पत्रकार महासंघले भन्यो- रवि लामिछानेको धम्कीले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित भए

पत्रकार महासंघले भन्यो- रवि लामिछानेको धम्कीले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित भए


काठमाडौं : नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति निन्दा गरेको छ। महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रहसमेत गरेको छ।

नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै महासंघले चिन्ता प्रकट गरेको हो।

‘संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो। सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिकरूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघको भनाइ छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने बताउँदै महासंघले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको ठहर गरेको छ।