अगुवाहरूको सान्दर्भिकता पुनःस्थापित गर्ने सडक अभियानमा सीमित हुन जान सक्छ । पंगु बनाइएका प्रदेशहरूलाई शक्तिसम्पन्न बनाएर सार्थक संघीयताको अभ्यास के यसै संविधानमा संशोधन गरेर गर्न सकिन्छ ? त्यसो हुन सकेन भने प्रादेशिक संरचनाहरू फगत कार्यकर्ता व्यवस्थापनका संयन्त्र हुनेछन् । राजनीतिक दलहरूलाई नैतिकताका न्यूनतम मापदण्डहरूको दायराभित्र ल्याउन के गर्न सकिन्छ ? राजनीतिक दल गतिशील हुन सकेनन् भने राष्ट्रपति रेसेप तैयप एर्दोगन वा प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता प्रियतावादी तर दबंग शासकहरूको नेपाली संस्करण खस–आर्यका नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीभन्दा पनि मनपरी गर्ने किसिमको भएर देखा पर्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विश्वसनीय कसरी बनाउन सकिन्छ ? अदालतको गरिमा स्थापित गर्ने उपाय के हो ? अहँ, कोही मुख खोल्दैनन् । चर्चा प्रधानमन्त्री पुष्पकमल दाहालको गेरु वस्त्रको छ । स्थायी सत्ताका अगाडि निःसर्त आत्मसमर्पण गरिसकेपछि उनीसँग अब विकल्प नै के बाँकी थियो र ! लबेदा–सुरुवाल भिरेर शपथग्रहण गरे, गेरु वस्त्र धारण गरेर उज्जैनका महाकाललाई रूद्राक्ष अर्पण गरे र पशुपतिमा भेटी चढाए । मैथिल मान्यता अनुसार, जुनसुकै ज्योतिर्लिंगको दर्शन गरेर फर्केपछि स्थानदेवताको आराधना गर्नुको अर्थ हरेक पटक त्यहाँ पुग्दा ज्योतिर्लिंगको पुनर्दर्शनको पुण्य प्राप्त गर्नु हो । झोल खाएर चोक्टा नछोए पनि शाकाहारी नरहिने भएपछि माछामासुतिर मन दौडिएजस्तै अब प्रधानमन्त्री दाहाल हरेक सनातनी कर्मकाण्डमा सहभागी भए पनि अचम्म मान्नुपर्नेछैन । महात्मा मार्क्सले माओवादी दाहालका भूराजनीतिक एवं भूसांस्कृतिक बाध्यताहरू बुझेर पक्कै पनि उनलाई माफ गर्नेछन् ।

व्यावहारिक कठिनाइ

राजनीतिक मुद्दाहरू त जे छन्, छँदै छन् । मधेशको दैनिक जीवनका अप्ठ्याराहरू राष्ट्रिय समाचारको शीर्षमा कहिल्यै नपुग्ने रहेछन् । यस पटकको सुक्खाले मध्य–मधेशमा सन् १९६७–६८ को रौदीलाई सम्झाएको छ । त्यस बेला पञ्चायतको जगजगी थियो । कृषि विकास आयोजनामा मात्र प्रयोग गरिने आश्वासन दिएर अनिवार्य बचत संकलन गरिन्थ्यो । बीउसमेत राख्न नपाई साना किसानले अनिवार्य बचत बुझाउनुपर्थ्यो । किसानले रासायनिक मल त परको कुरा भयो, बीउबिजनसम्म पाउँदैनथे ।

