Highlights
- अब मिडिया हाउसले द्वन्द्वग्रस्त ठाउँमा पठाउँदा पत्रकारलाई सुरक्षाका उपकरणसहित पठाउने र स्थिति खतरनाक भएको संकेत पाएमा फिर्ता हुन निर्देशन पनि दिनुपर्छ ।
सञ्चारमाध्यममा ‘स्कुप’ मार्ने वा ‘एक्सक्लुसिभ’ गर्ने नाममा हामी सुरक्षाका उपकरणबिनै दौडिरहेका छौं । आन्दोलन र झडप हुँदा फिल्डमै खटिएर जनतालाई ताजा समाचार देखाउने, लाइभ रिपोर्टिङ गर्ने साथीहरू अझ धेरै जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका छन् । किनभने, सबै सञ्चारमाध्यमलाई अहिले पहिला समाचार चाहिएको छ ।
समाचारभन्दा पहिला सुरक्षा भन्ने विषय प्राथमिकतामा पर्नै छाडेको छ । पत्रकारको सुरक्षाको जिम्मा न राज्यले लिन्छ, न त सम्बद्ध संघसंस्थाले नै ।
केही समय अगाडिसम्म प्रेस लेखिएको ज्याकेट लगाएपछि ‘पत्रकार’ भनेर आन्दोलनरत पक्ष वा राज्य पक्षले केही गर्दैनथे तर अब समय फेरिएको छ । अहिले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै आक्रोशपूर्ण तरिकाले पत्रकार तथा मिडिया हाउसमाथि जाइलाग्ने र आक्रमण गर्ने काम सुरु गरिएको छ । जसको पछिल्लो उदाहरण राजावादी आन्दोलनका क्रममा चैत १५ मा विभिन्न सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीलाई लिन सकिन्छ ।
अब बदलिँदो परिस्थितिअनुसार हामी कसरी अगाडि बढ्ने त ? के पहेँलो ज्याकेटमा ‘प्रेस’ लेखेर मात्रै हाम्रो सुरक्षा हुन्छ त ? चैत १५ कै घटनामा धेरै पत्रकार नै पीडित बन्नुपर्यो । समाचार संकलन गर्न गएको पत्रकार स्वयं समाचार बन्नुपर्यो । ज्यान गुमाउनुपर्यो । कतिपय पत्रकार घाइते भए ।
त्यसो त पत्रकारका हकहितका लागि भनेर खोलिएका संघ–संगठनले भाषणमा जति नै पेसागत सुरक्षाको कुरा गरे पनि यथार्थमा पत्रकार सुरक्षाको अवस्था दयनीय छ । भाषण गर्नु र कार्यान्वयन गर्नु–गराउनु फरक कुरा हुन् । पेसागत सुरक्षा भन्नाले पत्रकारले काम गर्दा उसको स्वतन्त्रता, सुरक्षा र अधिकारको संरक्षण भन्ने बुझिन्छ । यसले पत्रकारलाई कुनै दबाब, धम्की र हिंसाबाट बचाउने प्रयास गर्छ । तर के यथार्थमा हामीले त्यही पाएका छौं त ?
अब मिडिया हाउसले द्वन्द्वग्रस्त ठाउँमा पठाउँदा पत्रकारलाई सुरक्षाका उपकरणसहित पठाउने र स्थिति खतरनाक भएको संकेत पाएमा फिर्ता हुन निर्देशन पनि दिनुपर्छ ।
द्वन्द्वग्रस्त ठाउँमा पत्रकारको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अभ्यास र उपाय अपनाइन्छ । त्यस्ता ठाउँमा रिपोर्टिङमा खटिने पत्रकारका लागि सुरक्षा तालिम र उपकरण दिइन्छ । त्यस्ता ठाउँमा जान बुलेटप्रुफ ज्याकेट, हेल्मेट आदि प्रयोग गरिन्छ । त्यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारको बिमा र आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराइन्छ, यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको संरक्षणमा मद्दत पुर्याएको हुन्छ । यसका अतिरिक्त, अनलाइन सुरक्षा र डिजिटल उपकरणको सुरक्षित प्रयोग सुनिश्चित गर्नुपर्छ । तर हामी बिनातयारी, बिनासुरक्षा द्वन्द्वग्रस्त ठाउँको रिपोर्टिङमा होमिरहेका छौं ।
मिडिया हाउसले पत्रकारलाई लगातार सम्पर्कमा राख्नका लागि सशक्त सञ्चार प्रणाली सुनिश्चित गर्नुपर्छ । यसमा आपत्कालीन सम्पर्क नम्बर, सुरक्षित सञ्चार मार्ग र परिस्थितिमा पत्रकारको अवस्थाबारे जानकारी राख्ने योजना समावेश रहनुपर्छ ।
पत्रकारलाई कानुनी सुरक्षा र आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्नु जरुरी छ । यसका लागि मिडिया हाउसले स्वास्थ्य बिमा, कानुनी समर्थन र आवश्यक परेमा निकासी योजनाको व्यवस्था पनि गर्नुपर्छ । द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्दा पत्रकारको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्न सक्छ । मिडिया हाउसले मानसिक स्वास्थ्य समर्थन, परामर्श सेवा र लचिलो कार्य समय सुनिश्चित गर्नुपर्छ ।
यसरी मिडिया हाउसले द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारलाई खटाउँदा सुरक्षा, स्वास्थ्य, कानुनी र मानसिक तयारी सुनिश्चित गर्दै उनीहरूको कामको प्रभावकारिता र सुरक्षा सुनिश्चित गर्नु जरुरी छ ।
प्रकाशित : वैशाख १०, २०८२ ०८:३२