नेपालमा विज्ञापन एजेन्सीहरूमार्फत हुने विज्ञापनको वार्षिक बजार ६ अर्ब हाराहारी छ । मात्राका हिसाबले यो अंक त्यति ठूलो नभए पनि यो सिंगो अर्थतन्त्रको एक महत्वपूर्ण हिस्साका रूपमा रहँदै आएको छ । विज्ञापन क्षेत्रमा काम गर्नेहरूका लागि पर्याप्त अवसर पनि छन् ।
बैंकिङ क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि आकर्षक पारिश्रमिक लिनेहरू थुप्रै छन् । तर, त्यसका बाबजुद विज्ञापन बजारले आवश्यक दक्ष जनशक्ति नपाउँदा यस क्षेत्रको पेसागत व्यावसायिकता विकासमा समेत असर परिरहेको छ ।
सरकारले समेत यस क्षेत्रलाई केन्द्रित गरेर स्पष्ट कानुनी व्यवस्था गर्न सकेको छैन । जसका कारण मुलुकको सिंगो विज्ञापन क्षेत्रले अपेक्षित उचाइ हासिल गर्न सकेको देखिँदैन । यसै पृष्ठभूमिमा विज्ञापन व्यवसायमा विगत २८ वर्षदेखि क्रियाशील रहेका प्रिज्मा एडभरटाइजिङका सिइओ तथा नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यसमेत रहेका रञ्जित आचार्यले विज्ञापन क्षेत्रको विकास तथा नियमनका सन्दर्भमा यस्तो विचार व्यक्त गरे :
विज्ञापन बजारको स्थान
विज्ञापन सञ्चारकै एउटा माध्यम हो । तर, नीति–निर्माण तहमा विज्ञापनको विषयमा जति जागरुकता र जानकारी हुनुपर्ने हो, त्यो छैन । विज्ञापन क्षेत्र आफैँमा एउटा उद्योग हो । यसमा संलग्न विज्ञापनकर्मीहरू उद्यमी हुन् । जसले रोजगारी सिर्जना गरेका छन् ।
विज्ञापन एजेन्सीहरूमा मात्रै हे-यौँ भने वर्तमान समयमा कम्तीमा ६ हजारजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । त्यससँगै अप्रत्यक्ष रूपमा अन्य थुपै्रको संख्यामा जोडिएका छन् । फोटोग्राफर, फ्लेक्स प्रिन्टिङ, प्रिन्टिङ प्रेसलगायतका क्षेत्र विज्ञापनसँग सोझो रूपमा नै जोडिएका छन् । रोजगारी सिर्जना गर्ने, व्यापार व्यवसाय प्रवद्र्धन गर्ने, अर्थतन्त्रलाई टेवा पु-याउनेलगायतका महत्वपूर्ण भूमिकामा विज्ञापन क्षेत्र रहँदै आएको छ ।
विज्ञापन बजार विशुद्ध छुट्टै रूपमा हेर्दा यसको बजार ६ अर्ब रुपैयाँआसपासमा छ । आकारका हिसाबले यो क्षेत्र त्यति महत्वको विषय नदेखिन सक्छ । तर, विज्ञापन क्षेत्रलाई बुझ्ने सवालमा यसले अन्य क्षेत्रमा पु-याउने योगदानको कुनै ख्याल राखेको देखिँदैन । यसले थेगेको अन्य आर्थिक क्षेत्र निकै ठूलो छ । विज्ञापनले गर्दा नै विभिन्न सामग्रीको बिक्री–वितरण भइरहेको छ । सरकारले तिनै सामग्रीको बिक्रीका आधारमा कर उठाइरहेको छ । अटो क्षेत्र विज्ञापनकै कारण अहिलेको अवस्थामा पुगेको हो । विज्ञापनकै कारण अरू क्षेत्रबाट सरकारलाई ठूलो सहयोग पुगेको छ भने पक्कै पनि त्यसको जस यो क्षेत्रले पनि पाउनुपर्ने हुन्छ ।
यस सवालमा हाम्रा नीतिहरू अस्पष्ट छन् । कतिपय नीतिहरू बनेकै छैनन् । बनेका नीतिहरू पनि हतारमा बनाएकोजस्तो देखिन्छ । विज्ञापनलाई अर्थतन्त्रको आधार स्तम्भका रूपमा हेरेर त्यसका लागि सकारात्मक किसिमको नीति–निर्माण हुन सकेको छैन ।
आजको समयमा विज्ञापन क्षेत्रका लागि दक्ष कार्यशक्तिको सबैभन्दा ठूलो समस्या छ । यो क्षेत्रको पहिचान स्वीकार गर्न नसकेकै कारण दक्ष जनशक्ति आकर्षित हुन नसकेको हो । पहिचान दिने काम सरकारी तहबाटै सुरु हुनुपर्ने विषय हो । जो सरकारमा पुग्छन्, मन्त्री बन्छन्, उनीहरू सबै त्यही विज्ञापनकै सहारामा त्यहाँ पुगेका हुन्छन् । तर, नीति–निर्माणको तहमा पुगेपछि भने यसको महत्वलाई चटक्कै बिर्सिदिन्छन् । यसैले विज्ञापनलाई हेर्ने, बुझ्ने र कार्यान्वयनको तहमा विद्यमान सोचलाई परिवर्तन गर्न आवश्यक छ ।