सीमापारि बिहारमा जनक्रान्ति दलका मुख्यमन्त्री महामयाप्रसाद सिन्हाको सरकारले आपत्कालीन राहतको व्यवस्था गरेको थियो । सीमा खुला भएकाले त्यसको लाभ विष्णुको अवतारका प्रजाहरूले पनि उठाउन पाउँथे । अहिले भैरहवातिरका कुनचाहिँ भन्सार अधिकृतलाई दैनिक १०० रुपैयाँभन्दा बढीको खरिददारीमा कर लगाउने र अपराधीकरण ठहर्‍याउने रहर पलाएछ । मधेशका आधाभन्दा बढी सीमावर्ती गाउँतिर कोक्रोको थाङ्नामा ओछ्याइने भुवादार तौलियादेखि शव ढाक्ने सुती कात्रोसम्मको जोहो उतैबाट गर्ने गरिन्छ । गम्छा र गन्जीदेखि तन्ना र कम्बलसम्म उतैबाट ल्याउने गरिन्छ । राज्यभन्दा समाज एवं ऐनभन्दा सामुदायिक सम्बन्ध पुरानो हो भन्ने कुरा ठम्याउन नसक्नेहरू शासन चलाउन योग्य हुन्नन् ।

वैश्विक उष्णता एवं जलवायु परिवर्तनका ठूलठूला कुराहरूले गर्दा सामान्यजनका ससाना कठिनाइहरू ओझेलमा पुग्न जाने रहेछन् । सन् १९८० को दशकसम्म हावापानीको दृष्टिकोणले पूर्वको जलेश्वर र पश्चिमको टीकापुर मधेशका सबभन्दा राम्रा सहर मानिन्थे । एक पटक कुनचाहिँ अञ्चलाधीशमा जलेश्वरको निर्मल जल जनकपुर पुर्‍याउने रहर पलाएछ । आधाउधी संरचनामा लगानी भइसकेपछि हिम्मत गरेर एक इन्जिनियरले दक्षिणको पानी उत्तर पुर्‍याउन पम्पिङ गर्ने खर्च बेपत्ता बढ्ने कुरा बिन्ती बिसाएछन् । त्यो योजना त्यत्तिकै तुहियो । जनकपुरमा पानीको संकट भने गहिरिँदै गइरहेको छ । ह्यान्डपम्पबाट पानी आउन १ लाखभन्दा बढी खर्चेर ४०० फिटभन्दा मुनिसम्म पाइप धसाउनुपर्छ ।

बढ्दो जनसंख्याका लागि भूजलको विवेकहीन उत्खननले गर्दा महत्त्वपूर्ण भौतिक संरचनाहरूमा भूमि धस्ने (ग्राउन्ड सब्साइडन्स) जोखिम बढ्दै गइरहेको छ । जनकपुरमा धसिएको घरलाई माथि उठाएर सबलीकरण गर्ने व्यवसाय फस्टाउन थालेको केही वर्ष भयो । उहिलेउहिले वर्षातभरि इनार, पोखरी एवं आहालमा जमेको पानी सुस्तरी रसाएर भूजलको प्राकृतिक पुनर्भरण हुन्थ्यो । इनार र आहाल त लोप नै भइसकेका छन् । जलाध र दूधमती नदीमा आउने बाढीको पानीलाई मुख्य पोखरीसम्म पुर्‍याइने कुलाहरू पुरी सकिएका छन् । जलवायु परिवर्तन आधारभूत रूपमा भन्नुपर्दा जल र वायुको शुद्धता एवं पर्याप्ततामार्फत जीवन सहज बनाउनु न हो । त्यस्तो जिम्मेवारीप्रति स्थानीय सरकारका हर्ताकर्ताहरूसमेत सचेत देखिँदैनन् ।

सीमापारिबाट बगेर आउने वायु प्रदूषणलाई दशगजामा पर्खाल ठड्याएर छेक्न सकिँदैन । निरर्थक स्वागतद्वारहरूमा गरिने करोडौंको लगानी वृक्षरोपणतिर मोड्न सकियो भने भुइँतहमा सास लिनसम्मको हावा सुनिश्चित गर्न सकिन्छ । ढलान गरिएका गाउँका गल्लीहरूबाट धूलो र हिलो हराएको छ; हिँड्न केही सहज भएको छ । अर्को चुनौती सतहबाट सोझै बगेर जाने पानीलाई कृत्रिम सिमसारमा छेक्नु हो । पोखरीहरूको जीर्णोद्धारले राजनीतिकर्मीको भोट नबढ्ला, तर त्यो नगरी नहुने काम हो भन्ने कुरा ‘राष्ट्रिय मिडियाहरू’ ले बारम्बार उठाइराख्नुपर्ने हुन्छ । भूजलस्तर बढाउनका लागि पुनर्भरण प्रविधिहरू विकसित गरिएका छन् ।

