लैङ्गिक उत्तरदायी मिडिया नीति विश्लेषण

लैङ्गिक उत्तरदायी मिडिया नीति विश्लेषण


पृष्ठभूमि
विश्वव्यापी मानव अधिकारका रूपमा लैङ्गिक समानता र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अधिकारहरू राज्यले पालना गर्नुपर्ने दायित्वका रूपमा स्थापित मान्यता हुन् तर
तिनीहरूको कार्यान्वयन पक्षमा अझै पनि धेरै सुधार हुन सकेको छैन । महिला अधिकारका सम्बन्धमा सन् १९९५ मा चौथो बिश्व महिला सम्मेलनद्वारा पारित ‘बेइजिङ प्लेटफर्म फर एक्सन’ ले अभिव्यक्ति र निर्णय प्रक्रियामा महिलाको सहभागिता र मिडियामार्फत पहुँच बढाउने र महिलाको असन्तुलित र परम्परागत छविको चित्रणलाई बढावा नदिने विषयलाई रणनीतिक उद्देश्यका रूपमा जारी गरेको थियो । नेपालको सन्दर्भमा असमानतालाई सम्बोधन गर्न पहल र वकालतहरू भए पनि लैङ्गिक समानताका लागि भएका सम्झौताहरूबारे नीतिगत सम्बोधन हुन नसक्दा धेरै प्रभाव पर्न सकेको देखिँदैन । विशेषगरी महिलाबारे छलफल गर्दा मिडियामा महिलाको प्रतिनिधित्व, उनीहरूको आर्थिक पक्षमा सुधार, लिङ्गका आधारमा हुने हिंसा र सुरक्षाका विषय महङ्खवपूर्णरूपमा वकालत गरको पाइन्छ । लैङ्गिक उत्तरदायी नीतिको
कुरा गर्दा लैङ्गिक उत्तरदायित्वका बारेमा बुझ्नु, जानकारी राख्नु र आत्मसात गर्नुपर्ने हुन्छ । लैङ्गिक उत्तरदायीको अर्थ लैङ्गिक समानतामा आधारित
उत्तरदायित्व या जिम्मेवारीपन हो । लैंङ्गिकमैत्री, लैङ्गिक संवेदनशील जस्ता शब्दलाई यसले समर्थन गर्छ । तर यसको अर्थ थप गहन र जिम्मेवार हुन्छ ।
‘लैङ्गिक उत्तरदायी’ शब्द नीति, कानुन, विषयवस्तु, सहभागिता, नेतृत्व तथा कार्यक्रमहरूमा प्रयोग गर्ने गरिएको छ । लैङ्गिक उत्तरदायी मिडियाको अर्थ लैङ्गिकरूपले जिम्मेवार मिडिया हो । लैङ्गिकरूपले जिम्मेवार हुनु भनेको महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति जिम्मेवार हुनु हो । नेपाल मात्र नभई विश्वकै सन्दर्भमा लैङ्गिकताको चर्चा र विश्लेषण गर्दा महिलाप्रति संवेदनशील र उत्तरदायी विषयवस्तुहरू अगाडि आउने गरेका छन् । किनभने महिलाको अवस्था पुरुषको भन्दा कमजोर छ ।
यसलाई विभिन्न नीति तथा कार्यक्रमहरूमार्फत माथि उकास्नु पर्नेछ । महिलाको मुद्दालाई सर्वसाधारणदेखि नीति निर्माण तहसम्म समानरूपले बुझाउन तथा नीतिकानुनहरूमार्फत सहभागिता बढाइ समानता कायम गर्न मिडियाको भूमिका महङ्खवपूर्ण हुन्छ । समग्र महिलाको सम्बन्धमा नीतिगत आवाज उठाउनुपर्ने मिडिया आफैँमा समावेशी र लैङ्गिक उत्तरदायी हुन आवश्यक हुन्छ । लैङ्गिक समानताका सरोकारहरूलाई सम्बोधन गर्न नेपालमा नीतिगत सुधार छलफल र वकालत भइरहेको
छ । नेपालले सङ्घीय राज्य प्रणाली अपनाएयता स्थानीय, प्रादेशिक र सङ्घीय तहका सरकारहरूले मिडियासम्बन्धी नीति निर्माण गर्दै आएका छन् । तर अहिलेसम्म कायम र बन्दै गरेका नीति, कानुनहरू लैङ्गिक उत्तरदायी छन् वा छैनन् भन्ने विषयको लैङ्गिक दृष्टिकोणबाट विश्लेषण अहिलेको आवश्यकता हो । यस नीतिपत्रमा लैङ्गिक उत्तरदायी मिडिया नीति तयार गर्दा कस्ता तत्वहरू मिडिया नीतिमा समावेश गरिएका छन्, नेपालको समाचार संस्था वा पत्रकारिता क्षेत्रमा कस्ता संयन्त्रबाट लैङ्गिकमैत्री विषयलाई सम्बोधन गर्ने भन्ने विषयमा चर्चा गरिएको छ ।

पूर्ण विवरणका लागि लिंक प्रयोग गर्नुहोस् : https://mediapolicy.org.np/document/genderresposivepolicy/