विज्ञापन बजार विशुद्ध छुट्टै रूपमा हेर्दा यसको बजार ६ अर्ब रुपैयाँआसपासमा छ । आकारका हिसाबले यो क्षेत्र त्यति महत्वको विषय नदेखिन सक्छ । तर, विज्ञापन क्षेत्रलाई बुझ्ने सवालमा यसले अन्य क्षेत्रमा पु-याउने योगदानको कुनै ख्याल राखेको देखिँदैन । यसले थेगेको अन्य आर्थिक क्षेत्र निकै ठूलो छ । विज्ञापनले गर्दा नै विभिन्न सामग्रीको बिक्री–वितरण भइरहेको छ । सरकारले तिनै सामग्रीको बिक्रीका आधारमा कर उठाइरहेको छ । विज्ञापनकै कारण अन्य क्षेत्रबाट सरकारलाई ठूलो सहयोग पुगेको छ भने पक्कै पनि त्यसको जस यो क्षेत्रले पनि पाउनुपर्ने हुन्छ ।
प्रतिबन्धात्मक व्यवस्था होइन नियमन
हुन त अहिले सरकारले विज्ञापन क्षेत्रका लागि तयार पर्दै गरेको नीति–निर्माणका क्रममा विज्ञापन संघको समेत परामर्श लिँदै आएको छ । नीति–निर्माण गर्ने तहमा सहभागी हुनेहरूमा यस क्षेत्रप्रतिको बुझाइ महत्वपूर्ण विषय हो । आजको दिनमा विज्ञापनप्रतिको बुझाइ नियमनको दिशामा भन्दा पनि प्रतिबन्धात्मक सोच हाबी हुँदै गएको छ । अहिले थुप्रै क्षेत्रमा विज्ञापन नै गर्नुहुँदैन, यसलाई रोक्नुपर्छ भन्ने किसिमको आवाज सुनिँदै छ ।
विज्ञापन बन्द गरेर उद्योग बन्द गराउने किसिमको सोच हो भने त्यो गलत हुन्छ । आजको दिनमा मदिराजन्य उत्पादनहरूको विज्ञापन रोक्ने भन्ने कुरा आइरहेको छ । जहाँ–जहाँ मदिराजन्य उत्पादनको विज्ञापनमा रोक लगाइएको छ, त्यहाँ त्यसको खपत बढेको छ । जब कसैलाई कुनै कुरा गर्नुहुँदैन भनेर कडाइ गरिन्छ, तब त्यो व्यक्तिले त्यही गर्नका लागि लालायित भइरहेको हुन्छ ।
कहीँ न कहीँ जिज्ञासा जन्मिन्छ । त्यसैले यस्ता विज्ञापन रोक्नुभन्दा नियमन गर्नु उपयुक्त हुन्छ । यस्ता विज्ञापनका लागि निश्चित समय तोक्न सकिन्छ । तर, त्यसरी सोचेको देखिँदैन ।
देशमा बिमा गर्नेको अनुपात दक्षिण एसियामै न्यून छ । तर, यहाँ बिमाको विज्ञापन रोक्नुपर्छ भनिँदै छ ।
रोक्नुको पछाडि बिमाको विज्ञापनमा गरिने खर्चलाई अनावश्यक हो भन्ने सोचले काम गरेको छ । जब जनताले बिमाको विषयमा सुसूचित हुने मौका नै पाउँदैन, त्यस्तो अवस्थामा कसरी बिमा गर्छ ? यो विडम्बनापूर्ण अवस्था हो । यस्तो किसिमको अवस्था हामी जुन विषयमा पछाडि छाँै, तिनै क्षेत्रमा कायम छ । बैंकिङ क्षेत्रमा, शिक्षाको क्षेत्रमा त्यस्तै छ । यो विषयलाई नियमनकारी निकायहरूले बुझ्न जरुरी छ ।
विभिन्न क्षेत्रसँग सम्बन्धित यस्ता समस्या समाधान गर्नका लागि सरोकारवालासहितको उच्चस्तरीय समिति नै आवश्यक हुन्छ । यदि त्यसरी नजाने हो भने भोलिका दिनमा गम्भीर किसिमको समस्या निम्तिन सक्छ । जस्तो अहिले डाक्टरहरू हड्तालमा छन् । पीडितको भावनामा नियम बनाइए पनि त्यसको असर गम्भीर किसिमका बिरामीलाई डाक्टरले छुनै नमान्ने परिस्थिति बनेको छ ।
यसबाट पाठ सिक्दै विज्ञापन क्षेत्रका लागि नियम बनाउँदा बजार संकुचित नहुनेतर्फ सचेत हुनुपर्छ । नेपालमा उद्योग खोल्न चाहने, व्यापार गर्न चाहने, विदेशी लगानी ल्याउन खोज्नेहरूलाई हामीले प्रोत्साहित गर्न सक्नुपर्छ ।