तिनको व्यापक प्रचार–प्रसार एवं उपयोगका लागि संघीय सरकारका संयन्त्रहरूले अग्रसरता लिन सक्छन् । जलवायु परिवर्तन तीव्र हुँदै जाँदा सुक्खा र बाढीको प्रकोप सँगसँगै बढ्न सक्छ । जुनसुकै प्रकोपसँग जुध्न सरकारभन्दा समाज र समुदायको भूमिका पहिलो हुन आउँछ । राजनीतिक दलहरू सामाजिक ऐक्यबद्धता बढाउने गतिविधि सञ्चालनमा साह्रै सुस्त देखिन्छन् । भलै मेयर हर्क साम्पाङ प्रदर्शनप्रिय, आत्ममुग्ध एवं चर्चापिपासु होलान्, तर उनले श्रमदानको संस्कारलाई पुनर्जीवन दिएर ऐक्यबद्धता निर्माणलाई गति दिएका छन् । राज्य त बन्छन् र भत्किन्छन् ।

सामाजिक ऐक्यबद्धताबेगर आउने दिनका अनपेक्षित चुनौतीहरूको सामना गर्ने क्षमता विकसित हुन सक्नेछैन । छिट्टै फर्किने गरी संसारीमाईलाई मनमनै सम्झिँदा फेरि कवि दुष्यन्त कुमार धर्मको व्याख्या गर्न आइपुगे— ‘तेजी से एकदर्द / मन में जागा / मैंने पी लिया / छोटी सी एक खुशी / अधरों में आई / मैंने उसको फैला दिया / मुझको सन्तोष हुआ / और लगा / हर छोटे को / बडा करना धर्म है ।’

प्रकाशित : जेष्ठ ३१, २०८० ०८:२९

आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझायो

आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको पुनःसंरचना जोड दिँदै सरकारलाई प्रतिवेदन बुझाएको छ।

आज  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानून तथा नियमनको प्रतिवेदन बुझाएको हो।

समितिले अन्य नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनःसंरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल, आमसञ्चार माध्यमको विकास, आमसञ्चार क्षेत्रमा बहुलता, विविधता र समावेशिताको प्रवद्र्धन, श्रम समस्याको समाधान, सामाजिक सुरक्षा एवं सूचनाको हक, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी विषयमा पनि सुझावहरु प्रश्तुत गरेको छ।

समितिले यसअघि पनि दुई चरणमा अन्तरिम प्रतिवेदन प्रश्तुत गरेको थियो। आज (बुधवार) भने सम्बन्धीत मन्त्रीसहित मन्त्रालयका अधिकारी, सरोकारवाला संघसंस्था तथा निकाय र विज्ञहरुसँग अन्तरक्रिया गरी कार्यादेश बमोजिम अन्तरिम प्रतिवेदनलाई समेटेर अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो। समितिको प्रतिवेदनमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि गर्नुपर्ने सुधार र सोको पुस्ट्याँइ, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदा, राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकको मस्यौदा र नेपाल आमसञ्चार प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकको मस्यौदा गरी चार वटा कानूनका मस्यौदा संलग्न छन्।

प्रतिवेदन ग्रहणपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी कानून नर्मिाण नहुँदा समस्या भइरहेकाले आफूले पहिलो प्राथमिकतामा राखेर कानून निर्माणका लागि प्रक्रिया अघि बढाएको बताइन । उनले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर सो अनुसार कानून निर्माणको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाइन।

सरकारले २०७९ फागुन २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा.सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको थियो। जसमा संयोजक आचार्यसहित विपुल पोखरेल, डा. महेन्द्र बिष्ट, गोविन्द आचार्य, बबिता बस्नेत रहेका छन।