सूचना सदाचार र सूचनाको हक

सूचना सदाचार र सूचनाको हक


परिचय

सूचना प्रविधिको विस्तार र प्रयोग सर्वव्यापी हुँदै जाँदा सूचनाको आयतन र कारोवारमा व्यापक बृद्धि भएको छ । सूचनाको स्वामित्व शक्तिको स्रोतका रुपमा लिइन्छ, र लोकतान्त्रिक प्रणालीमा त्यो शक्ति बाँडफाँड गर्ने क्षमता हुन्छ । सूचना स्वतन्त्रताको अनुभूति तब हन्छ जब नागरिकहरूले खुला रूपमा त्यसको आदान प्रदान गर्न सक्छन् । लोकतन्त्र, नागरिकको सक्रिय सहभागितामा निर्भर रहन्छ र सहभागित त्यस प्रणालीप्रति विश्वास र सार्वजनिक हितसँग जोडिएको हुन्छ । यसले नागरिक र राज्यबीचको सामाजिक सम्झौता सम्बन्धलाई दर्शाउँछ भने यसको कसी सही जानकारी र सूचनाको प्रवाहमा निर्भर हुन्छ ।[1]

त्यसैले सूचना सदाचार (Information Integrity)[2] स्वस्थ लोकतन्त्रको महत्वपूर्ण कसीको रुपमा लिइन्छ । पछिल्लो अवस्थामा वस्तुनिष्ठ, तथ्यपरक एवं विश्वसनीय सूचना भन्दा मिथ्या सूचनाको प्रवाह बढ्दै गएकोसन्दर्भमा सरकार र सार्वजनिक महत्वका सूचनाबारे जानकारी दिन सरकारी निकायको जिम्मेवारी र जवाफदेही पक्ष महत्वपूर्ण छ ।

त्यसैले सूचना माथि भरपर्नसक्ने अवस्था वा विश्वसनीयताको अवस्था जसमा सूचनाको विषयवस्तु, प्रक्रिया  र प्रणालीको शुद्धता, स्थिरता  र विश्वसनीयता पक्ष महत्वपूर्ण बन्दै गएका छन् । नेपालको सविधानले सूचनाको हकको प्रत्याभूत र कार्यान्वयन र यसको प्रचलन फराकिलो हुँदै गएको सन्दर्भमा सूचना सदाचारको विषय उत्तिकै महत्वपूर्ण बनेको छ । एकातर्फ नागरिकले सूचना मागे वा नमागे पनि  सार्वजनिक निकायले आफ्ना गतिविधि अध्यावधिक रुपमा स्वत: प्रकाशन गर्नुपर्ने सूचनाको हक सम्बन्धी कानुनले निर्दिष्ट गरेको प्रावधान सन्तोषजनक रुपमा कार्यान्वय भएको पाइदैन । अर्कोतर्फ नागरिकले आफ्नो चासोको विषयमा माग गरेका सूचना कतिपय अवस्थामा सहज ढंगले प्राप्त गर्न सकेका छैनन् । प्राप्त गरेकै सूचनामा भर पर्न नसकिने अवस्था पनि उत्तिकै छ । यसबाट सूचनाको प्रदुषण बढ्नसक्ने, मिथ्या सूचनाको प्रभाव बढ्नेसक्ने जोखिम छ । प्रस्तुत आलेखमा सूचना सदाचारका विभिन्न आयामको चर्चा गर्दै सूचनाको हकको अभ्यास सूचना सदाचारका लागि उपयोगी साधन बन्नसक्ने कुरा मामिला अध्ययन (case study) विधि अपनाएर विश्लेषण गरिएको छ ।

किन सूचना सदाचार ?

सूचना सदाचार भनेको सूचनामा भरपर्नसक्ने अवस्था वा विश्वसनीयता हो । यसले सूचनाको विषयवस्तु, प्रक्रिया  र प्रणालीको शुद्धता, स्थिरता र विश्वसनीयता जनाउँछ । यो त्यस्तो विषय हो जससँग व्यवसाय, सरकार र समाजका हरेक संस्थाको सरोकार रहन्छ । यसले तथ्याङ्क, सूचना प्रणाली, र ग्राहकहरू र तिनीहरूद्वारा प्रभावित संस्थाहरूको आयाम र विशेषताहरू समावेश गर्दछ । सूचना प्रविधिको प्रभाव व्यक्ति र संस्थाहरुको जीवनको लगभग हरेक पक्षमा रहेको हुनाले नयाँ प्रविधि र तिनले प्रशोधन गर्ने तथ्याङ्क र सूचनाहरुको नियन्त्रणको लागि उच्च चिन्ता छन् ।