क्लिनफिड नीतिको कार्यान्वयन
विज्ञापनको सन्दर्भमा राष्ट्रका लागि कस्तो नीति आवश्यक छ, त्यस आधारमा प्राथमिकता तय गर्न आवश्यक छ । हामीले लामो समयदेखि क्लिनफिडको माग गरिरहेका छौँ । पैसा तिरेर विदेशी च्यानल हेर्छौँ । तर, त्यससँगै विज्ञापन पनि हेर्न बाध्य पारिएको छ । जब कि हाम्रा छिमेकी मुलुकहरू बंगलादेश, श्रीलंकाले धेरैअघि नै क्लिनफिड नीति अपनाइसकेका छन् । हामीले नसक्ने भन्ने के छ ? यसले त हाम्रै सञ्चारमाध्यमको संरक्षण हुन्छ, यो व्यवसाय र उद्योग फस्टाउने अवस्था हुन्थ्यो ।
निर्माण भइसकेको नीति कार्यान्वयनको चरणमा आएर स्थगित गरिएको छ । यसमा समस्या बाहिर होइन, मुलुकभित्रैको हो । क्लिनफिड सञ्चारमाध्यमहरूमध्ये सोझो रूपमा टेलिभिजन च्यानलहरूसँग सम्बन्धित विषयजस्तो देखिए पनि यसबाट अन्य सबै प्रकारका सञ्चारमाध्यमलाई सहयोग पुग्न सक्छ ।
आजको दिनमा भारतको कुनै च्यानलमा आउने विज्ञापन जुन नेपालका कुनै पनि सञ्चारमाध्यममा नदेखाउँदा पनि त्यस वस्तुको बिक्री–वितरण नेपालमा भइरहेको छ । यदि यसलाई नियमन गर्ने हो भने त्यस्ता भारतीय वस्तुले नेपालमा आएर विज्ञापन गर्न बाध्य हुन्छ । नेपालमा विज्ञापन गर्दा टेलिभिजन मात्र होइन, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायतका माध्यम रोज्छ ।
अहिले डेढ सयदेखि २ सयसम्मको संख्यामा रहेका बहुराष्ट्रिय ब्रान्डहरूले भारतमा विज्ञापनका आधारमा नेपालमा बजार विस्तार गरिरहेका छन् । बाहिरैबाट विज्ञापन देखाएको भरमा यहाँ व्यापार गर्ने प्रचलनलाई निरुत्साहित गर्नुपर्ने हुन्छ ।
दक्ष जनशक्ति उत्पादन आवश्यक
मुलुकमा विज्ञापन क्षेत्रका लागि आवश्यक पेसागत तथा दक्ष जनशक्ति तयार हुने किसिमको पढाइ नै छैन । जसले अस्वस्थ प्रतिस्पर्धालाई टेवा पुगेको छ । जसका कारण यो क्षेत्रमा दक्ष जनशक्ति आउन नसक्ने परिस्थिति बनेको छ । देशभै जनशक्ति उपलब्ध नभएपछि भारतबाट ल्याउनुपर्ने बाध्यता बनिरहेको छ ।
पत्रकारिता पढ्नेहरूले विज्ञापन विषय पढे पनि त्यसैका भरमा विज्ञापन क्षेत्रमा आउनेहरूको संख्या शून्यप्रायः छ । त्यसकारण यो क्षेत्रमा दक्ष जनशक्ति तयार हुने गरी सरकारले नै शैक्षिक पाठ्यक्रमसहितको अध्यापन व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।
सामाजिक सञ्जालको विज्ञापन
हुन त संसदीय समितिले केही दिनअघि सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ । तर, विज्ञापन नेपालबाहिरै आर्थिक कारोबार भइरहेको छ, हुन्डीबाट डलर विदेश गइरहेको छ । अहिले प्रतिदिन १ लाख अमेरिकी डलरबराबरको रकम सामाजिक सञ्जालमा विज्ञापन गर्न नेपालबाट गइरहेको छ ।
यस्तो अवस्थामा सामाजिक सञ्जालमा हुने विज्ञापनमा कसरी कर लगाउने भन्ने प्रश्न गम्भीर छ । यसको समाधान भनेको नेपालमै ती सामाजिक सञ्जालका कार्यालय खोल्न लगाउनु हो । त्यसो भयो भने मात्रै यहाँबाट जसले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेका छन्, उनीहरूले पनि कानुनी तवरमा नै त्यस्तो कारोबार गर्न थाल्छन् । अहिले त त्यस्तो विज्ञापनको कानुनी आधार नै छैन । जसका कारणले त्यस्तो कारोबार लुकाउनुपर्ने बाध्यता छ ।
आचार्य नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हुन् ।