टिकटक प्रतिबन्धविरुद्ध परेका मुद्दामा नेपाल सरकारलाई कारण देखाऊ आदेश

टिकटक प्रतिबन्धविरुद्ध परेका मुद्दामा नेपाल सरकारलाई कारण देखाऊ आदेश


सर्वोच्च अदालतले नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा कारण देखाउन सरकारलाई आदेश दिएको छ।

सरकारले कार्तिक २७ गते गरेको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए। तिनलाई एकैठाउँ राखेर उक्त मुद्दामा मङ्गलवार सुनुवाइ थालिएको हो।

न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। “इजलासले सरकारलाई १५ दिनभित्र कारण सहितको जवाफ पेस गर्न आदेश दिएको छ। मो मुद्दाको अर्को सुनुवाई मङ्सिर १९ गते तोकिएको छ,” घिमिरेले भने।

अदालतले यो रिटमा कानुन व्यवसायीहरूको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

“सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको” भन्दै मन्त्रिपरिषद्ले नेपाली इन्टरनेटमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय हुँदा नेपालमा तिहारको बिदा चलिरहेको थियो।

बिदा सकिएलगत्तै सर्वोच्च अदालतमा टिकटकमाथि लागेको प्रतिबन्धविरुद्ध विभिन्न मुद्दा दर्ता भएका थिए।

नेपालमा टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी निवेदकहरूको छ।

उनीहरूले नेपालमा टिकटक बन्द गर्न मिल्ने कानुनी आधार नरहेको बताएका छन्।

नेपालमा निकै लोकप्रिय रहेको उक्त भिडिओ शेअरिङ एपमाथिको प्रतिबन्धविरुद्ध एउटा समूहले सोमवार माइतीघरमा प्रदर्शन पनि गरेको थियो।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीको आपत्ति

नेपालमा टिकटक बन्द भएपछि टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटड्यान्सले नेपालको नियामक दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्ल्याटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको थियो।

बाइटड्यान्सले सातबुँदे पत्रमा नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे स्मरण गराउँदै प्रतिबन्धका कारण नेपाली युवाहरूलाई आर्थिक हानि हुने जनाएको थियो।

प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको पनि उल्लेख गरेको थियो।

टिकटक नेपालमा कति लोकप्रिय

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई उत्तर फर्काउँदै नेपाल सरकारको निर्णय पालना गर्न तथा उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको थियो।

टिकटकका अनुसार गत अगस्ट २९ मा यो सेवा नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता भएको छ।

बीबीसी मिडिया एक्शनले प्रकाशित गरेको एउटा प्रतिवेदनका अनुसार नेपालमा यूट्यूब र फेसबुकपछि सर्वाधिक हेरिने सामाजिक सञ्जालमा टिकटक पर्थ्यो।

यूट्यूब र फेसबुक सबै उमेर समूहका नेपाली प्रयोगकर्ताहरूमा लोकप्रिय छन् भने टिकटक युवा पुस्ताले निकै रुचाएको थियो। सोह्रदेखि २४ वर्षसम्मका सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ८० प्रतिशत टिकटकमा थिए।

केही टिकटक प्रयोगकर्ताले टिकटकलाई आयआर्जनको माध्यम पनि बनाएका थिए।