 

त्यसैले सूचनाको स्वस्थ पारिस्थितिक प्रणाली (healthy information ecosystem) कायम राख्न सूचना सामग्री, प्रक्रिया र प्रणालीको शुद्धता, स्थिरता र विश्वसनीयताद्वारा सूचना सदाचार निर्धारण गरिन्छ । सूचना सदाचारका लागि समसामयिक विषयवस्तु, सरकारी कार्यहरु, राजनीतिक खेलाडी र उनीहरुका धारणा एवं निर्णय प्रक्रियामा भरपर्दो, सन्तुलित र पूर्ण सूचनामा सार्वजनिक पहुँच आवश्यक पर्दछ ।[3] पहुँच र प्रवाहको विषयलाई सूचनाको हक सम्बन्धी अवधारणाले पनि उत्तिकै वकालत गर्दछ ।

तर, संगठनात्मक सूचना प्रणालीमार्फत प्रवाह हुने सूचना र तथ्याङ्क (Data)को विशाल आकारका कारण अनेकखाले जटिलतामा निरन्तर वृद्धि भएको छ । यो बढ्दो क्रमसँगैमिथ्या, विसंगती र समग्र रुपमा विश्वसनीयताको अभावबाट भएका त्रुटिबाट यस्ता सूचना र तथ्याङ्क  प्रभावित छन् । विसंगत वा मिथ्या सूचनाले कुनै पनि व्यवसायलाई भयानक अवस्थामा पुर्याइदिनसक्छ । व्यवसाय, बजार र समाजलाई असर त गर्छ नै, सँगसँगै धनजनको पनि क्षति पुर्याउनसक्छ । । सूचनाको विफलतालाई अहिलेसम्म एक व्यापक, विश्वव्यापी समस्याको रूपमा मानिएको छ, यद्यपि यसले अर्थतन्त्रमा अर्बौ मूल्यको भार पार्दछ ।[4]

स्वास्थ्यसेवा प्रवाह गर्ने संस्था, राज्यको सुरक्षा प्रणाली, यातायत/पारवाहन उद्योग र वित्तीय क्षेत्रमा सूचना सदाचारको निकै महत्व रहन्छ । त्रुटिपूर्ण सूचनाले यी क्षेत्रमा ठूलो संकट आउनसक्छ । वित्तीय संस्थाहरु (बैंक, बिमा, स्टक मार्केट लगायतका लगानी फर्महरु) को कारोवार सफल हुने वा नहुने कुरा सूचना प्रवाह, ठूलो आकारको तथ्याङ्क र उच्च सूचना सदाचारमा निर्भर रहेको हुन्छ । यस्ता संस्थाहरुको तथ्याङ्क संकलन, भण्डारण, तथ्याङ्को प्रयोगमा हेरफेर (manipulation) वा रिपोर्टिङमा त्रुटि भएमा ग्राहक वा सरोकारवालालाई ठूलो क्षती पुर्याउन सक्छ वा अविश्वास पैदा गराउँछ । उदाहरणका लागि नेपालमा कोभिड महामारीको समयमा सरकारी स्वास्थ्य केन्द्रहरुको कमजोर व्यवस्थापन, पूर्वाधार विकास र कोरोना बिमा योजनामा अर्बौ रुपैयाँ गुमाउनु परेको थियो । अस्पतालमा स्वास्थ्यकर्मी कै लागि सुरक्षा पोशाक (पीपीइ), शय्या र अक्सिजनको जोहो गर्न नै धौ धौ परेको थियो भने हचुवा बिमा नीतिका कारण भुक्तानी नपाएर धेरै व्यक्तिले दु:ख पाए । कोभिड सङ्क्रमणको प्रारम्भिक समय (बि.सं. २०७७ को सुरु)मा कोरोना बिमा सुरु गरियो । छ सय रुपियाँको प्रिमियममा कोरोना सङ्क्रमित भएको पुष्टि भएमा एक लाख रुपैयाँ पाउने शर्त भएकोले झन्डै १५ लाख व्यक्तिले बिमा गराएका थिए । सुरु सुरुका कोभिड सङ्क्रमितले बिमा भुक्तानी पाएपनि सङ्क्रमितको संख्या बढ्दै जाँदा बिमा कम्पनीहरुले बिमा भुक्तानी गर्न आनाकानी गरे । कोभिड संक्रमितको उपचार राज्यले गराउने योजना अन्तर्गत धमाधम बिमा गराइएको थियो, तर कोभिड सङ्क्रमितको चाप बढ्दैजाँदा बिमा कम्पनी पन्छिए भने बिमाका शर्तहरु कडा बनाइए । सरकारले दिने भनेको रकम नदिएको भन्दै भुक्तानी दिएनन् भने नयाँ बिमा गरेनन् । बिमा समितिका अनुसार बिमा रकम भुक्तानीका लागि झन्डै रु. ११ अर्बको माग भएको थियो । एकातर्फ कोभिड महामारीको जोखिम आँकलनमा सरकारले हेलचक्र्याँइ गर्यो र सतहमा देखिएका सूचना विश्लेषण नगरी ल्याइएको बिमा योजनामा सरकार र बिमा कम्पनीहरु सफल रहन र विश्वसनीयता आर्जन गर्न चुके ।

पछिल्लो परिस्थितिमा मिथ्या सूचनाले गलत, भ्रामक र हेरफेर गरिएको अनलाइन र अफलाइन माध्यमबाट जानाजानी वा नजानेर सिर्जना, उत्पादन र प्रसारित सामग्रीले सामाजिक वा शारीरिक हानि पुऱ्याउने सम्भावना बढ्दै गएको पाइन्छ । इकोसिस्टम भित्र जानकारीको अत्यधिक मात्रा र कम गुणस्तरको जानकारीको उच्च घटनाले जानकारी खोज्ने र विश्वास गर्ने हाम्रो क्षमतालाई कम गर्छ । सूचना प्रदूषणलाई विकृत सूचना (Mal-information), गलत सूचना (Misinformation) वा खराब सूचना (Disinformation)को रूपमा वर्गीकृत गर्न सकिन्छ ।[5] तर यसलाई (Information Disorder) भनेर छाता शब्द प्रयोग गरेको पाइन्छ ।[6]

यूएनडिपी ओस्लो गर्भनेन्स् सेन्टर ले सन् २०२० मा आठवटा देशहरु क्याबोडिया, चिली, लेबनन, पानामा, सावमा, सिरिया लियोन, यूक्रेन र भेनेजुएला गरिएको एक अध्ययन अनुसार विभिन्न सन्दर्भमा सूचना प्रदूषण गर्ने तीनवटा सशक्तिकरण गर्ने पक्ष (enabler) रहेको देखाएका छन् । अध्ययनका अनुसार राजनीतिरुपमा ध्रुवीकरण, प्रभावशाली डायस्पोरा र सूचना आपूर्तिमा अन्तर रहेको ठम्याइ छ । यस्ता सशक्तिकरण गर्ने पक्षले विद्यमान सर्तहरुको प्रतिनिधित्व गर्दै सूचना प्रदूषणकर्ताहरुले भ्रामक वा मिथ्या सामग्री फैलाउने कार्य गर्ने गरेको पाएको छ ।[7]

यो अवस्थामा सूचना सदाचारको कायम गर्न कठिन भएपनि सूचना प्राप्त गर्न र प्रदुषित सूचनाबाट उत्पन्न हुने नकारात्मक प्रभावबाट बच्नका लागि सूचनाको हक सहयोगी साधन बन्न सक्दछ ।

पूर्ण विवरणका लागि लिंक प्रयोग गर्नुहोस् :  https://bit.ly/3qTdbZF

 

 

[1] NDI, 2018

[2] Information Integrity को एउटै शाब्दिक रुपान्तरण नभएपनि नेपालीमा ‘सूचना सदाचार’ को रुपमा लिइएको छ । यसलाई सूचनाको प्रामाणिकता, सत्यनिष्ठता वा अविभाज्यता भन्ने अर्थमा बुझ्न सकिन्छ ।

[3] UNDP, 2022, p.5

[4] Geisler, Prabhaker & Nayar, 2003

[5] UNDP, 2022, p. 4

[6] W. Claire & Hossein Derakhshan. 2017

[7] UNDP, 2020